काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिएको रिट खारेज गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि पाण्डेलाई निलम्बन गरिएको थियो ।
आफूलाई गैरकानुनी रुपमा नै निलम्बन गरिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । सोही रिट उच्च अदालत पाटनले बुधबार खारेज गरिदिएको हो । पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।
न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो । यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो । पाण्डेले दिएको रिट खारेज भए पनि उनी निलम्बन भने हुने छैनन् ।
काठमाडौं महानगर स्रोतका अनुसार पाण्डेमाथि छानबिन भएर निलम्बन गर्नुनपर्ने छानबिन समितिको पत्र पनि अदालतमा बुझाइएको छ ।
त्यसकारण उनी निलम्बनमा पर्ने छैनन् ।
“२०८२–०३–१० गतेको च.नं. १९९३ को पत्रमार्फत् निलम्बन फुकुवा गरिएको तथा निलम्बन गरिएको कारण–विषयका सम्बन्धमा जाँचबुझ गर्न गठन गरिएको जाँचबुझ समितिबाट मिति २०८२–०४–२८ गते प्राप्त प्रतिवेदनमा निलम्बनको कारबाहीलाई निरन्तरता दिनुपर्ने ठोस कारण नदेखिएको जाँचबुझ प्रतिवेदनबाट प्राप्त हुन आएकोले अन्य कुनै किसिमको कारवाही गर्ने आधार समेत नदेखिएको जानकारी गराउँछु,” काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले असोजको २८ गते नै पाण्डेलाई दिएको पत्रमा उल्लेख गरिएको छ ।


