+

फरक राजनीतिक आस्थाकै कारण सुजन खत्री पलायन, सत्ताको बलमा दोषीलाई संरक्षण

२६ जेष्ठ २०८२, आईतवार १६:२५

खोटाँग । सिद्धान्ततः नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रिक शासन व्यवस्था भएको देश भए पनि बिपरित राजनीतिक आस्था राख्नेमाथि प्रतिशोध साँध्ने र फरक विचारमाथि दमन गर्ने मामलामा निकै अगाडि देखिन थालेको छ । मुलतः गणतन्त्रवादी शासक दल र तिनका कार्यकत्र्ताहरुले गणतन्त्र विरोधी कित्ताका नागरिकमाथि अमानवीय र आपराधिक कारवाहीको श्रृखला बढाउदै लान थालेका छन । मोफसलका जिल्लाहरुमा यस्ता घटना बढी देखिन थालेका छन । यसको पछिल्लो उदाहरण हुन, खोटांग जिल्लास्थित दिप्रुग चुईचुम्चा २ डाँडाँगाउँ निवासी सुजन खत्री ।

सन् १९९९ डिसेम्वर १४ मा रणबहादुर खत्री र देवकी खत्री दम्पतिका कोखबाट जन्मेका सुजन खत्री सुरुदेखि नै २०५२ देखि २०६२ सम्म नेपालमा संचालित शसस्त्र क्रान्तिको नेतृत्व गर्ने दल नेकपा माओवादीको युवा दस्ता योंग कम्युनिष्ट लिग अर्थात वाईसियलका कार्यकत्र्ता थिए । तर सुजनका पिता रणबहादुर भने सुरुदेखि नै राजासहितको प्रजातन्त्रका पक्षमा उभिएका थिए । रणबहादुर राप्रपाका स्थानीय नेता पनि थिए । एकै घरमा बुवा राजावादी र छोरा गणतन्त्रवादी दल समर्थक थिए । युवा हुनुका नाताले छोरा सुजन वाईसिएलमा सक्रिय अगुवा कार्यकत्र्ता थिए ।

सन् २०११ मा १३ वर्षकै वाल उमेरमा सुजन वाईसियलमा आवद्ध भएका थिए । उनले वाईसियलका सकारात्मक कामको प्रशंसा र प्रचार प्रसार समेत गर्ने गरेका थिए । वाईसियलले दिएको निर्देशन अनुसार सुजनले राजनीतिक क्रियाकलापहरु लामै समय अघि बढाए । तर, कुरामा क्रान्तिकारी र काम व्यवहारमा ठीक उल्टो गर्ने वाईसियलका हर्कतहरुले गर्दा सुजन क्रमशः माओवादीको युवा संगठन वाईसियलप्रति असंतुष्ट हुदैं गए । सुजनले ५ जना युवाको समुह बनाएर अन्ततः वाईसियल विरुद्ध नै विद्रोह गरे । २०६९ साल भदौं अर्थात सेप्टेम्वर २०१२ मा सुजन सहितको ५ सदस्यीय टोलीले माओवादीको युवा मोर्चा वाईसियलबाट राजीनामा दिई अन्ततः आफ्नै पिताको राजनीतिक लाईन राजावादी कित्तामा समाहित भए ।

बुवा मार्फत सुजन राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा समाहित भए । वाईसियलको ज्यादती सहेर नबसी बिद्रोह गर्नु र पिता रणबहादुरले बोकेको राजनीतिक आस्था अनुसार गणतन्त्र विरोधी अर्थात राजावदी दल राप्रपा समर्थक बन्नु नै सुजनको लागि प्रतिपादक बन्यो । सुजन वाईसियलको लागि कट्टर दुश्मन साबित भए । सोही वर्ष अर्थात २०७९, तदनुरुप नोभेम्वर २०, २०२२ मा सम्पन्न आम चुनावमा सुजनले राप्रपालाई भोट मात्रै दिएन्न, मतदाताहरुलाई राप्रपामा मत दिलाउन ज्यानै दिएर लागे ।

