+

राजालाई पार्टी खोल भन्ने ओली एमालेमा किन रोक्दैछन विद्या भण्डारीलाई?

८ श्रावण २०८२, बुधबार ०८:५७

टिप्पणी । उज्यालो नेपाल ।
नेकपा एमालेमा विद्या भण्डारीलाई बन्देज किन ?
किन की,
१. केपी ओली एमालेमा तेस्रो पट्क अध्यक्ष हुन चाहन्छन । त्यसका लागि उनले ७० वर्षे उम्र हद र २ वर्षे कार्यकालको प्रावधान हटाईसके एमालेको विधानबाट । यसरी आफूलाई सजिलो वैधानिक बाटो बनाएको बेला तगारो बन्न टुप्लुक्क एमालेमा फर्केकी विद्या भण्डारीलाई रोक्न चहान्छन, केपी ओली । त्यही भएर केन्द्रीय कमिटी मार्फत नै उनले पूर्व राष्ट्रपतिलाई एमालेमा नो ईन्ट्रीको ईन्ट्रेष्टिंग निर्णय गराए । एमालेको केन्द्रीय कमिटीले ओलीको बोली बोल्यो, एमालेको आत्मा बोलेन । मौजुदा एमाले खासमा, ओलीको झोले हो । यस पट्क सिंगै केन्द्रीय कमिटीले जसो जसो ओली उसै उसै स्वाहा गर्यो ।

२. एमालेमा आफ्नो विकल्प अरुलाई नदेख्ने मात्रै हैन, अरु सबैलाई भुराभुरी देख्ने ओलीको बानी छ भनेर आफूलाई माझ किराँतकी छोरीको उपमा दिदै विद्या भण्डारीले प्रष्ट पारिसकेकी हुन । तर, विद्या भण्डारी भने ती भुराकेटाकेटीको अपवाद हुन । ओलीको विकल्प विद्या नै हुन । जब आफ्नो विकल्पका रुपमा भण्डारी ओलीलाई भारी परिन भने उनले सक्ने तारबार लाउनै परी गो । त्यसैले ओलीले पूर्व राष्ट्रपति, सेनाको परामाधिपति, संविधानकी संरक्षक, राष्ट्रपति त राष्ट्रकै सम्पति जस्ता शव्द उपमाहरु दिएर विद्यालाई बिचैमा तगरो हालेका हुन । विद्यालाई बिचैमा रोके एमालेमा आफ्नो एकल साम्राज्यको दीर्घायु देख्ने ओली दृष्टि एमालेभित्रको ओलीगार्कीको पराकाष्ठ हो । घनश्याम भुसालकै शव्दमा ओली आजीवन अध्यक्ष हुने दौडमा बाटो छेक्ने जो कोहीलाई कत्लेआम गर्न पछि पदैन्न । अहिले विद्या विरुद्धको बन्देज पनि त्यसैको एक रुप हो ।

३. ओलीले हिजो माधव नेपाल, झलनाथ खनालहरुदेखि आफू विरोधी सबैलाईठाउँको ठाँउ ठेगान लगाउदैआएका हुन । हिजो नेकपा देखि नेकपा एमालेसम्म जोगाउने हैन, फुटाउने काम र विरोधीहरुलाई या त नष्काशित गर्ने वा छोडेर जाने परिस्थितिका निर्देशक, परिकल्पनाकार, डिजाईनर वा निर्णायक ओली नै थिए । ती सब काम उनले एमालमा आफूलाई निर्विकल्प बनाउन जानीबुझीकनै गरेथे ।
चितवन महाधिवशेनमा चुनौति दिने डा. भीम रावललाई नियतवश नै घोक्रेठयाक लगाएथे । अहिले विद्यालाई बिनास गर्नु नै ओलीपथ, ओली कर्म र ओली धर्म हो । किन भने ओली एमालेलाई आफ्नो नीजि विर्ता संझन्छन । आफ्नो विर्तामाथि धाबा बोल्ने विद्यालाई रोक्न अन्तिम प्रयाश गरेर ओलीले आफ्नो असली रुप दुनियाँलाई देखाएका हुन । त्यसमा एमालेको अहिलेको पार्टी कमिटी किनाराको साक्षी बसेकोले उनलाई ओलीवाद स्वीकृत गराउन सहज भैदियो ।

४.विद्याभण्डारी पूर्व राष्ट्रपति रहेकोमा दुईमत छैन । तर उनी जननेता मदन भण्डारीपत्नी रहेको पनि त अकाट्य सत्य हो नी । र, एमाले मदनकै विचार जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर यहाँसम्म आएको वाम दल हो । जब, एमाले जबज बिना प्राणहिन हुन्छ भने त्यसको शीर हुने हैसियत र र हक ओलीको हुन्छ की मदन पत्नी विद्याको ? यो अहम सवालमा एमाले केन्द्रीय सदस्यहरुले ओलीको पक्षमा उभिएर ओलीको नुनको सोझो गरेका मात्र हुन । एमालेको भलो, जबजको अनुशरण र जननेताको सम्मान हैन, अपमान गरेका हुन । एमाले नेताका मुखबन्दी ओलीप्रतिको विश्वास हैन, कारवाही हुने त्रासको परिणाम मात्र हो ।

