+

“नेपाल सरकार वा ढकाल सरकार?”

१३ फाल्गुन २०८१, मंगलवार ०१:०२
श्रवण शर्मा ।
दमन गरेरै भएपनि मुक्कुमलुङमा केवलकार बनाइ छाड्ने प्रधानमन्त्रि खड्गप्रसाद ओलिको बालहठ र त्यस केवलकार परियोजनाले प्रकृति र मानव संस्कृतिका अन्तरसम्वन्धमा पार्न सक्ने नकारात्मक प्रभाव महसुस गरेका स्थानिय जनता बिच तिव्र विवाद सतहमा आएको छ । नाफाको राजनिति र राजनितिक व्यवसायका लागि स्थानिय नागरिकहरुमाथि गरिएको बल प्रयोग र सत्ता संरक्षित हिंसाले सरकार र समुदायबिच तनाव बढाएको छ । बेलैमा संवाद मार्फत तनाव समाधान नगर्ने हो भने, तनाव द्वन्द्वमा परिवर्तन हुन्छ । जुनरुपमा ताप्लेजुङमा सरकार प्रस्तुत भइरहेको छ, सरकार स्वयम् जातिय द्वन्द्व र हिंसाका लागि उद्वेलित भइरहेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
कम्पनिको नाफाका लागि सरकार आफ्ना मतदातासँग लडिरहेको छ । त्यहाँका सांसद नागरिकका मुद्दामा नभएर केवलकार कम्पनिको एजेन्टका रुपमा बोलिरहेका छन् । सरकार र नागरिकहरुबिच संवाद सहजिकरण गर्नु पर्ने सांसद केवलकार कम्पनिको व्यवस्थापककोरुपमा देखापरेका छन् । नागरिक कल्याणका लागि सरकारलाइ सहि बाटोमा ल्याउने दायित्व पाएको सांसद संवादप्रति उदासिन र सत्ताबलप्रति प्रतिवद्ध देखिनुले आगामि दिन झन हिंसात्मक हुने त होइनन् भन्ने आशंका बढाएको छ ।
नेपालको हिंसात्मक द्वन्द र त्यसका दुष्परिणामहरुको अध्ययन अनुससन्धानमा लामो संलग्नताको अनुभवका आधारमा मुक्कुमलुङ र केवलकार विवादका संभावित परिदृष्यहरुलाइ यसरी संस्लेषण गर्न सकिन्छ ।
१) नेपाल सरकार र समुदायबिच पन्पिरहेको अनविस्वास तत्कालै जातिय तनाव वा द्वन्द्वमा विकसित हुन सक्छ ।
२) जातिको सांस्कृतिक विस्वासमाथिको सत्ता आक्रमणले उनिहरुमा एकातिर सांस्कृतिक अधिकार संरक्षणको चुनौति पैदा गर्नेछ भने अर्कातिर अस्तित्व रक्षाको प्रश्न गंभिर बन्दै जानेछ ।
३) अस्तित्वको प्रश्नले लिम्बु समुदाय आफ्नो रक्षाका लागि अन्य समुदायहरुसँग सहकार्य गर्ने र उनिहरुबाट नैतिक र भौतिक सहयोग प्राप्त गर्ने रणनितिक योजना लागू गर्न वाध्य हुँदै जानेछ ।
४) ताप्लेजुङको फुङ्लिङमा केन्द्रित द्वन्द्व विस्तारित गरिँदै पुरै ताप्लेजुङ र कोशि प्रदेशमा फैलने खतरा रहन्छ । यो अवस्थामा सत्ता वा सरकारले सम्वाद वा बहसको नैतिक बल गुमाइ सकेको हुने छ र सत्ता राजनितिक नभएर फौजिमा रुपान्तरण हुने छ ।
५) तनावले जातिबिचका अन्तरसम्वन्धहरु पुरै खलबल्याउने छ यस अवस्थामा सरकार कुनै खास जातिको मात्र हो भन्ने जनजातिय भाष्य बन्ने छ । यो भाष्य यति सिघ्र सम्प्रेषण हुने छ कि नेपाल सरकारले त्यसको आयाम र आयतन बुझ्नु पहिले नै द्वन्द्व देशव्यापि चर्कि सक्छ ।
६) कुनै पनि द्वन्द्वहरुको आयाम र आयतन साँघुरो भएकै अवस्थामा नेगोसिएसन सहज हुन्छ, फराकिलो र ठुलो नागरिक संख्या द्वन्द्वमा सामेल भएपछि नेगोसिएसन कठिन हुन जान्छ ।
७) संसारमै शान्तिपुर्ण द्वन्द्वहरुलाइ हिंसात्मक बनाउन सरकारको समेत भुमिका रहने गरेको पाइन्छ । के नेपाल सरकार एक व्यवसायिका लागि देशमा हिंसाको पृष्ठभुमि तयार पार्न चाहन्छ?