राप्रपाको पक्षमा राजनीतिक लबिंग गर्दै अघि बढ्न थालेपछि सुजन खत्रीका बर्वादीका दिन सुरु भए । चुनाव ताका २०७९ कात्तिक अर्थात नोभेम्वर २० मा सुजनको ५ सदस्यीय टोलीममाथि वाईसियलका दर्जन बढी कार्यकत्र्ताको हुलले साँघातिक हमला नै गरे । वाईसियलका कार्यकत्र्ताले मार्ने नियतले गरेको आक्रमणमा परी सुजन र उनका नजिकका साथी ध्रुव राईलाई मरणासन्न हुने गरी पिटे । सुजनको टोलीका ३ साथी भागेर ज्यान बचाउन सफल भए पनि सुजन खत्री र ध्रुव राई भने वाईसियल कार्यकत्र्ताको साँघातिक आक्रमणमा परी बेहोस हुने गरी घाईते भए ।

उक्त आक्रमणपछि सुजन शारीरिक रुपमा कमजोर मानसिक रुपमा निकै बिक्षिप्त हुन पुगे । उनका साथी ध्रुव राईको त्यही आक्रमणका कारण मृत्यु नै भएको घटनाले उनको सातो मात्र लिएन, जीवनको सबैभन्दा अध्यारो कालखण्ड सुरु भयो । वाईसियलका कार्यकत्र्ताको आक्रमणपछि स्थानीयको सहयोगले सुजन अस्पतालको एकहप्ता भन्दा लामो उपचारपछि घर फर्कन सकेको भए पनि उनका साथी ध्रुवलाई भने अस्पतालले मृत घोषित गरेको थियो ।

तर, यतिकैमा सुजनको दशा सकिएन बरु नयाँ नयाँ दशा थपिदै गयो । साथीको मृत्यु भयो वाईसियलका कार्यकत्र्ताको बर्बर अक्रमण र यातनाबाट अनि, स्थानीय प्रहरी प्रसासनले त्यसको दोष थोपर्यो उल्टै सुजन खत्रीमाथि । वाईसियलको माउ पार्टी नेकपा माओवादी प्रायः सत्तारुढ दल भएको कारण साथी हत्याको आरोपमा उल्टै सुजन खत्रीमाथि हत्याको मुद्धा थोपरियो । जो होचो उसैका मुखमा घोचो भने झैं गरी राप्रपा समर्थक अर्थात वाईसियल विरोधी भएकै कारण सुजन प्रहरी प्रसासनको आँखामा हत्याराका रुपमा अभियुक्त बनाइए ।

जब प्रहरीले सुजनलाई सत्ताको बलमा अमानवीय र गैरकानुनी रुपमा हत्या अभियोगमा पक्राउ गरी मुद्धा चलाउने प्रक्रिया अघि बढायो, त्यसपछि सुजन खत्री भूमिगत नै हुनुपर्ने वाध्यकारी अवस्था खडा भयो । झुठो मुद्धामा सुजन खत्रीले जेलको बास बस्नुपर्ने अवस्था आएपछि उनले भूमिगत रुपमा बस्नुको बिकल्प भएन । राप्रपा कमजोर विपक्षी दल भएका कारण उनले पार्टीबाट पनि झुठो मुद्धाको प्रतिरक्षा गर्न आवश्यक सहयोग पाएन्न । सत्ताको बलमिच्याईले उनी प्रहरीको सर्वाधिक खोजीको सूचिमा परे । खुल्ला समाजमा उनले देशभित्र भूमिगत भएर लामो समय बस्न सक्ने अवस्था रहेन ।

धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्ने उखानको नियति सुजनले भोग्नु पर्यो । फलतः सुजन खत्री राज्यले हत्यारा बनाउने असफल प्रयाश गरेपछि देश छाडेर बिदेशिन बाध्य भए । यो घटनाले नेपालको प्रजातन्त्र, कानुनी राज र मानवाधिकार हननको एउटा दुखान्त कथाको प्रतिनिधित्व गर्छ । अहिले सुजन खत्री नखाएको विष पनि लागेको जस्तै अवस्थामा परदेशमा भासिएका छन । देशमा फरक राजनीतिक आस्थाका बन्दीमागि राज्य निर्मम र निर्दयी भएकोले सुजन खत्रीले देश छाडनु नै पर्यो ।

अब निर्दोषता प्रमाणित गर्ने मौका समेत पाएका छैन्न । चोरलाई चौतारो र साधुलाई सुली भने जस्तै हत्यारालाई सत्ताको आर्शिवाद र निर्दोलाई हत्याको अभियोगले सुजन खत्री मात्रै हैन, धेरै अन्य युवाहरुलाई पनि प्रताडित गरिहेको छ । (सुरजको सुरक्षा संवेदनशीलताका कारण फोटो प्रकाशित गरिएको छैन ।)