+

नेपाली गरीब जनताको अवस्था चुथ्रोको जस्तै

३० असार २०८०, शनिबार ०७:१३

डा. युवराज संग्रौला ।
चुथ्रो (चुत्रो) को बेहोरा मैले जानाजानी लेखेको थिएँ । नेपाली गरीब जनताको अवस्था चुथ्रोको जस्तै भएको छ । जसले जहाँ जतिबेला फाँडे हुन्छ । चुथ्रो राम्रो फल्छ। तर यसले बाख्रासँग बच्नु पर्छ, ढढेलोसँग बच्नु पर्छ, वनमारासँग बच्नु पर्छ, खुर्पासँग बच्नु पर्छ, यस्तै यस्तै ।

१. नेपाली गरीबका छोराछोरी सिपाही हुन्छन्, तिनैले अपराधबाट जोगाउँछन् । गरीबका छोराछोरी ड्राइभर हुन्छन् । तिनैले ठुलावडाका सवारी चलाउँछन् । गरीबका छोराछोरी भरिया, पियन, कुल्ली, सफाइ मजदूर, सडक मजदुर, हुन्छन् । यिनै गरीबले नेपालको एकीकरणमा ज्यान दिए। यिनै गरीबले माओवादी जनयुद्धमा ज्यान दिए ।

२. यी गरीबका छोराछोरी पनि स्कुल जान्छन् । उनका बाबुहरु ठेला ठेलेर, उनका आमा मकै पोलेर, उनका हजुरबाबू र आमा पानीका बोतल बेचेर बेलुका बिहान सन्तानलाई भात कमाउँछन् ।

३. धनीका लागि मेलम्ची बन्छ । ठुलाका लागि रेस्टुरेन्ट छन् । ठुलावडाका लागि सामान घरमा ल्याइदिने दराज छन् ।

४. गरीब आमाले मकै पोल्ने ठाउँ कहाँ छ ? हो, बाटोमा पोल्नु हुन्न । ठेला गाडी मूल सडकमा चलाउनु नहोला, टोलटोलमा पनि हुन्न ? ल ठिक छ । त्यो पनि नदिउँ । ।तर उनको ठेला गाडी उनको सम्पत्ति हो। कानुन उल्लंघन गरेबापत सजाय होला । तर उनको सम्पती नै जफत गर्ने कानुन कहाँ छ ?

संभ्रान्तको शहर बनाउन कर कामदारहरु तिर्छन् । म दिनमा ६ घण्टा पढाउँछु । तर मेरो तलबमा १५ प्रतिशत कर लाग्छ । संभ्रान्तका करोडौंका घरमा कति प्रतिशत कर लाग्छ ? गाउँका गरीब जग्गामा कर तिर्छन् र संभ्रान्तका ठुला बाटा बन्छन् । ती ठूला सडकमा गरीब ड्राइभरले धनीका गाडी चलाउँछन् । तर उनका सन्तानले शहर आउनु हुन्न । शहर धनीको मात्र हो । गाउँको धन र श्रम मात्र शहर जानुपर्छ ।

१. तिम्रो कानुनले सजाय गर्ने हक राख्छ, तर गरीबको उत्पादनको साधन लुट्ने अधिकार छैन ।
२. कानुन बमोजिम कारबाही गर्ने हक तिमीलाई होला, गरीबका कठाला समात्ने अधिकार तिमीलाई छैन ।
३. गरीबलाई रोजगार त दिन सक्दैनौं, उसले आफैं रोजगार खोजेर तिमीलाई सहयोग गरेको तिमी देख्दैनौ । ‘गरीबको चमेली बोल्दिने को छ र !’ गरीब चुत्रो हो । फल्छ। मीठो हुन्छ। तर पातमा कांडा पनि हुन्छन्, बुझ्नु होला ।