नारायण गाउँले ।
‘The Goat Life’ भन्ने मुभी हेरिएको थियो, केही दृश्यहरू ‘चरम’ र यस्तो पनि हुन्छ त भन्ने खालका थिए । लाग्यो, सुदूर मरूभूमिको तातो बालुवामा मात्रै भेटिने ’कथा’ हो त्यो । तर हिजो ‘हेर्ने कथा’ले फेरि मन डावाडोल बनाएर गयो । यो बालुवाको कथा थिएन, आफ्नै आँगनको हिउँको कथा थियो । शीर्षक जस्तै कथा मात्रै भएको भए यस्तो पनि हुन्छ र भन्दै मनलाई पग्लेर आँखामा आउनुअघि नै पुछिन्थ्यो होला, तर यो त आफ्नै पुस्ता, आफ्नै माटो र आफ्नै स्थितिको व्यथा थियो, के पुछ्नु, कति पुछ्नु ।
हाम्रो लागि देश, राष्ट्रियता, समाज, शिक्षा, स्वास्थ्य, सञ्चार, बालअधिकार, विकास, राजनीति र कानुन जस्ता कुराहरू काठमाडौँका बुद्धिविलास जस्ता मात्रै छन् । देशमा देश नपुगेको कति ठाउँ छन् । किताबको बालअधिकार डाँडा उक्लेर जान नसकेका कति गाउँ र जीवनहरू छन् । सिटामोल किन्न एक दिन पैदल हिँड्न पर्ने ठाउँहरू छन् । एपेन्डिक्स भयो भने पीडा र सङ्क्रमणले मान्छे सकिन्छ, न हस्पिटल छन्, न रोड छ । हार्टअट्याक, स्ट्रोक या भाइरल सङ्क्रमण त जीवनको पूर्णविराम नै भए । हाम्रा डाक्टर, शिक्षक र कर्मचारी जुम्लासम्म उक्लिन मान्दैनन्, जबकी तीन दिन हिँडेर जुम्लासम्म झर्न पाए भाँचिएको खुट्टा जोडिन्थ्यो कि भन्ने अझ विकट गाउँहरू कति छन् । सिंहदरबारको बहस, छलफल र नजरमा नपरे पनि नक्सामा ती नेपालभित्रै पर्छन् । कहिल्यै संसदमा राज्यको न्यूनतम सुविधा पनि नपाएका ती भूभाग र जनताबारे कसैले बोलेको सुन्नुभएको छ ? के कुनै फाइल तिनका बारेमा बनेको छ, खुलेको छ ?
देशभित्रै दुई थरी देश छ । स्कुल र क्याम्पस दुई थरी छन् । उत्पादन नै दुई थरी छ । बहस, चिन्तन, सपना र लक्ष्य नै दुई थरी छन् । अस्पताल दुई थरी छन्, कानुन र पहुँच दुई थरी छ । एकथरीका लागि मोबाइलमा एउटा नम्बर दबाए सबैथोक हुन्छ, अर्कोथरीका लागि एउटा सिफारिस लिन एक महिना लाग्छ । एकथरीका लागि के छैन देशमा ? र अर्को थरीका लागि केही छैन देशमा । अर्को थरी बच्चा हराएको भए राज्य संयन्त्र अलि चनाखो हुन्थ्यो, सारा स्रोत खर्च हुन्थ्यो र भेटिन्थ्यो पनि । तर..
त्यो मुभीमा अलमल्ल परेका ती पात्रलाई एयरपोर्टबाट दलालले उठाएर बालुवाको समुद्रमा पुर्याएको थियो । त्यो कथा थियो । यहाँ १० वर्षको बच्चा गाडी र सडक नपुगेको त्यो हिमाली काखमा पक्कै आफैं पुगेको नहोला । ऊ त काठमाडौंका गार्मेन्ट फ्याक्ट्रीमा काम खोज्दै थियो होला । कसैले काम र मामको लोभमा सदाका लागि उसलाई उसबाटै छिन्यो । आजको दिनमा कसैले काठमाडौंबाट कलिलो बच्चा उठाएर लैजान्छ, बेच्छ या आजीवन श्रमिक बनाउँछ, जीवन लुट्छ, भने त्यो गम्भीर अपराध हो । हिजो पनि त्यही भएको भए त्यो पनि अपराध नै हुनुपर्ने हो ।
३०–३५ वर्ष श्रम गराएर पनि, हराएको बच्चा हो भन्ने थाहा पाएर पनि, ऊ आफ्ना बाबुआमा र दाजुभाइसँग जोडिन चाहन्छ र अवसर छ भन्ने थाहा पाउँदा पनि उसले एक महिनाको छुट्टी या एक महिना जतिको तलब नपाउनुले मलाई निकै निकै घोच्यो ! त्यहाँ त उत्सव या सेलिब्रेशनको स्थिति पो बन्नुपर्ने हो । मेरा बाख्रा कसले चराउँछ भन्ने पो देखियो । दश दिनको छुट्टी यात्रामैं बितेकाले हो कि, यत्रो उमेरपछि भेटिएको घर र परिवार पनि छोडेर रुँदै र रुवाउँदै प्रकाश फेरि किन फर्किए होलान् ? डरत्रास या माया पो थियो कि ? त्यही ‘अर्को थरी’ नागरिक भएको भए राज्यले पनि तत्काल छानबिन गर्दो हो, अक्षर चिन्न पनि नसक्ने उनलाई सम्मानजनक पुनर्स्थापनामा सहयोग गर्दो हो । तर यस्ता कथाहरू हेर्ने फुर्सत हाम्रो राज्यलाई हुँदैन पनि । भेनेजुएला, अमेरिका, युक्रेन, रसिया, गाजा, स्याटेलाइट, पानी जहाज… हाम्रो लागि कति काम छ कति ! हेर्ने कथालाई मनबाटै साधुवाद छ ! तपाईंले पनि हेर्नुभयो ?


