काठमाडौं । गत शुक्रबार साँझको समयमा सिन्धुलीको गोलञ्जोरमा भएको हाइलक्स गाडी दुर्घटनाको प्रसंग जति दिन बित्दै छन्, उती धेरै पीडित परिवारका लागि खपिनसक्नु चोट, पीडा र रोदनको घाउ बनिरहेको छ । दुर्घटनाको गाडी भेटिँदा पनि सवार यात्रुको बेपत्ता अवस्था सम्बन्धित परिवारका सदस्यका लागि कति गहिरो पीडा हो भन्ने कुरा त शायदै कसैले कल्पना गर्न सक्छ ।
अचानोको चोट खुकुरीलाई के थाहा भने जस्तै जस्तै हो, सवारी दुर्घटनामा आफन्त बेपत्ता हुँदाको चोट र पीडा सम्बन्धित परिवारका हर सदस्यका लागि । दुःखको यस्तो घडीमा पनि जब कसैले पीडित परिवारको मानवीय समवेदनामा प्रहार हुने गरी अनुमानका भरमा मिथ्या प्रचार गरिदिँदा ती पीडित परिवारलाई कति पीर र वेदना थपिदो हो ? यो अन्य जनले कल्पना मात्र गर्न सक्ने विषय हो ।
हो, सिन्धुलीको हाइलक्स गाडी दुर्घटनाको प्रसंगमा सिन्धुलीका एकजना माननीय तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले बेपत्ताका आफन्तको दुःखको घडीमा थप दुःख दिने गरी सामाजिक संजालमा लेखिदिएका शब्दहरु अहिले पीडित परिवारका लागि थप प्रहार बनेका छन् ।
बागमती प्रदेश सरकारका निवर्तमान मन्त्री तथा सिन्धुलीका प्रदेश सांसद गंगानारयण श्रेष्ठले उक्त दुर्घटनामा बेपत्ता चालकलाई दुर्घटनाको कारक भन्दै मनगढन्ते स्ट्याटस लेखिदिएर परिवारको दुःखमा अरु दुःख थपिदिएका छन् ।
हेर्नुहोस् प्रदेश माननीय तथा पूर्वमन्त्री श्रेष्ठको पहिलो स्ट्याटस ।

आफूले दुर्घटनास्थलको अनुगमन गर्दा अरुले भनेको सुनेको हवाला दिदै पूर्वमन्त्री तथा सांसद श्रेष्ठले चालकले मद्यपान गरेको हुनसक्ने भनेर अनुमानका भरमा बेपत्ता चालकलाई दुर्घटनाको दोष थोपर्न खोजेको उनको लेखनीले स्पष्ट पार्छ ।
थाहै छ । कुनै पनि दुर्घटना बाजा बजाएर आउँदैन । आइपरेको दुर्घटना टारेर पनि टर्दैन । तर एकजना राज्य संचालनमा सामेल भैसकेको निर्वाचित जनप्रतिनिधिले अनुमानका भरमा दुर्घटनामा परेका चालकलाई सुनेकै भरमा मद्यपानको अप्रमाणित आशंकासहित सामाजिक संजालमा लेखिदिएको प्रसंगले पीडित परिवार भने थप मर्माहत भएका छन् ।
आफ्नो बेपत्ता सन्ततीको लास न सास केही पनि नभेटिएको बेला एक माननीय र पूर्वमन्त्रीले हचुवाको भरमा, अर्काले भनेको हवाला दिदै चालकलाई मद्यपान गरेको हुनसक्ने भनिदिनु कति जिम्मेवार अभिव्यक्ति हो त ? दुर्घटनाको छानबिन गर्नै बाँकी नै छ । बेपत्ताको अवस्था अज्ञात नै छ, तर माननीय श्रेष्ठलाई अरुले भनेको हवालाका भरमा बेपत्ता चालकलाई दोष थोपर्न भएको हतारोले माननीय श्रेष्ठले पीडित परिवारको मानवीय समवेदनाको ख्याल नगरेको स्पष्ट छ । यस्ता जनप्रतिनिधिले दुखान्त दुर्घटनाहरु उपर हतारमा अनुमानका भरमा जताभावी लेख्नु अघि पदीय मर्यादा र मानवीय समवेदनाको पक्षमा पीडित परिवारको पनि ख्याल गर्नुपर्ने हो की ?
स्मरणीय छ, व्यापक जनविरोधपछि उही माननीय श्रेष्ठले नै बेपत्ता चालकमाथि गरेको अप्रमाणित दोषारोपणको स्टाटस आफैंले सम्पादन गरेको पनि देखियो ।

तर, लेख्न पाएँ भन्दैमा जताभावी लेखिसकेर अनि मात्र संसोधन गर्ने माननीयका यस्तो काईदाले आखिर कसलाई फाइदा भयो त ? माननीयले त लेख्नमा भन्दा बेपत्ता खोज्नमा र पीडित परिवारलाई सान्त्वना दिनमा अनि यस्ता दुर्घटना हुन नदिने, कमगर्ने उपायहरुका खोजीमा ध्यान दिनु पर्ने हो नी होइन र ?
ज्ञातव्य छ, गत शुक्रबारको दुर्घटनामा एकजना बाँच्न सफल भएका छन् भने तीन जना बेपत्ता छन् ।


