+

दुःख त हाम्रो भाग्यमा छँदैछ, दिने नेता र देश मात्रै कुन भन्ने हो !

१६ माघ २०८१, बुधबार ०४:५१

नारायण गाउँले ।
झट्ट सुन्दा अमेरिका जाने जति फर्केर आउन लागेजस्तो, त्यहाँ बस्ने प्रवासीहरूमा भागाभाग शुरू भएजस्तो बुझिने रहेछ । दिनदिनै दुईचार वटा जहाजमा मान्छे डिपोर्ट गरेर अमेरिकाको इमिग्रेशन समस्या सकिने होइन । बीसको उन्नाईस पनि हुने होइन । त्यहाँ यति धेरै गैरकानुनी आप्रवासी छन् कि ठूलो साधनस्रोत र समय तिनलाई पहिचान गर्दै सकिन्छ । डोनाल्ड ट्रम्पको कार्यकाल यसैमा सकिन सक्छ । समुद्र र जमिनबाट भित्रिने गैरकानुनी त छँदै छन्, दिनहुँ कानुनी बाटोबाट भित्रिने लाखौँ विदेशीहरू पनि भिसा सकिएर गैरकानुनी आप्रवासीमा परिणत हुन्छन् ! रेकर्डमा रहेका यस्ता आप्रवासी अत्यन्त न्यून हुन्छन् । कानुनी भए पो तिनको सही रेकर्ड हुन्छ ।

किन जहाजको फण्डा त भन्ने पनि लाग्ला । तर जहाजले मान्छे बोकेर होइन, सम्भावित घूसपेठलाई निरुत्साहन गरेर ठूलो भूमिका निभाउन सक्छन् । हत्कडी लगाएर निर्दयी रूपले डिपोर्ट गरिँदै गरेका दुई तीन सयको कारुणिक तस्बीरले छिर्नका लागि उचालिएका अरू दुई तीन लाख पाइतालाहरूलाई रोक्न सक्छ ! कति त यस्तो माहोल र तस्बीरले आत्तिएर स्वेच्छाले घर फर्किन्छन् । अपमानपूर्वक आफ्ना नागरिक फिर्ता हुँदा र अन्तर्राष्ट्रिय न्यूज बन्दा स्वाभिमानमा धक्का पुग्छ र धेरै देशले आफ्नो भूमिमा मानवतस्करहरूलाई नियन्त्रण गर्छन् । एउटा मोमेन्टम तैयार हुन्छ जसले परिणाम ल्याउन सक्छ ! यही मोमेन्टमले गर्दा कतिले दलाललाई पहिलो किस्ता माया मारेर पनि दोस्रो किस्ता नबुझाएको हुनसक्छ ।

ठूला शेयरमार्केट पनि यस्तै मोमेन्टमबाट प्रभावित हुन्छन् । कुनै देश दुईतीन वर्षमैँ बन्ने या बिग्रने हुँदैन । तर मिडियामा थानकोट र सिद्धबाबाको सुरुङ, फास्टट्रयाकका अग्लाअग्ला पुल र सुरुङ, दमकको भ्युटावर या पोखराको चिल्लो बाटो मात्रै देखाउने हो भने देश बन्दै छ जस्तो देखिन सक्छ । कर्णालीका पीड़ा, केही भ्रष्टाचारी र बलात्कारी अनि सड़कको धुलोधुआँ र एअरपोर्टको लाइन मात्रै देखाउने हो भने लौ देश त हरितन्नम नै भएछ जस्तो देखिन सक्छ ! बन्दै छ भन्दा भन्दै बन्ने र बिग्र्यो भन्दा भन्दै बिग्रिने पनि हुनसक्छ । जीवन पनि त्यस्तै मोमेन्टम हो !

अमेरिका मूलतः आप्रवासीकै देश हो । उच्च सरकारी निकायदेखि विशाल अन्तर्राष्ट्रिय कम्पनीसम्म प्रवासीहरूकै वर्चश्व छ । अर्थतन्त्र नै तिनैले धानेका छन् । ट्रम्पसँगै र पछि पनि ती त्यहीँ रहन्छन् । संविधान छ, कानुन छ, अदालत छन् । भारत होस् कि चीन, रसिया होस् कि प्यालेस्टाइन, विश्वभरका नागरिक छन् त्यहाँ । र दिनदिनै थपिँदै छन् । लाखौं नेपाली पनि छन् र राम्रै छन् ।
मान्छे नै नआऊन् भन्ने होइन । कागजी प्रक्रिया पूरा गरेर आउँदा योग्य मान्छे आउने सम्भावना हुन्छ । छानिएर आउँछन् । प्रहरी रिपोर्टदेखि क्रिमिनल ब्याकग्राउण्ड चेक भएर आउँछन् । हजारौं विद्यार्थी, अनुसन्धाता र वैज्ञानिक त उल्टो पैसा तिरेर ल्याएकै हुन्छ । हजारौं लगानीकर्ता सधैँ बस्ने गरी आएकै हुन्छन् । तिनबाट भिसाशुल्कदेखि मानवसंशाधन र आयकरसम्म अर्थतन्त्रमा योगदान हुन्छ । मुख्य कुरा तिनको अभिलेख हुन्छ । तर गैरकानूनी रूपले आउनेहरूको अभिलेख नहुने, तिनले कर र इन्स्युरेन्स नतिर्ने अनि ड्रग्सदेखि अन्य आतङ्ककारी या गैरकानुनी धन्दामा संलग्न हुने डर हुन्छ । तिनलाई कुनै पनि देशले पक्कै फिर्ता गर्न चाहन्छ ।

यस्तो निर्णयले पक्कै अमेरिकालाई फाइदा नै हुनेछ । तर दलालको चक्करमा परेर, ठूलो सपना बोकेर अनि जायजेथा बेचेर त्यहाँ पुगेका साझा नेपालीलाई आत्मसम्मान समेत ध्वस्त हुने गरी फर्काइँदा हाम्रो मन दुःख्नु पनि स्वाभाविक नै होला । दुःख त हाम्रो भाग्यमा छँदैछ । दिने नेता र देश मात्रै कुन भन्ने हो !

ताजा अपडेट