८) नेपालको राष्ट्रिय समाज हिंसात्मक द्वन्द्वोत्तर समाज हो । विगतको हिंसात्मक विद्रोहका दुष्परिणामहरुलाइ सरकारहरुले सम्वोधन गर्न सकिरहेका छैनन् । स्वत्व र न्यायका नागरिक मुद्दाहरु अझै उपेक्षित छन् । यस पृष्ठभुमिमा रहेको देशले मुक्कुमलुङ पक्षियहरुसँग संवादमा गरेको उपेक्षाको परिणतिले हिंसात्मक द्वन्द्वको वातावरण बनाइरहेको छ ।
९) मुक्कुमलुङमा सरकारको रवैयाले नेपाल सरकार, नागरिक सरकार नभएर कर्पोरेटहरुको एजेन्ट हुँदै गएको आरोप लाग्न थालेको छ । भोलि नागरिकहरुले नेपाल सरकार नभनेर चन्द्र ढकालको सरकार भन्न थाले भने सरकारको इज्जत के रहन्छ?
१०) नेपालको सत्ता केन्द्रित राजनितिले बहस, सम्वाद र नेगोसिएसनलाइ ठाडै इन्कार गरिरहेको देखिन्छ । संवादको इन्कारि नै द्वन्द्वको प्रारंभिक लक्षण हो ।
११) कुन उद्देश्य र आाकांक्षाले लिम्बुहरुले दावि गरेको सांस्कृतिक विस्वासमाथि हस्तक्षेप गरिएको हो, त्यसको दुष्परिणामहरु नेपालका लागि घातक हुनेछन् भन्ने बुझ्न सक्ने ज्ञानचक्षु सरकारमा देखिँदैन । सरकार नागरिक सँग सम्वाद गर्न चाहँदैन विवाद र बल प्रयोग गर्छ भने द्वन्द्व अवश्यंभावि छ ।
प्रधानमन्त्रिमा अलिकति पनि विवेक, ज्ञान र संवादकला छ भने मुक्कुमलुङको केवलबार परियोजना खारेज गरि ताप्लेजुङवासिसँग तत्काल सुमधुर संवाद थालिहाल्नु पर्छ ।
चितवनको ठोरिमा रामजानकि मन्दिर बनाउने कल्पना गर्ने प्रधानमन्त्रि ओलिले बुझ्नु पर्छ, उहाँलाइ रामजानकि जति प्यारो लाग्छ, लिम्बुहरुलाइ मुक्कुमलुड पनि त्यति नै प्यारो मान्ने अधिकार सुरक्षित छ । प्राचीन मुन्धुमि संस्कृति र त्यसका आधारभुत भौतिक प्रस्थापनाप्रति मुन्धुमि अपनत्व र मनोविज्ञानलाइ जिस्क्याउन खोज्नु यो राज्य देश र नागरिक कसैको पनि हितमा छैन ।
लिम्बुभित्रै सत्ताका एजेण्ट तयार पार्ने र तिनिहरुलाइ फ्रन्ट रोमा देखाउने सरकाररि प्रयत्न झन घातक हुने छ ।
मुक्कुमलुङमा सरकारको यहि रबैया जारि रहे अन्य प्रस्तावित केवलकारहरु पनि विवादमा आउने छन् । त्यसैपनि केवलकारहरुले गरीवहरुको रोजिरोटि खोसेर धनाढ्यहरु पोसिएका छन् । जनताले यी कुरा बुझेका छैनन् भन्ने ठान्नु आत्मरति मात्र हो । साभारः शर्माको फेसवुकबाट