५. जगजाहेर छ की, नेपालको गणतन्त्र दल नियन्त्रित ,नेतामुखी गणतन्त्र हो । राष्ट्रपति पनि दलकै आधारमा स्थापित भएको संस्था हो । यो संस्थामा पुगेको मानिस पुनः दलमा फर्किनु नेपालको दलीय गणतन्त्रको स्वभाविक चरित्र हो । जब दलकै मान्छे राष्ट्रपति हुने हो भने राष्ट्रपतिको काम सकेपछि त्यो मान्छे किन दलको नेता हुन नसक्ने ? बकाईदा सक्ने हो । विद्याले राष्ट्रपतिको जिम्मेवारी पार्टीको आदेशानुसार पुरा गरिन । अब दलको नेता, अध्यक्ष हुन खोजिन । स्वभाविक हो । दलले जन्माउने राष्ट्रपति दलमै फर्किनु र नेता बन्न कम्तिमा नेपालको दल नियन्त्रित गणतन्त्रमा सही हो नी हैन र ?

६. काम विशेषले राष्ट्रपतिमा पठाएको मान्छेलाई पार्टीमा पुनः फर्किन नदिनु भन्या, परदेशीएका सन्ततीलाई पुनः घर फर्किन नदिनु जस्तै हो । ओलीले विद्यालाई त्यसरी तगारो हाल्न कसरी पाउँछन ? बाहुबलको आधारमा ? त्यो शायद माझकिराँतकी छोरीलाई मन्जुर छैन । त्यसैले उनले खुट्टा कमाउँदिन भनिसकेकी छिन । अघि बढिसकेको घोषणा गरिसकेकी छिन ।

७. सेनाकी परमाधिपति वा संविधानकी संरक्षकका रुपमा पूर्व राष्ट्रपतिले पार्टी राजनीति गर्नु हुदैन भन्ने ओली पक्षिय तर्क पनि केवल विद्यालाई रोक्ने जाली कुरा मात्र हुन । किन की सभामुख सुवास नेम्वांगलाई ओलीले नै पुनः पार्टीमा फर्काएर काम लगाएकै हुन । प्रहरी प्रमुखहरुलाई दलहरुले, एमालेले सदस्य, नेता बनाउदै आको छ । धन्न कुनै पूर्व प्रधान सेनापतिहरु मात्र पार्टीमा लागेका छैन्न । संविधानमा पूर्व राष्ट्रपति पार्टीमा फर्किन नमिल्ने कुरा कही कतै लेखिएको छैन । सेनाको परमाधिपति हुने वहालवाला राष्ट्रपति मात्रै हो । पूर्व त केवल एक नागरिक हो । त्यसैले आफ्नो भाग खोसिने डरले मात्रै ओलीले यस्ता कुतर्क गरेका हुन ।

८. दुई कार्यकालको राष्ट्रपतिको अनुभव बरु पार्टी अध्यक्ष हुन खोजेकी विद्या भण्डारीका थप योग्यता र पूँजी पो हुन त । उनमा शिखरमा बसेर देश, विदेश र जनताको परिवेश बुझेको जो अनुभव छ, त्यो एमालेको नयाँ जीवनका लागि नयाँ रामवाण पो बन्न सक्छ त । खै एमाले जनले यो तथ्य बुझेका ? एमालेले पूर्व राष्ट्रपतिको नेतृत्वमा नयाँ युग र ईतिहासको रचना गर्ने यो त स्वर्ण मौका हो नी । हैन र ?

९. केप ीओली लगायतका गणतन्त्रवादी नेताहरु राजा ज्ञानेन्द्रलाई राजनीति गर्ने भए दल खोलेर आउन निकै चुनौति दिन्छन । जबकी उनीहरुलाई थाहा छ, राजाको दल हुन्न र राजाले दलीय राजनीति पनि गर्दैन्न । तर तीनै ओली र ओलीहरु फेरि पूर्वराष्ट्रपतिलाई किन खोपीको देउता बनाएर राख्न चाहान्छन ? राजालाई राजनीतिमा डाक्ने ओलीहरुले पूर्व राष्ट्रपतिलाई यसरी उनैले हुर्काएको पार्टीमा फर्कीन नदिनु भनेको त जसको घर,उसैलाई छैन बास भन्या जस्तै पो हो त । हैन र ?

१०.अब एक आम नागरिकका रुपमा,पूर्व उपाध्यक्षका रुपमा पनि एमाले अध्यक्ष हुने हक कसैले खोस्न सक्दैन । यो त सूर्यलाई हत्कलाले छेक्न खोज्नु जस्तै मुर्खता हो । भोलि बहुमत एमालेजनको मन जित्न नसके अर्कै कुरा नत्र, एमालेमा विद्याको नेतृत्व त स्थापित हुन्छ हुन्छ । आज नभए भोलि हुन्छ, भोलि नभए पर्सी हुन्छ । ओली नेतृत्वले जति विद्यालाई छेकबार हाल्छ, उती विद्याको लोकप्रियता र अपरीहार्यता एमालेमा बढ्छ, बढछ ।
त्यसैले, एमालेजनहरुले अब सत्यको जगमा विद्याको स्वागतमा उत्रने क ीओलीको लोलीमा बोली मिलाउदै थप दुर्घटना निम्त्याउने ? त्यो भने एमालेजनकै छनौटको विषय हो ।

ताजा अपडेट