केशवप्रसाद भट्टराई ।
कठोर कम्युनिस्ट शासकको परिचय बनाएका जोसेफ स्टालिनका कट्टर अनुयायी लियोदेद ब्रेजनेभको १८ वर्ष सम्मको कठोर तर गतिहीन शासनका कारण आन्तरिक राजनीतिक असन्तुष्टि र आर्थिक जर्जरताले थिलथिलो बनेको सोभियत सङ्घमा ब्रेजनेभको निधनपछि राजनीतिक अस्थिरताको युग शुरु भयो । ब्रेजनेभको उत्तराधिकारी र पूर्ब केजिबी प्रमुख युरी आन्द्रोपोभ दुई वर्ष सत्तामा रहे । सोभियत व्यवस्थाले ठूलो सुधारको माग गरेको ज्ञान उनलाई थियो तर दशकौँ देखिको जड व्यवस्थालाई एकैचोटी सुधारको मार्गमा लैजान सजिलो थिएन । यसको लागि लामो प्रक्रिया आवश्यक हुन्थ्यो । उमेर र रोगले उनलाई त्यो समय नदिने उनले बुझेका थिए ।
त्यसैले आफूले सुधारका प्रक्रिया आरम्भ गर्ने र आफू पछि सो प्रक्रियालाई निरन्तरता दिने योग्य पात्रको रूपमा उनले मिखाइल गोर्वाचोभलाई अघि बढाए । तर गोर्बाचोभलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, रणनीतिक मामिला र कूटनीतिक चातुर्यता जस्ता विषयमा आवस्श्यक ज्ञान र अनुभव आर्जन गराउन न पाउँदै उनको निधन भयो । त्यसपछि कोन्सट्यान्टिन चेर्नेन्को नेतृत्वमा आए । उनी पनि कट्टरपन्थी थिए । एक वर्षमै उनको मृत्यु भयो ।
चेर्नेन्कोको निधन पछि कट्टरपन्थी गेन्नाडी येनायेभ र उदारवादी मिखाइल गोर्बाचोभ वीचको सत्तासंघर्षमा गोर्बाचोभ विजयी भए । उनले सोभियत कम्युनिस्ट व्यवस्थाको पुनर्संरचना र खुलापन (पेरेस्त्रोइका र ग्लासनोस्त )का नीतिहरू घोषणा गरे । चीनमा देङ्ग सियाओ पेङ्ले अवलम्बन गरेको आर्थिक उदारीकरणका उपलव्धिहरू देखेका गोर्बाचोभले देङ्ले जस्तै अमेरिका र युरोपका मुलुकहरूसँग सम्बन्ध सुधारका प्रयास गरे । अमेरिकासँग निर्णायक महत्वका आणविक निशस्त्रीकरण सन्धिहरूगरे । पूर्वी सोभियत सङ्घ र पूर्व जर्मनीका प्रजातान्रिक आन्दोलनहरूलाई दमन नगर्ने नीति अवलम्वन गरे ।
पूर्व र पश्चिम वीच हार्दिकता बढाएर शीत युद्धको समाप्तिको नेतृत्व लिए । यसले स्वाभाविकरुपमा कट्टर पन्थीहरूलाई क्रुद्ध बनायो । कट्टरपन्थीहरूको विरोध बढ्दै गयो । कट्टर पन्थीहरूको दवाव बढ्दै गए पछि गेन्नाडी येनायेभलाई उपराष्ट्रपति बनाइयो । अगस्ट १९, १९९१मा गोर्बाचोभ क्रिमियामा बिदा मनाइरहेको बेलामा उप राष्ट्रपति गेन्नाडी येनायेभको नेतृत्वमा सेना प्रमुख, प्रहरी प्रमुख ,सर्वशक्तिमान सोभियत गुप्तचर सँस्था केजीबी प्रमुखका साथै सोभियत कम्युनिस्ट पार्टीका केही नेताहरू समेतले राज्य बिद्रोह गरे । गोर्बाचोभलाई नजर्बन्दीमा राखियो र टेलिभिजनबाट स्वास्थ्य र थकानका कारण गोर्बाचोभले पदत्याग गरेको र गेन्नाडी येनायेभ पार्टी प्रमुख र राष्ट्र प्रमुख भएको घोषणा गरियो । मस्कोका सडक सैनिक ट्यांकहरूले भरिन लागे । जताततै सेना परेड खेल्न थालेका थिए ।
त्यसै वीच गोर्बाचोभ कसैगरी नजरबन्दी बाट मुक्त भएर आफूले पदत्याग नगरेको, आफू पूर्ण स्वस्थ्य रहेको र राष्ट्रको जिम्मेवारीमा यथावत रहेको जानकारी गराएपछि एकएक हजारौँ नागरिकहरू सडकमा जम्मा भएर बिद्रोह अमान्य भएको घोषणा गरे । रुसी सङ्घका राष्ट्रपति बोरिस येल्तसिन एउटा टयांकमा चढेर सेनाको विरुद्ध रुसी संसद भवन बाहिर देखिए र सेनालाई जनताको विरुद्ध नलाग्न अपिल गर्दै कट्टर पन्थी हरुले सोभियत सङ्घमा आतंकको शासन शुरू भएको बताए । रुसी संसद भवनमा तोप प्रहार गरे । गोर्बाचोभलाई समर्थन गर्दै उनले जनतालाई विद्रोहको विरोधगर्न अपील गरे । संकटकाल, प्रतिबन्ध र निषेधका बाबजुद जनता गोर्बाचोभ र येल्तसिनको पक्षमा उभिए । गेन्नाडी येनायेभ नेतृत्वको विद्रोह असफल भयो । गोर्बाचोभ मस्को आए ,शासन हातमा लिए ।
तर त्यसै पनि अलोकप्रिय सोभियत कम्युनिस्ट पार्टी उक्त विद्रोह पछि झन् बद्नाम भयो । जनताको विरोध आक्रोश बढ्दै गए पछि त्यस्तो आक्रोशलाई शान्त पार्न कम्युनिस्ट पार्टीलाई विघटन गरियो । पूर्वी युरोपका मुलुकहरूले धमाधम आफूहरूलाई स्वतन्त्र घोषणा गर्दै गए । एकातिर कट्टरपन्थीहरुको विरोध अर्कोतिर बोरिस येल्तसिनको नेतृत्वका उदारवादीहरूको विरोध दुई तिरको विरोध र दवाव थेग्न नसकेपछि डिसेम्बर १९९१मा गोर्बाचोभले सोभियत राष्ट्रपतिको पदबाट राजिनामा दिए । उनको राजिनामा सँगै डिसेम्बर ३१, १९९१ सोभियत सङ्घको विघटन भयो र १५ टुक्रामा विभाजित भयो । ९१ वर्षीय तिनै मिखाइल गोर्बाचोभको बुधबार निधन भयो । गोर्वाचोभलाई श्रद्धान्जलि !
उनको विश्वासको भगवानको शरण उनलाई प्राप्त होस् ।


