+

जेनजी आन्दोलन बन्यो जनआन्दोलनः नयाँ अन्तरिम सरकार नै अबको निकास

२४ भाद्र २०८२, मंगलवार ०६:१५

सम्पादकीय ।
समकालिन नेपालको ईतिहासमा सेप्टेम्वर ८, २०२५ तदनुरुप २०८२ भदौं २३ गते सोमवार राजधानी काठमाण्डौं लगायत देशका प्रमुख शहरहरुमा भएको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको हस्तक्षेपकै कारण १९ होनाहार युवाहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । सयौं घाईते, अंगभंग भएका छन । सरकारले करफ्यु लगाएर स्थिति नियन्त्रणमा लिन खोज्दा आन्दोलन झन उग्र भएको छ । भोलिपल्ट भदौं १४ मा सरकारी करफ्यू अटेर गर्दै देशभर आन्दोलन अराजक र अनियन्त्रित हुदैछ । यो सरकार हारेको र जनता जितेको ताजा स्थिति हो ।

यो सरकारले स्कुल कलेजका पोशाकमा रहेका १९ युवाको ज्यान लिएकै कारण स्थिति नियन्त्रण बाहिर गएको र सरकार फेल भएको हो । प्रहरी वा सेनाले अब आफ्नै ज्यान बचाउन हम्मे हम्मे परेको स्थितिमा नेता र तिनको साम्राज्य जोगाईदिन्छन भन्नु भ्रम मात्र हो । सरकारले अब एक मिनेट पनि ढिलो नगरी राजीनामा दिएर अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न सक्नुपर्छ ।
सामाजिक संजाल पुनः चालु गरेर सरकारले आन्दोलनकारीको माग पुरा गरेको भ्रम पनि नपाले हुन्छ । होनाहार १९ युवाको हत्याको कलंक बोकेको यो सरकारले सोमवार संयम गुमाउँदा नै मंगलवारदेखिको भयावह परिस्थिति बनेको हो । अब सरकारका मन्त्री, नेता सबैले आआफ्नो कमजोरीको प्रयश्चित गर्न अब बन्ने अन्तरिम सरकार र नयाँ सरकारले गर्ने न्यायिक छानबिनमा सघाउनुपर्छ । देश छाडेर भाग्ने अर्को हसिनापथ पछ्याउनु हुदैन सत्ताधारी कोही कसैले पनि । त्यसो गरे झन ठूलो भुल हुनेछ ।

ऋबको निकास नयाँ अन्तरिम सरकार गठन नै हो । त्यो सडकले नै तय गर्नेछ । काँग्रेस एमालेको सरकारको बैद्यता भदौं २३ को दमन र हिंसासंगै सकिएको छ । प्रहरी, सेना र अन्य सुरक्षा निकायलाई यो सरकारले दुरुपयोग गरेर देशमा अर्को अनपेक्षित क्षतीको स्थिति निम्त्याउनु हुदैन । सेना परिचालन गरेर सत्ता टिकाउने दुष्प्रयाश अस्वीकार्य हुनेछ । सडकको जनबलले त्यो प्रयाश बिफल पार्नेछ । यो धरातलीय यथार्थ सत्ताधारी दल, नेता सबैले बुझ्नुपर्छ ।

जनता कहिल्यै कुनै पनि आन्दोलनमा नहार्ने शक्ति हो । जेनजीको आन्दोलनको नेतृत्व अब जनताको हातमा पुग्यो । जेनजी आन्दोलन अब जनआन्दोलन बन्यो । जनता निस्के अब सडकमा, सत्ता अब जनताले सडकबाटै तय गर्छन । जनताले प्रचण्ड निवासमा गरेको ढुंगामुढा, संचारमन्त्री पृथ्वी सुब्बा गुरुंगको घरमा गरेको आक्रमण, देउवा निवास घेराउ, सरकारी कार्यालयहरुमा भएका सबै प्रतिनिधि आक्रमण अब जनता जागेको र सत्ता हारेको ताजा प्रमाण हुन । अब जनतासंग पौठेजोरी खेल्न खोज्नु यो सरकारको थप दुखान्त पराजय हुनेछ । सरकार हारिसक्यो, अब बाटो खाली गरिदिनु मात्र सरकारको एकमात्र काम हो ।

देशले नयाँ अन्तरिम सरकारको चयन बिना जारी आन्दोलनबाट निकास र समाधान भेट्न संभव छैन । त्यसका लागि थप रक्तपात नहुदै यो सरकार बिदा हुनुपर्छ । सरकार बनाउने काँग्रेस र एमालेले अब जनता उनीहरुकै विरुद्धमा सडकमा उत्रेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । नयाँ सरकार बनाउने कोर्ष जति छिटो सुरु हुन्छ, उति छिटो यो आन्दोलनको समाधान हुनेछ । सबैलाई चेतना भया ।