+

लेखा समितिका सभापति किन कुलमानमाथि कारबाही गर्न चाहन्छन् ?

१२ भाद्र २०८१, बुधबार ०५:२०

विमल गुरुङ
यो भिडियो हेरेपछि मलाई नेपालको सार्वभौम प्रतिनिधिसभाको लेखा समितिको सभापति ऋषिकेश पोखरेलको कुत्सित खेल बुझिहालेँ । उनी नेपाली जनताको नउठेको २२ अर्ब रकम उठाउन होइन, त्यसलाई नउठाउन हर्कत गरिरहेको प्रष्ट छ । २२ अर्ब उठाउने भनेर एक मात्र निर्णय गरौं न त भन्दा आफूले ल्याएको ६ बुँदे रेडिमेड निर्णय पारित नभएको झोंकमा र बैठकमा अल्पमतमा पर्ने भएपछि निर्णय नगरी हठात् बैठक स्थगन गरे । यिनको रवैया र हसिनपसिन अनुहार हेर्नलायक थियो, कठै ! “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८४ मा बैठकको निर्णय हुनलाई उपस्थित समितिका सदस्यको बहुमत हुनुपर्ने व्यवस्था प्रष्ट छः

१८४. समितिको निर्णयः
(१) यस परिच्छेदमा अन्यथा व्यवस्था भएकोमा बाहेक समितिको बैठकमा उपस्थित समितिका सदस्यको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ र मत बराबर भएमा सभापतिले निर्णायक मत दिनेछ ।

(२) समितिको बैठकको निर्णय सभापति र समिति सचिवबाट प्रमाणित हुनेछ ।

उनको चाल भनेको ‘कुलमान घिसिङ’ लाई कारबाही गर्न सिफारिस गरी घिसिङ सरलाई पदबाट बर्खास्त गर्ने हो । उहाँलाई पदबाट नै हटाएपछि यो २२ अर्ब उठाउन उहाँजस्तो महसुर र हिम्मतवाला कोही आउनेवाला छैन र त्यो पैसा सधैंको लागि व्यापारीहरूले तिर्नुपर्ने छैन । यही हो ग्राण्ड डिजाइन ! यसको मतलब सधैंभरि कुलमान मात्र यो संस्थामा रहनुपर्छ भन्ने मेरो मनसाय पनि होइन ।

खाली उहाँलाई कारबाहीको भागिदार बनाई २२ अर्ब सधैंको लागि नउठाउने भन्ने कुराको विरोध मात्र हो । फेरि कारबाही किन गर्ने ? नेपाली सर्वसाधारण जनतालाई अँध्यारोमा राखी २४ सै घण्टा डेडिकेटेड र ट्रङ्क लाइन सुरु गर्नेहरूलाई कारबाही त के नाम पनि लिन नखोज्ने, तर यस्तो खालको लाइन नै आवश्यक नै नहुने गरी २०७५ वैशाखदेखि २४ सै घण्टा नेपालभर सबैलाई विद्युत सुविधा पुर्याउन अहम् भूमिका खेल्ने व्यक्तिलाई चाहिँ  on-the-spot  कारबाही गर्ने ? यही हो न्याय ? अघिल्लो बैठकमा रेकर्ड ल्याऊ भन्दा एक गाडी रेकर्ड पुर्याएकै हो । त्यसबारेमा समितिको बैठकमा छलफल ल्याउन किन माननीय पोखरेल तयार भएनन् त ?

घिसिङ सर २०७७ भदौदेखि २०७८ साउनसम्म करिब ११ महिना पदमा नहुँदा त्यो बाँकी बक्यौता उठाउन किन कसैले प्रयास गरेनन् ? अनि आजभन्दा साढे चार वर्षअघि नै त्यो बक्यौता उठाउन खोज्दा २०७६ चैतमा प्रधानमन्त्रीबाट स्पष्टीकरण सोधिएको होइन र ? अनि पैसा उठाउन नदिने को रहेछ ? अब नेपाली जनता चुप लागेर बस्नेवाला छैनन् । सबैलाई चेतना भया !

लेखक-  गुरुङ दूधकोशी जलाययुक्त आयोजनाको प्रवर्द्धक दूधकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

ताजा अपडेट