टिप्पणी । उज्यालो नेपाल ।
तिथि मिति त फेरि पनि उही दोहोरिएको हो, असार २३ । नेपाली पात्रो अनुसार जसै बर्षेनी आउँछ, असार २३ को दिनाँक, देशले मनाउँछ एउटा जन्मोत्सव । राजा ज्ञानेन्द्रको जन्मोत्सव । भन्नेहरु भनिरहेका छन, भनिरहलान पनि, गणतन्त्र नेपालमा के को राजा ? को राजा ? यस्ता प्रश्नहरुको समुल जवाफ जनताले गएको साल फागुन २५ गते नै सडकमा उत्रेरै दिईसकेका हुनाले स्पष्ट छ, राजा ज्ञानेन्द्रकै जन्मोत्सव हो असार २३ गते ।
यसर्थ, प्रथमतः राजा ज्ञानेन्द्रलाई ७९ औं जन्मोत्सवको भव्य, दिव्य, अनमोल शुभकामना । शुभकामना फगत एउटा औपचारिकता मात्रै हैन, ईतिहासको प्रतिक, वर्तमानको यथार्थ र भविष्यप्रतिको भरोशाको पनि शुभकामना हो ।
२०६५ जेठ १५ यताका दिनमा ज्ञानेन्द्र शाह श्रीपेच बिनाका राजा हुन । संविधान र व्यवस्थाले नचिनेका जनजनका मनमा बसेका नागरिक राजा हुन । नागरिकको ठूलो हिस्साले मान, सम्मान गरेका, अविभावकका रुपमा स्वीकार गरेका, दलभन्दा माथि रहेका देशवासीका ढुकढुकीका धरोहर हुन ।
त्यसैले नागरिक राजालाई शव्द शुभकामना दिईरहदा, राजा फर्काउने अभियानका जग, जमिनका आलोकमा केही टिप्पणी गर्नु अन्यथा हुनेछैन ।
१. महाराज, प्रथमतः राजा श्रीपेचसहितको बन्ने की जनजनको मनको राजा बन्ने ? यो महाराजकै छनौटको विषय हो । जनजनको मनको महाराजा रहिरहेको तथ्य त फागुन २५ मै प्रमाणित भएको हो । अब त्यसलाई बैधानिकता दिन पो कसरत गर्ने हो नी, राजनीतिक रुपमा, संवैधानिक रुपमा ।
त्यसैले, जन जनको मनका राजाकै रुपमा यहाँले अरु धेरै जन्मोत्सवहरु मनाईरहन पाएमा त्यो नै यहाँको जीवनको अमुल्य सफलता हुनेछ । जनताको विश्वास र भरोसा भन्दा ठूलो उर्जा र शक्ति एउटा नागरिक राजालाई अरु के नै चाहिएला र ? अब समय आएकै हो र श्रीपेचसहितको राजा बन्ने हो भने, त्यही अनुसार फागुन २५ को जनउभारलाई, जनताको भरोसालाई बैधानिकता दिनगरी महारज स्वयंबाट कदमहरु ऋघि बढाउनु नै यो जन्मोत्सवको अवसर हो ।
२. महाराज, ऋहिले देशैभर राजा फर्काउने चर्चा कोठे, चोठे, रेष्टुँरेतहसम्मै छ । यसको रिर्हशल पनि गएको साल चैत्र १५ गते काठमाण्डौंको तीनकुनेमा भयो । जेठ १५ गतेदेखि जेठ २० गतेसम्म पनि भयो । तीनकुने रिर्हसल ध्वंसात्मक थियो, जेठ १५ देखिको ६ दिने प्रदर्शन सत्ताको भत्ता पचाउन गरिएको कलाबिहिन नाटक थियो ।
त्यसैले, महाराज, जीवनको यो मोडमा यहाँले समर्थकहरुबाट जोगिने शाहस गरिबक्स्योस । महाराजलाई भ्रम नरहोस, राप्रपा नामका कुनै पनि राजनीतिक सटरहरुले मौसुफको शीरमा श्रीपेच पहिरयाउने छैन्न । राजा वा राजसंस्था पुर्नस्थापना भए लगत्तै ती दलका टुकडीहरुको औचित्य समाप्त हुन्छ । आफ्नै आयु सकिने दुष्कर्म ती दलले किन गरुन र महारज ? जुनसुकै नाम, रुप र साईजका भए पनि राप्रपाहरु महाराजलाई पोष्टर र प्ले कार्ड बनाएर आफ्नो राजनीतिक दुनो सोझ्याउने राजनीतिक ठेकेदार हुन, तिनको भरोशामा परेर परम्परागत गद्धीमा फर्कने सोच अझैं पनि मौसुफका दिल दिमागमा बाँकी छ भने त्यसलाई सिफ्ट डिलिट गरिबक्स्योस ।
