सुरेश आचार्य
नेपालमा माओवादीद्वारा दाङस्थित नेपाली सेनाको ब्यारेकमा आक्रमण गरिनुअघि नै शाही नेपाली सेना परिचालनका सन्दर्भमा राजा वीरेन्द्रको ‘नेपालीले नेपालीलाई मार्नु हुन्न’ भन्ने तर्कसँग लेखकको असहमति देखिन्छ । नेपालकै माओवादीले मारेका प्रहरी, कॉग्रेस–एमालेका कार्यकर्ताका साथै निहत्था स्थानीय सर्वसाधारण अरू कोही थिएनन्, नेपाली नै थिए । त्यसबेला नेपालीले नेपालीलाई मारिरहेका थिए भने त्यसलाई रोक्न शाही सेना परिचालित नभएकै कारणले गर्दा नेपालको भविष्य भयाभय conflict trap मा परेको हो भन्ने पुस्तकको सार रहेको छ ।
आज मेरा अग्रजमित्र तथा सुरक्षाविज्ञ एवं सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक रविराज थापा एउटा backpack बोकेर एक्कासी मेरो पाटनढोकास्थित घर उमालयमा आइपुग्नु भयो । उहॉसँग बेलाबेलामा विभिन्न सामाजिक कार्यक्रमहरूका सिलसिलामा यदाकदा भेट हुँदा देशविदेशका घटनाक्रमहरूका बारेमा विहंगम छलफल हुने गरेको थियो ! थापाको ज्ञानको क्षितिज व्यापक छ तर लेखन पनि यति नै सुन्दर र सुप्रवाहित होला भन्ने मैले अनुमान नै गरेको रहेनछु ।
आज भने उहॉले केही पनि बोल्दै नबोली bacpack बाट झिकेर मलाई एउटा किताब पढ्नलाई दिनुभयो– ‘अफगानिस्तानः साम्राज्यहरूको चिहान’ किताबको नाम थियो । पुस्तकको नामले नै मलाई औधी रोमान्चित बनायो ।
अनि, उहॉले भन्नुभयो– ‘विभिन्न महाशक्ति साम्राज्यहरूलाई पटक पटक युद्धभूमि छोडेर भाग्न विवश पार्ने भूपरिवेष्टित अफगानिस्तानसँग राजनीति, सुरक्षा, युद्ध, अर्थतन्त्र, सफ्ट पावर र स्वतन्त्रताको कसीमा नेपालसँग तुलना गरेको छु, ताकी आफ्नो देशलाई भारत, अमेरिका र चीनजस्ता शक्तिराष्ट्रको टकराव र conflict trap बाट जोगाउन सकिन्छ भन्ने बारे नेपाली जनताको चेतनचक्षु खोल्ने मैले प्रयास गरेको छु । हामीमा इमान्दारिता हुने हो भने गरिब देश अफगानिस्तानले झैं सफ्ट पावरले नै हामी कालजयी रहन सक्छौं ।’
जीवनको अधिकांश समय सुरक्षा सेवामा सक्रिय रहनुभएका थापाले अवकाशप्राप्त जीवनमा जहिल्यै सामाजिक र अध्यात्मिक कार्यक्रमहरूमा दौडधुप गरिरहँदा पनि कसरी समय निकालेर ३१८+४ पृष्ठको गहकिलो पुस्तक लेख्न भ्याउनु भयो, म छक्क परेको छु । सन्दर्भ सामग्री सहित तथ्य र तथ्यांकले भरपूर यो पुस्तकमा आन्तरिक कलह र बाह्य तनावबाट क्षतविक्षत भई दुखकष्ट र अशान्तको कगारमा पुगेका दर्जनौ देशहरूसँग नेपालको परिस्थिति तुलना गरिएको छ ।
सुरक्षा, युद्ध र अर्थ राजनीतिका विविध आयामहरूमा १८ औं शताब्दीदेखि विदेशी साम्राज्यहरूबाट भएका घातमा प्रतिघात तथा आक्रमणलाई प्रत्याक्रमण गरी सदा साम्राज्यहरूको चिहान खन्दैआएको अफगानिस्तनका बारे व्यापक अध्ययन, शोध र ब्यबहारिक अनुभवले खारिएको गहकिलो किताब मार्फत नेपालीको चेत जगाउने उहॉको प्रयास स्तुत्य छ ।
७० वर्षीय लेखक थापाले ‘अफगानिस्तान र युक्रेनको युद्धहरूबाट पाठ सिकेर नेपाल देशलाई बचाउने हो भने नेपालको ७० वर्ष बढीको प्रजातान्त्रिक अभ्यासको गम्भीरताका साथ पुनरावलोकन र लेखाजोखा गर्नुपर्ने’ सुझाव दिनुभएको छ । ६९९ रुपैयाँ मूल्यको यो पुस्तक नेपालका प्रत्येक पार्टीका नेता एवं राजनीतिज्ञ, नीति निर्माता, सुरक्षा र परराष्ट्र मामिला रणनीतिकार, कूटनीतिज्ञ, प्रशासक, देशभक्त अभियन्ता, पत्रकार र बिचार निर्माताहरूले पढ्नै पर्दछ– यदि देशलाई अयलाष्अित तचबउ बाट बाहिर निकाल्ने हो भने ।


