+

‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’

२७ बैशाख २०८२, शनिबार ००:३३

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे । सो क्रममा उनले पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

यस्तै राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति धन्यवाद व्यक्त गर्दै द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता लिएर लैनचौर फर्किए ।

सो लगत्तै शुक्रवार  साँझ उनी लैनचौरमै मूलधारका सम्पादकहरूसँग छलफलमा जुटे । सो क्रममा उनले भारत–पाकिस्तानबीचको युद्धका सवालमा केन्द्रित रहेर ब्रिफिङ गरे । सम्पादकहरूसँग उनले जोड दिएर भने, ‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो ।’

उनले मित्र राष्ट्रहरू विशेषगरी नेपाल, भारतसँगै उभिएर आतंकवाद विरुद्ध एकजुट हुने विश्वास समेत व्यक्त गरे । उनले भारत पाकिस्तानबीचको तनावले नेपालमा पेट्रोललगायतका कुनै पनि सामानहरूको आयातमा असर नपुग्ने स्पष्ट  पार्दै सीमा क्षेत्रमा भारतीय पक्षबाट पनि कडाइ गरिएको बताए । यसका लागि दुई देशका सुरक्षा निकायबिच समन्वय हुने उनको भनाइ छ ।

उनले आतंकवाद भारतका लागि चिन्ताको विषय भएको बताउँदै २२ अप्रिलमा भएको पहलगाम आक्रमणमा एक जना नेपाली नागरिकको समेत दुःखद निधन भएको बताए । उनले भने, ‘कश्मीर सामान्य अवस्थामा फर्किरहेको थियो र आर्थिक गतिविधिहरू अघि बढिरहेको थियो। यो आतङ्कवादी आक्रमण त्यही प्रक्रिया अवरोध गर्नको लागि गरिएको हो’, उनले भने ।

पछिल्लो आर्थिक वर्ष कश्मीरमा झन्डै २.५ करोड आन्तरिक तथा बाह्य पर्यटकहरू पुगेको बताउँदै यसले नै कश्मीरमा आर्थिक गतिविधिहरू कसरी अघि बढेका रहेछन् भन्ने पुष्टि हुने उनको भनाइ थियो ।

उनले पहलगामीमा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणमा धार्मिक पहिचानका आधारमा मानिसहरूलाई छानेर गोली हानी मारिएको बताए । तर भारतीय सरकार र जनताले धर्मका आधारमा फूट ल्याउने त्यो प्रयासलाई पूर्ण रूपमा अस्वीकार गरेको उनले बताए ।

भारतले ६ मे राति र ७ मे बिहान ९ वटा आतङ्कवादी लक्ष्यहरूमा सटीक हमला गरेको उनले बताए । भारतका अनुसार पाकिस्तान अधिनस्त कश्मीर र पाकिस्तानमै अवस्थित २१ वटा शिविरहरू पहिचान गरिएकोमा ९ वटा टार्गेट गरेर कारबाही गरिएको थियो ।

‘हाम्रो उद्देश्य मात्र आतङ्कवादी लक्ष्य र तिनको संरचनामाथि प्रहार गर्नु थियो। हामीले पाकिस्तानको सैन्य वा नागरिक लक्ष्यहरूमा हमला गरेका छैनौँ। हाम्रो आकाश सीमा पनि नाघिएको थिएन’, भारतीय राजदूतको भनाइ छ ।

तर दुर्भाग्यवश ७ र ८ मेका रात पाकिस्तानले पुनः व्यापक सैन्य गतिविधि अगाडि बढाएको राजदूतले बताए ।  तर भारतीय सेनाले उपयुक्त जवाफ दिएको उनको भनाइ छ ।

‘हाम्रो चाहना कुनै हालतमा तनाव बढाउनु होइन’, राजदूत श्रीवास्तवले भने, ‘पाकिस्तानले यदि पुनः  हमला गर्ने हो भने हामी आत्मरक्षाका लागि उपयुक्त कारबाही गर्नेछौँ।’

नेपालको समर्थनप्रति आभारी

उनले आतंकवादविरुद्ध नेपालले समर्थन गरेको भन्दै भारत आभारी रहेको बताए । ‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’, उनले दोहोर्याए, ‘हामीले यो कुरा नेपाली पक्षलाई पनि साझा गरेका छौँ ।’
पाकिस्तानले दशकौँदेखि आतंकवादलाई राज्यको नीतिको रूपमा प्रयोग गर्दै आएको उनले गम्भीर आरोप लगाए । ‘जबसम्म यो परिवर्तन हुँदैन, तबसम्म हामी सबै यसबाट पीडित भइरहनेछौँ’, उनले भने ।
यसलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले एकजुट भएर दबाब दिनुपर्ने उनको भनाइ छ ।  उनले पाकिस्तानले झूटो सूचना फैलाउने काम गरिरहेको पनि उनले बताए । ‘पाकिस्तानले ५ भारतीय विमान खसालेको दाबी गरेको थियो ।  तर प्रमाण सोध्दा सामाजिक सञ्जाल देखाउने मात्रै गरेको छ’, उनले भने ।

यस्तै पाकिस्तानका अधिकारीहरूले देशमा कुनै आतङ्कवादी शिविर नभएको दाबी गरेपनि सोही देशका रक्षामन्त्रीले ‘पश्चिमका देशहरूको लागि फोहोर काम हामीले गरेका छौँ’ भनेर स्वीकार गरेको तर्क प्रस्तुत गरे ।

तर, अहिले पाकिस्तानले बारम्बार ढोंग गरेर प्रमाण लुकाउने काम गरेको उनले आरोप लगाए ।  उनले अन्तिममा भने, ‘हाम्रो आशा छ कि हाम्रो मित्र राष्ट्रहरू विशेषगरी नेपाल, हामीसँगै उभिएर आतंकवाद विरुद्ध एकजुट हुनेछ।पाकिस्तानलाई अझै पनि यसबाट बाहिर निस्कन सक्ने मौका छ, तर यदि तिनीहरूले त्यसो गरेनन् भने हामी आफ्नो रक्षा गर्न तयार छौँ।’