+

पूर्वसभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

२९ आश्विन २०८२, बुधबार १२:३२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

भेपबाट सुन तस्करी गरेको आरोपमा महरा गत आइतबार (असोज २६ गते) निवासबाटै पक्राउ परेका थिए । सोमबार र मंगलबार उनको बयान भएको थियो ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा उनी विरुद्ध सीआइबीले अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैधरूपमा ल्याएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको थियो । उनले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । यसमा महराको संलग्नता रहेको आरोप लागेको छ ।

महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी  लिएको थियो ।