काठमाडौं । कांग्रेस र एमालेबीच ७ बुँदे सहमतिसँगै गत असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । एमाले र कांग्रेसबीच सरकारमा आलोपालो गर्ने सहमति भएको छ । सुरुमा ओली प्रधानमन्त्री र त्यसपछि कांग्रेस सभापति शेरबहादुर बन्ने सहमति दुई दलबीच भएको छ । सरकार गठनको ६ महिना पुग्न थालेको छ । अप्रत्यासितरुपमा कांग्रेस र एमालेबीच सहमति भइ सत्ताबाट बाहिरिनुपर्दा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी रन्थनिएका थिए । माओवादी र रास्वपाले केही समय रौद्र रुप नै देखाए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र सुन तस्करी काण्डमा जोडिएका प्रतिक थापा पक्राउपछि कांग्रेस र एमाले डराएर सरकार ढालेका उनीहरुको आरोप थियो । उनीहरुले जे आरोप लगाएपनि कांग्रेस र एमालेबीच सहमति हुन्जेल यो सरकारलाई कसैले हटाउन सक्दैन । किनकी संसदीय व्यवस्थामा सरकार गठनका लागि कांग्रेस र एमालेसँग संख्या छ । त्यो संख्या अरु सबै दल मिल्दा पनि पुग्ने अवस्था छैन । ठूला दलको सरकार बनेपछि मुलुक सही ट्रयाकमा जाने आमनागरिकले अपेक्षा पनि गरेका थिए । तर विपक्षी दलहरुले दुई दलबीच सहमति भाँडिएर सरकार ढल्दैछ भन्ने हल्ला बेलाबेलामा चलाउँदै आएका छन् । यस्तो हल्लापछि प्रधानमन्त्रीसमेत स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था सृजना भएको छ ।
मंसिर ७ गते सरकार गठन भएको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताए । प्रधानमन्त्रीले भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ ।’
प्रधानमन्त्रीको स्पष्टीकरण यतिमा मात्र सीमित भएन । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरणसभा नै गर्यो । त्यहाँ पनि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको समीकरण ०८४ को निर्वाचनसम्म रहने दाबी गरे । उनले भने, ‘फागुनको कुरा होइन, ०८४ को मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ ।; प्रधानमन्त्री ओलीले अब १८ महिना चलाएर ०८३ असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार चलाउने बताए ।
सत्ता टिक्ने र सत्ता हस्तान्तरण यतिबेला पेचिलो बन्दै गएको छ । ओलीले देउवालाई सहजै सत्ता हस्तान्तरण नगर्ने हल्ला चलाइएपछि त्यसबारेमा स्पष्टीकरणको श्रृंखलाबाट त्यो कुरा स्पष्ट हुन्छ । हुँदाहुँदा प्रधानमन्त्री ओलीले मंसिर २० गते चीन भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पनि सत्ता हस्तान्तरणको प्रसंग उठाए । उनले १८ महिना सरकार चलाएपछि देउवालाई हस्तान्तरण गर्ने बताए । चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । त्यस प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
सरकार र सत्ता हस्तान्तरणको श्रृंखला यतिमा मात्र सीमित छैन । गत सोमबार झापाको गौरादहमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले यही कुरा दोहोर्याए । प्रधानमन्त्रीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताए । सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।
यता सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिलेको सरकारप्रति सन्तुष्ट देखिन्छन् । २२ मंसिरमा पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा आफू अहिलेको ओली सरकारपछि अत्यन्तै सन्तुष्ट रहेको भाव व्यक्त गरे । उनले सम्बोधनका क्रममा भने, ‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ ।’ देउवा त्यतिमा मात्र रोकिएनन् प्रधानमन्त्री ओलीले चीन भ्रमणमा निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । उनले भने, ‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्त्वपूर्ण कुरा गरेर आउनुभएको छ ।’
प्रधानमन्त्री चीन भ्रमणअघि बीआरआई परियोजनाका बारेमा दुई दलबीच मतभेद थियो । तर दुबै दलले कार्यदल नै बनाएर बीआरआईमा सहमति जुटाए । यसबाट पनि दुई दलको सहमति सीतिमिति टुट्दैन । तर पनि किन प्रधानमन्त्रीबाटै पटक पटक यस्ता अभिव्यक्ति आइरहेका छन् त ?
एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री हुँदा प्रचण्डले आफूहरुसँग ३२ सिटको म्याजिक नम्बर रहेको र आफू पाँचै वर्ष प्रधानमन्त्री हुनसक्ने बताएका थिए । त्यो भनेको केही दिनमै उनको सरकार ढलेको थियो । अहिले पनि भित्रभित्रै सत्तारुढ दलबीच मतभेद बढेको त होइन भन्ने आंशका गर्नेहरु पनि छन् ।
नेपालका सरकारका पूर्वसचिव मधुरमण आचार्य प्रधामन्त्रीका बारम्बारका भनाई प्रति यसरी टिप्पणी गर्छन्, ‘यो सरकार पाँचै वर्ष टिक्छ। यो पार्टी फुटदैन।’पहिले बारम्बार त्यसो भन्दा दुबै नहुने कुरा रहेछन् भनेर बुझिएको थियो र त्यसै भयो । अहिले फेरि यो गठबन्धन चुनावसम्म टिक्छ अनि यति महिनापछि फलानाले सरकारको नेतृत्व गर्ने भनेर बारम्बार भनिरहँदा के बुझ्नुपर्ने हो बुझ्नु होस् ! आफैं !’
ठूला दुई दलको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो कुरा सत्तारुढ दल र मन्त्री स्वयंले पनि स्वीकार गरेको कुरा हो । बुधबारको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको बताए । उनले भने, ‘अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दैछौँ । लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन । विदेशी मुद्रा सञ्चिति राम्रो छ । पर्याप्त तरलता र ब्याजदर घेटेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौं । यसमा थप सुधार आवश्यक छ । अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन ।’
यसबाट पनि के स्पष्ट हुन्छ भने सरकारले गति बढाउनै पर्छ । तर प्रधानमन्त्रीबाट पटक पटक सत्ताको आयु र सत्ता हस्तान्तरणका विषयमा आउने अभिव्यक्तिले संशय पैदा हुनु स्वाभाविकै हो । यसले कर्मचारीतन्त्रमा झन् नकारात्मक असर पर्छ । किनकी प्रधानमन्त्रीबाट सत्ताको विषयलाई पटक पटक टिप्पणी आइरहँदा कर्मचारीतन्त्रमा सरकार परिवर्तन हुने हो कि भन्ने आशंका बढ्छ र काम नगर्ने प्रवृत्ति बढ्छ । त्यसैले प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरुबाट संशय पैदा हुने अभिव्यक्ति बन्द गरेर सरकारको कामलाई गति दिने हो कि ?


