काठमाडौं।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेकी छन्। शुक्रबार राति राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा उनले पद तथा गोपनियताको शपथ लिएकी हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
संसद् विघटन गर्न सहमत भएसँगै जेन–जी ले अघि सारेको मागबमोजिम नै नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको थियो। जेन–जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ। कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन्।
पुरानो गृह मन्त्रालय परिसरमा निर्मित अत्याधुनिक भवनबाट सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहिलो तल्लामा प्रधानमन्त्रीको कार्यकक्ष रहने छ। दोस्रो तलामा मुख्यसचिवको कार्यकक्ष तयार रहने छ।