३. महाराजको राजनीतिक आड भरोसा र शक्ति यदि कुनै छन भने ती सबै यही व्यवस्थाभित्र छन । यही संविधानभित्र विश्वास गर्नेहरु छन । यिनै राजनीतिक दलहरुभित्र छन । महाराजले तिनको पहिचान गर्नुपर्यो, तिनसंग संवाद, सहकार्य र एकताका लागि अग्रसर हुनु पर्यो । चारतारे काँग्रेस, हसियाँ हथौडावाल वामहरु र तराई मधेश क्षेत्रको नाममा राजनीतिक रोटी सेक्नेहरु नै महाराजको भावि राजगद्धीका सारथि हुन । तिनले कतिले बाध्यताले, कतिले पछुतो भावले, कतिले नाकमा खोल हाल्न अप्ठयारो परेर महाराजसंग हात मिलाउने आँट गरेका छैन्न । अब तिनलाई हात लिने गरी मौसुफले यो जन्मोत्सवलाई ऐतिहासिक बनाउनु सर्वोत्तम विकल्प हो ।
४.महाराजले पछिल्लो शुभकामना सन्देशमा मुलुकका लागि थप योगदान गर्न तत्पर रहेको हुकुम भएको थियो, अब दलहरुसंग एकताको आव्हान गरेर, आफ्नो राजधर्म निर्वाह गरिबक्सने बेला भएको छ । अब मौसुफले गर्नुपर्ने योगदान, त्याग भनेकै मौजुदा दलहरुसंग सहकार्यका लागि अग्रसरता लिनु हो ।
मौसुफले खोजेको, रोजेको संवैधानिक राजसंस्था र पृथ्वीपथका लागि दलहरुभित्रैका देशभक्तहरु, गैरभ्रष्टहरु, जनपक्षियहरुलाई महाराजले विश्वासमा लिन सकिबक्सनै पर्छ । दलका शीर्ष नेताहरुलाई निर्मल निवासमा निम्तो दिएर हुन्छ की, आफू उनीहरुको अतिथि बनेर हुन्छ की वा अन्य कुनै उपाय रचेर हुन्छ,राजनीतिक संवादमा मौसुफ आफैं अग्रसर होईबक्सनुको विकल्प छैन ।
५. पात्र बिर्सिदिईबक्स्योस महाराज । अहिले समर्थकहरुबाट जोगिने र विरोधीहरुबाट राजगद्धीमा फर्किने माहौल छ । यसो भन्दा समर्थकहरुको चिक्त दुखेमा माफी होस । जयजयकार मात्र गर्ने र छिटो धेरै आश राख्ने अनि चाडै निराश हुने जत्था मात्रैले अहिले महाराजलाई अप्ठयारो पारेको तथ्य ओपन सेक्रेट छ । राजालाई प्ले कार्ड बनाएर शासकीय लाभ लिन लामवद्धहरुको जत्थाको भरोशामा पर्नु नेपालबाट राजसंस्थाको पुर्नस्थापनामा पूर्णबिराम लगाउने भुल हुनेछ । राजावादी आन्दोलनको मैदानबाट राजसंस्था पुर्नस्थापनाको प्रयाश संभव छैन भन्ने त जेठ १५ पछि वर्षायाम सुरु भएको उद्घोषसंगै प्रमाणित भएको हो ।
६. अन्यथा नलिईबक्सेला महाराज, समर्थक वा राजावादी ठेकेदारहरु एकाध बाहेक सबका सब अवसरवादी, असक्षम र स्वार्थी प्रमाणित भैसकेका छन । जनता अघि अघि लाग्दा पनि तिनले जनताको मनको राजालाई गद्धीमा फर्काउन सकेन्न, अब त झनै सक्दैन्न । जयजयकार गर्न अब्बल र शान्तिपूर्ण आन्दोलनका नाममा सिंहदरवारमा प्रहरी भ्यान कुरेर पुलिस थाना जान सेटिंगमा जाने र एकाध घण्टामै छुट्ने नाटक गर्नेहरुबाट आन्दोलनको आश गर्नु नै भुल हुनेछ ।
