+

राजदूत पद अस्वीकार गर्ने प्याकुरेलको निर्णय सरकारका लागि झापड हो

१२ असार २०८१, मंगलवार ०५:०८

परी थापा
सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार गरेको सन्दर्भ बारेः
१. वि. सं. २०६३ भाद्र महिना तदनुसार सन २००६ सेप्टेबरको अन्तिम सातामा “अन्तर्राष्ट्रिय कमिशन अफ जुरिस्ट” को पहलकदमीमा स्वीटजरल्यान्डको जेनेभा शहरमा अवस्थित संयुक्त राष्ट्र संघ अन्तर्गतको एउटा महत्वपूर्ण निकाय “राष्ट्र संघीय मानव अधिकार आयोग” मा आयोजना भएको “नेपाली राज्य र दण्डहिनताको प्रश्न” विषयक कार्यक्रममा नेपालको तर्फबाट एकजना राजनीतिकर्मी र एकजना मानवअधिकारकर्मीले विषयवस्तुको प्रस्तुतिकरण सहित सहभागिता जनाउनुपर्ने भएछ ।

२. उपर्युक्त प्रयोजनका लागि मानवाधिकारकर्मीका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका सदस्य रहिसकेका सुशील प्याकुरेलको नाम चयन भएको रहेछ । त्यसैगरी तत्कालिन सभामुख सुवास नेम्वाङले राजनीतिकर्मीकातर्फबाट सहभागिता जनाउनका लागि मलाई चयन गरेका रहेछन् । त्यसपछि सुशील प्याकुरेल र मैले आ–आफ्ना विषयवस्तुको तयारी गरेर वि. सं. २०६३ साल भाद्र २१ गते तदनुसार सन २००६ सेप्टेम्बर २५ तारिखमा काठमाडौंबाट नयाँदिल्ली हुँदै फ्रयाङ्कफर्ट भएर जेनेभामा अवतरण गरेका थियौं ।

३. अहिले नेपाल सरकारले विभिन्न देशमा राजनीतिक भगबण्डामार्फत पठाइएका र त्यहाँ कार्यरत नेपाली राजदूतहरुलाई उनीहरुको कार्यावधि अद्यापि कायम रहेकै अवस्थामा तिनीहरु सबैलाई एकमुस्ट फिर्ता बोलाएर रिक्तस्थान पूर्ति गर्नका लागि नयाँ राजदूत नियुक्तिको लागि विभिन्न व्यक्तिहरुको नाम सिफारिश गर्दै सार्वजनिक गरेकोरहे छ । तिनीहरुमध्ये प्याकुरेलको नाम पनि समावेश भएको रहेछ र उनलाई दक्षिण कोरियामा राजदूत बनाएर पठाउन लागिएको रहेछ ।

४. नवराजदूतहरुको नामावलीमा आफ्नो नाम समेत समावेश भएको समाचार प्रकाशमा आए पश्चात प्याकुरेलले नामावली चयन/मनोनयन/सिफारिश गर्ने प्रकृयामा आफूलाई जानकारी÷सम्पर्क÷सोधपुछ समेत केही नगरी आफ्नो नाम सार्वजनिक गरेको लगायतका विषयवस्तुलाई समेटेर सलिल एवम् शिष्ट भाषाशैलीमा राजदूत मनोनयन प्रकृया प्रति असन्तुष्टि/विरोध जाहेर गर्दै आफूलाई प्रदान गरिएको राजदूत पदलाई अस्वीकार गरेको जानाकारी गराउंदै वक्तव्य प्रकाशित गरेका रहेछन् ।

५. सजिलोको लागि छोटकरीमा राजदूत भन्ने प्रचलन रहेको भएतापनि औपचारिक र लिखितरुपमा भन्नुपर्दा राजदूतको पदलाई “असाधारण तथा पूर्णाधिकार सम्पन्न महामहिम राजदूत (Your Excellency, Ambassador, Extraordinary And Plenipotentiary) भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसको तात्पर्य राजदूत भनेको सम्बन्धित देश÷राज्यको सर्वाधिकार सम्पन्न प्रतिनिधि हो भन्ने प्रष्ट हुन्छ। त्यस्तो महत्वपूर्ण प्रतिनिधिको चयन गर्ने प्रकृयामा नेपाली राज्य र सरकारले अपनाउँदै आएको लाछी, लबस्तरो र होस्ल्याङ तौरतरिका प्रति प्याकुरेलले राखेको विचार र अडान प्रसंशनीय रहेको छ । जो र जस्तालाई जे र जुन पद पनि प्रदान गरिहाल्ने अनि जे र जुन पद पनि जो र जस्ताले पनि ग्रहण गरिहाल्ने संस्कारलाई अस्वीकार गरेकामा उनी धन्यवादको पात्र भएका छन् ।

 

ताजा अपडेट