गणेश कार्की ।
अब बालेनले आफ्नो पोस्ट डिलिट गर्यो कि फेसबुकले हटायो ? केपी ओली पेजमा फलोअर्स बढे कि घटे ? यस्ता बहस सकिएर ती १५ वर्षे नानीलाई ७ वर्षदेखि घरेलु कामदार बनाएर कुटपिट गर्ने एमाले प्रदेश सांसदलाई किन कारबाही भएको छैन भनेर पनि सोध्ने हो कि ? अस्ति बालेनले आफ्नो पोस्ट आफैं डिलिट गर्यो, लुकायो भन्नेसँग जवाफ खोज्ने हो कि ? फेसबुकले माफी मागेर पोस्ट फिर्ता गर्यो त ।
तर अचम्म चै, केपी ओली पेज अनफलो गर्ने अभियानले यसरी जरो हल्लिएछ कि कुरै नगर्नु । कतै भिडबाट चल्ने कि बुद्धिबाट भन्दै अर्ति बाँडिरहेछन् । कतै चैं फलो र अनफलो हेर्ने नेता नै होइन भनेर राजनीतिक ज्ञान पेलिरहेछन् । तिनको बुद्धिविलासमा अनफलो गर्नुको नैतिक कारण किन नदेखिएको खोइ ! एमालेका महासचिव नै ओलीको फेसबुक पेजको लिंक सेयर गर्दैछन्, एमाले कार्यकर्ता पेज लाईक गर्ने निम्तो पठाउदैछन्, पेज पैसा तिरेर विज्ञापन गरिएको छ । मन, मुटु, दिमाग सबै हल्लिएको हैन त्यो ?
कि बन्द गरौँ भन्दै सडकमा टायर बाल्नु पर्थ्यो ? कि सडकका रेलिङहरू भाँच्नु पर्थ्यो ? कि सडक छेउका घरका सिसा ताकीताकी ढुंगा हान्नु पर्थ्यो ? त्यही मात्र सुन्ने ? त्यही मात्र देख्ने ? अनफलो किन भइराछ चैं नदेख्ने ? नलेख्ने ?
१५ बर्ष पुगेकी एउटी नानी ८ बर्षदेखि घरेलु कामदार बसेकी छ र आफ्नै बाउ अगाडि उभिदा चिन्दिन भन्छे । त्यसले छोएन ? म फेरि त्यो घर जान्न भन्छे । त्यो सुनिएन ? हामीसँग हिँड भनेर उद्दार गर्न गएकाले भनिनसक्दा त्यो घर छोड्न आफ्ना झोला कुन उत्साहले पोको पार्दैछे ! त्यो भिडियो हेरिएन ? ति नानीलाई घरेलु मजदुर बनाएर बाउसम्म नचिन्ने बनाउने प्रदेश सांसद हुन् भन्ने दिमागमा घुसेन ?
अनि अहिले ति नानीको अधिकार र क्षतिपूर्तिको लागि लड्नु भन्दा, त्यस्ता नानीहरूको उज्जवल भविष्यको लागि दबाब दिनु भन्दा, ति नानीहरूलाई घरेलु कामदार बनाएर बाँध्नेहरूको विरूद्धमा बोल्नु भन्दा, तपाईहरूलाई कुनै फलो र अनफलोको अर्थ बुझाउन हतार ! कसैका लागि त ८ वर्षदेखि घरेलु हिंसा भोगेकी नानीको अस्तित्व नै छैन, देख्छन् त केवल मेयर र प्रधानमन्त्रीको लडाई । शरम लाग्दैन ?
रास्वपाका नेता गणेश कार्कीको फेसबुकबाट


