अल्जाइमर्सका कारण मस्तिष्कमा पुग्ने क्षति कम गर्न बनेको पहिलो औषधिलाई महत्वपूर्ण सफलताका रूपमा लिइएको छ । दशकौँको असफलतापछि अल्जाइमर्स उपचारका लागि यो औषधिलाई एउटा नयाँ युगका रूपमा समेत हेरिएको छ ।
अझै पनि लकानेम्याब नामक औषधिको असर थोरै छ र मानिसको दैनिक जीवनमा यसको प्रभावबारे विवादहरू छन् । रोगको सुरुवाती चरणहरूमा औषधिले काम गर्ने भएकोले धेरैले रोग पहिचान गर्न नसक्दा यसको प्रयोग गुमाउन सक्छन् ।
लकानेम्याबले बिटा एमिलोइड भनिने चिप्लो खालको पदार्थमाथि हमला गर्छ जुन अल्जाइमर्स भएका व्यक्तिको मस्तिष्कमा थुप्रिएको हुन्छ । विगतमा अनुसन्धानहरू व्यर्थ र निराशाजनक रहेका बेला यी परीक्षणकालीन परिणामहरूलाई केहीले सफलता दिने महत्वपूर्ण विन्दुका रुपमा हेरेका छन् । अल्जाइमर्स रिसर्च यूकेले यसलाई महत्वपूर्ण भनेको छ ।
विश्वका एक अग्रणी अनुसन्धानकर्ता प्राध्यापक जोन हार्डीले यसलाई ऐतिहासिक भनेका छन् र अल्जाइमर्सको उपचारको सुरुवाती चरणका रूपमा आफू आशावादी बनेको बताएका छन् । उनले ३० वर्षअघि एमिलोइड पदार्थलाई केन्द्रित गरेर अनुसन्धान थालेका थिए ।
युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक तारा स्पाइर्स–जोन्सले ‘लामो समयसम्म हामी शतप्रतिशत विफल भएकाले यो ठूलो उपलब्धि’ भएको बताएकी छन् । अहिले अल्जाइमर्स हुने बिरामीहरूलाई उनीहरूको लक्षण अनुसार अन्य औषधिहरू दिने गरिएको छ तर कुनैले पनि रोगको उपचारमा मद्दत गरेको छैन ।
लकानेम्याब पनि एउटा एन्टीबडी हो जसले भाइरस वा ब्याक्टेरियामाथि आक्रमण गर्छ ताकि मस्तिष्कबाट एमिलोइड हटाउन प्रतिरक्षा प्रणालीलाई निर्देशन दिन्छ । एमिलोइड एक किसिमको प्रोटिन हो जो मस्तिष्कको न्यूरोनहरूबिचको ठाउँमा जम्मा हुन्छ र फरक खालको मार्ग बनाउँछ जुन अल्जाइमर्सको एउटा कारक हो ।
यो ठूलो स्तरको परीक्षणमा अल्जाइमर्स रोग प्रारम्भिक चरणमा भएका १,७९५ स्वयंसेवीहरू सामेल थिए । प्रत्येक १५ दिनमा उनीहरूलाई लकानेम्याब दिइन्थ्यो । सान फ्रान्सिस्कोमा भएको अल्जाइमर्सका बिरामीमाथिको क्लिनिकल परीक्षणसम्बन्धी सम्मेलनमा त्यस्तो परीक्षणबाट आएको परिणाम प्रस्तुत गरिएको थियो ।
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त परिणामलाई कुनै चामत्कारिक उपचार नभएको उल्लेख छ । १८ महिनाको अवधिमा गरिएको परीक्षणमा अल्जाइमर्सका बिरामीमा औषधिका कारण रोगले पुर्याउने क्षति करिब १ चौथाइले सुस्त भएको देखियो ।
बृहत् प्रयोगका लागि लिकानेमबलाई स्वीकृत गर्ने वा नगर्ने भनेर अमेरिकी नियामकहरूले छिट्टै निर्णय गर्नेछन् । उक्त औषधि विकास गर्ने औषधि कम्पनी एइजाइ एन्ड बायोजेनले अन्य देशहरूमा स्वीकृतिका लागि अर्को वर्षबाट प्रक्रिया थाल्ने योजना गरेको छ । ७८ वर्षीय डेभिड इसमले पनि यो अन्तर्राष्ट्रिय परीक्षणमा भाग लिएका थिए ।
‘उनी पहिला जस्तो मानिस थिए अहिले त्यस्तै छैनन्। धेरैजसो कुरामा उनलाई मद्दत चाहिन्छ। साधारणतया उनको स्मरण अब छैन,’ उनकी पत्नी सेरिलले भनिन् । तर यो परीक्षणले आफूलाई आशा दिएको उनले बताइन् । डेभिडले भने, ‘यदि कसैले अल्जाइमर्सलाई सुस्त बनाउन सक्छ र अन्ततः रोक्न नै सक्छ भने त्यो एकदमै गज्जब हुन्थ्यो।’
संसारभर ५ करोड ५० लाखभन्दा बढी मानिसमा डेभिडलाई जस्तै बिमारी छ र सन् २०५० सम्ममा त्यो सङ्ख्या बढेर १३ करोड ९० लाख पुग्ने अनुमान गरिएको छ ।
यसले फरक पार्ला ?
वैज्ञानिक र चिकित्सकहरूमाझ लकानेम्याबले ‘वास्तविक संसार’ मा पार्ने प्रभावलाई लिएर बहस भएका छन् । १८ महिनाको परीक्षणपछि के हुन्छ भन्ने एउटा महत्वपूर्ण प्रश्न रहेको छ र उत्तरबारे अहिले पनि विभिन्न अनुमानहरू गरिएका छन् ।
नर्थ ब्रिस्टोल एनएचएस ट्र्स्टमा बिरामी जाँच गर्ने डाक्टर एलिजाबेथ कोल्टहार्डले मन्द रूपमा रोग देखिएपछि बिरामीहरू ६ वर्ष स्वतन्त्र रूपमै बाँच्न सक्ने बताइन् । एक चौथाइले रोग सुस्त हुन सक्यो भने त्यसले आत्मनिर्भर जीवन थप १९ महिनाले बढ्छ तर उनले आफूले अहिलेसम्म यो थाहा नहुने बताइन् ।
मस्तिष्कमा धेरै क्षति पुगिसक्नुभन्दा अगाडि नै बिरामीलाई सुरुवाती चरणमै औषधि दिइनुपर्छ तर धेरैजसो मानिसहरू ढिला भइसक्दामात्रै उपचारमा पुग्छन् ।
मानिसमा अल्जाइमर्स हो वा डिमेन्सियाको अर्को प्रकार हो भनेर पत्ता लगाउन सुरुवाती चरणमै एमिलोइड परीक्षण गर्नुपर्छ । अहिले भने डिमेन्सिया भएका १ देखि २ प्रतिशतलेमात्रै परीक्षण गराउँछन्।
बीबीसीबाट