राजावादी आन्दोलनका नाममा राजसंस्थालाई नै बिवादमा पार्ने वा प्रश्न गर्ने आधार दिएर बिगतमा स्वघोषित राजावादीहरुबाट निकै भुलहरु भएका छन । चाहे डेटएक्स्पाएर नवराज सुवेदीहरु हुन वा, कान्छा राजावादी दुर्गा प्रसाईहरु यिनको आन्दोलनको खुट्टी जनताले देखिसके । जनताले अब आन्दोलन हैन, संवाद र सहमतिमा निकास पाउनु पर्छ, त्यसको मेसो सरकारले नै मिलाईबक्सनुपर्छ ।
७. खासमा राजावादी भनिएका दल त राजालाई देखाएर सत्ताको चास्नीमा भूल्ने राजनीतिक ठग हुन । तिनको बेईमानीलाई जनताले अब माफ गर्ने छैन्न । यसमा सरकार ढुक्क भए हुन्छ । आन्दोलनबाट राजा ल्याउँछौं भन्ने आँट दुर्गा प्रसाई बाहेक कुनै पनि राजावादी दल, समर्थक र समुहसंग छैन महाराज । छ भनेर कसैले राजपरिवारलाई वाधा गरेको छ भने त्यो झुट हो । त्यस्तो भुलभुलैयामा अबको राजसंस्था पर्नु हुदैन । राजाको खास पार्टी हुदैन, यो नेपाली राजसंस्थाको ईतिहासको पहिचान हो । त्यसैले महाराजले सबै दल, सबै नेतालाई राजधर्म अनुसार संवादमा ल्याउनेृ अग्रसरतासहित ७९ औं जन्मदिवसलाई सार्थक र ऐतिहासिक बनाईबक्स्योस ।.
८. फेरि कोही किन अब आन्दोलनमा जावस र सरकार ? दुर्गा प्रसाई भाग २ बन्नलाई ? शायद यो मुर्खता कसैले दोहोर्याउदैन्न । जहाँसम्म दुर्गा प्रसाईंको कुरा छ, उनी त आफ्नै बलबुतामा निस्कने नै छन, महाराजको सारथि हुन चुक्ने छैन्न, ती मात्र एक पात्र हुन, जो धेर बोल्छन मात्र हैन, सोचेको र ताकेको काम वारपार गर्छन । जता लाग्छन, ज्यानै दिएर लाग्छन । तर, विडम्वना महाराज, सबै हिरो हुन आन्दोलनमा गए । सरकारले थुन्न थालेपछि सबै सबै आत्मासमर्पण गरेर फिरे, दुर्गा मात्रै न रहे थुनामा । अब शायद अरु फेरि दुर्गा बन्न चाहदैन्न ।
९. पूर्व राष्ट्रपति, उपराष्ट्रपति सर्वमान्य हुन छोडेर दलकै मान्य हुन एमाले र माओवादीमा फिर्किए भने तिनै हुन राजा ल्याउन, गणतन्त्रको विकल्प खोज्न जनमत तयार गर्ने पात्र र प्रवृति । अख्तियारले भ्रष्टाचारको अभियुक्त बनाउँदा पनि ओहोदामा टासिने माधव कुमार नेपालहरु नै हुन, यो व्यवस्थाको विकृत रुपका पराकाष्ठ प्रवृत्ति । गफैले देश हाक्छु भन्ने भ्रमका पर्याय केप ीओलीहरुको कुशासनको ग्राफ जुन गति र मतिले उकालो लागिरहेको छ, यही रामवाण हो, राजा र राजसंस्थाको पुर्नस्थापनाको औचित्य र आवश्यक्ता प्रमाणित गर्ने जग र जमिन ।
त्यसैले, महाराजले ७९ औं जन्म दिवसलाई सफल पार्न लोकसम्मतिका आधारमा चल्ने शाहवंशिय राजसंस्थाको परम्परा अनुसार दलहरुकै सच्चा देशभक्त, जनप्रिय नेता र नेतृत्वलाई हात लिन, अघि सार्न सकिबक्स्योस । यही यहाँलाई मुरी मुरी शुभकामना । आफूलाई मात्रै २४ क्यारेटको राजावादी दाबी गर्नेहरुलाई यी पंक्तिहरुबाट चोट पुग्न गएमा त्यो संयोग मात्र हुनेछ । भुलचुक माफी होस । राजा, राजसंस्थाको सदा जय होस, जय जय भैरहोस ।


