
काठमाडौं । अमेरिकामा रहेका नेपाली समुदायबीच महिलाको नेतृत्वक्षमता र सशक्तीकरणका मुद्दामा निरन्तर सक्रिय रहँदै आएकी दुर्गा तिवारी एनआरएनए एनसिसि युएसए २०२५–२७ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् । सत्र वर्षअघि अमेरिका पुगेकी तिवारीले पारिवारिक व्यवसायलाई सफलतापूर्वक उचाइमा पुर्याउँदै सामाजिक अभियन्ताका रूपमा पनि परिचय बनाएकी छन् । श्रीमानसँग मिलेर स्थापना गरेको उनकाे व्यवसाय स्थापित भइसकेको छ भने उनका दुई छोरा सफ्टवेयर इन्जिनियरका रूपमा सक्रिय छन् । उनी व्यवसायसँगसँगै सामाजिक नेतृत्व र सामुदायिक उत्थानका क्षेत्रमा समेत सक्रिय छिन् ।
दुर्गा तिवारीको औपचारिक नेतृत्व यात्रा सन् २०२१-२३ मा एनआरएनए विस्कन्सिन च्याप्टरको महिला संयोजकको भूमिकाबाट सुरू भएको थियो । त्यसपछि २०२३-२५ मा एनआरएनए एनसिसि युएसएको महिला बोर्ड अफ डाइरेक्टर्सका रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनले जब सर्च लिंक प्रोजेक्ट नामक परियोजना समेत अघि सारेकी थिइन् जसले नेपाली समुदायलाई रोजगारीका अवसरसँग जोड्ने काम गर्यो । यसरी हेर्दा उनको योजनाबद्ध र कार्यान्वयन क्षमता स्पष्ट देख्न सकिन्छ । केहि समय ममता काफ्ले घटनाले अमेरिकास्थित नेपाली समुदायलाई स्तब्ध पारेको थियो । त्यही पृष्ठभूमिमा दुर्गाले यस्तो पीडादायी घटना पुनः नदोहोरिन दिने संकल्पसहित ‘गोप्य सहायता इकाई’ गठन गर्ने घोषणा गरेकी छन् । यस इकाईमार्फत घरेलु हिंसाबाट पीडित महिलालाई कानुनी, सामाजिक र मनोवैज्ञानिक सहयोग उपलब्ध गराइने बताइएको छ ।
महिलालाई एनआएनएको केन्द्रीय नेतृत्वमा स्थापित गराउने उनका ठोस योजनामा नेतृत्व विकास तालिम, प्रेरणात्मक सत्र र क्षमता अभिवृद्धि कार्यक्रम समावेश छन । ‘नेतृत्वको ढोका सबै सक्षम महिलाका लागि खुला हुनुपर्छ’ तिवारीको भनाइ छ । यसबाहेक उनले संस्थालाई राजनीतिक प्रभावमुक्त, पारदर्शी र सबैलाई समेट्ने साझा मञ्चका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएकी छन् । ‘पारदर्शिताले विश्वास जन्माउँछ र विश्वासले समुदाय बलियो बनाउँछ’ उनी भन्छिन् ।
उनको उम्मेदवारीलाई महिलामात्र होइन पुरुष समुदायले पनि सकारात्मक रूपमा लिएको छ । उनलाई नजिकबाट बुझ्नेहरु तिवारीले भाषणभन्दा व्यवहारिक कार्यमार्फत आफ्नो प्रतिबद्धता प्रमाणित गरेको बताउने गर्दछन् । दुर्गा तिवारीको उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि एक अभियानका रूपमा हेरिएको छ । अमेरिका स्थित विस्कन्सिनको सानो समुदायदेखि अमेरिकाकै अन्य राज्य हुँदै नेपालसम्म उनको नाम महिला सशक्तीकरण, सामुदायिक एकता र सकारात्मक परिवर्तनको सन्देश बोकेको छ ।