डा.युवराज संग्रौला ।
हिजोका दिनमा पटकपटक लेखें, पहाडमा डोजर नचलाउ भनेर । डोजर ड्राइभरका भरमा इन्जिनियर नै नचाहिने विकास स्थानीय निकायले ल्याए । यो केवल भ्रष्टाचारका लागि थियो ।
– १२ गते आश्विनको बिहान ५.३० बजेको थियो । पानी यस्तो पर्दै थियो, हेर्दै आंतकित हुनुपर्ने । छाता लिएर बाहिर निक्लें, हेर्दाहेर्दै अलिपरको पहाड खस्यो। बाटोमा होहल्ला थियो, अनि त्यतै जाँदा मानिसमाथि विकासले ल्याएको पीडाले लाग्यो ‘क्वांँक्वाँ गरेर रोऔं।’
– जताततै पहिरो । कसैका बाख्रा बगायो, कसैका भैंसी । हामी एकाएक उद्धारकर्मीमा परिणत भयौं । ‘सक्यो हजुर, सकियो।’ एक जना बुढा दमाई बाटाका डिलमा काम्दै बसेका थिए। उनको घर डिल खसेर पुर्न लागेको थियो । बाटोमा खोला बगिरहेको थियो । अनि निकास काटेर पानी बाटो तिर लगायौं । ‘हजुर दुईवटा भैंसी पहिरोमा पर्न लागे । तब एक हुल विद्यार्थी र हामीले भैंसी निकाल्ने प्रयत्न गर्यौं । कठिन थियो तर घुँडासम्मको हिलो । तीन वटा भैंसी र पाडी पहिरोले गोठ तान्नु अघि निकाल्यौं ।
– ११ बजे सम्ममा थुप्रै ज्यान जोगाइयो । सरकार थिएन । खानेपानी थिएन । कुनै सहयोग गर्ने निकाय थिएन । तर मेरा सहयोगी र विद्यार्थीको मानवीयता थियो । आजसम्म ‘पढाएको सबैभन्दा उत्तम कक्षा आजै थियो ।’
– आज रातभर निद्रा लागेन । हामी पहरामा थियौं, पानी पर्यो भने मानिसलाई सुरक्षित ठाउँमा निकाल्ने । अहिलेसम्म पानी परेको छैन । जनता हाम्रा भरोसामा सुतेका छन्, कसैका घरमाथि कसैका घरमुनि पहिरोको त्रास छ । सरकार छैन सहयोग छैन । हामी बाटोबिहीन एउटा टापुमा छौं । हामीले विपदमा के गर्न सकिन्छ, खानेकुरा र पानी कसरी जोगाउने ? छलफल गर्यौं ।
अब त यसरी हुन्न । हामीले गलतलाई गलत भन्नूपर्छ । बोल्नुपर्छ र भ्रष्टाचार र गरीबमाथिको हेला बन्द गर्नुपर्छ । ससाना नानीहरुको जीवनका लागि हाम्रो आवाज बुलन्द गर्नुपर्छ । आफ्नो स्वार्थका लागि मात्र जीवित नेता र सम्पत्ति लुटेर आफूमात्र मोज गर्नेको अन्यायी समाजलाई बदल्नुपर्छ ।