+

सुन्तला कुटनीतिको अभियानमा माननीय

१२ पुष २०८१, शुक्रबार ०५:४८

राजेन्द्र बजगाईं ।
सुन्तला कूटनीतिको यो अवधारणा मैले नेपालजस्तो कृषिमा आधारित मुलुकका लागि अभिनव र प्रेरणादायी प्रयासका रूपमा अघि सारेको हुँ । टर्कीको इजमिरबाट लण्डनसम्म ताजा सुन्तला पुर्याउने दृष्टान्तलाई गोरखाको सुन्तलासँग जोडेर मैले कूटनीतिक सन्दर्भमा उपयोग गर्ने सोच बनाएको छु । मेरो यो प्रयास अत्यन्तै व्यावहारिक र प्रेरणादायी बन्न सक्छ भन्ने विश्वास छ।

गोरखा १ का सुन्तलालाई ‘Orange Constituency’ को रूपमा ब्राण्डिङ गर्दै कूटनीतिक नियोगहरूसँग परिचित गराउनु मेरो उद्देश्य हो । यो केवल कृषिजन्य उत्पादनको प्रचार गर्ने कुरा होइन, नेपालको सांस्कृतिक र आर्थिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साहसिक र दूरदर्शी प्रयास हो। यसले गोरखाका किसानहरूलाई नयाँ उत्साह प्रदान गर्नुका साथै उनीहरूको उत्पादनलाई नयाँ बजारसम्म पुर्याउन र विकट क्षेत्रका किसानहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिनेछ ।
स्याउ र सुन्तलाको उत्पादन तथा ढुवानीमा राज्यको सहकार्यको अभाव एउटा पुरानो समस्या हो। चुम नुब्रीमा कुहिएर रहेको स्याउको दृश्यले मेरो मन पटकपटक दुखाउने गरेको छ। यद्यपि, यस अवस्थालाई परिवर्तन गर्न मेरो यो पहलले सम्भावनाका नयाँ ढोका खोल्नेछ भन्नेमा म आशावादी छु।

कृषिजन्य उत्पादनमार्फत देशको आर्थिक, सामाजिक, र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै गोरखाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु मेरो प्रमुख लक्ष्य हो। मेरो यो प्रयास केवल प्रशंसनीय होइन, सम्पूर्ण देशका लागि प्रेरणाको स्रोत बन्न सक्छ भन्नेमा म विश्वस्त छु।

यस्तो पहललाई सफल बनाउन सरकारले ढुवानीको समस्या समाधान गर्दै किसानहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने दीर्घकालीन योजना अघि सार्नुपर्नेछ। यस्तो प्रयासले नेपालको कृषि क्षेत्रलाई सुदृढ बनाउँदै देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।