+

आगामी निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसँग जानकारी लिने समितिको निर्णय

१४ कार्तिक २०८२, बिहीबार ०८:५१

काठमाडाैं। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसँग जानकारी लिने भएको छ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसँग छिट्टै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए।

त्यसैगरि आगामी राष्ट्रियसभाको निर्वाचनका बिषयका साथै बिभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत जानकारी लिने उनले बताए। उनले समितिको बैठकमा छलफल हुने विषयहरुलाई प्राथमिकीकरण गर्दै नयाँ कार्ययोजना आगामी बैठकले अनुमोदन गर्ने जानकारी दिए।

सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने बिषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरुसँग पनि छलफल भइसकेको बताए। समिति सदस्यहरुले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाका समितिलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

उनले भने, ‘अबको हाम्रो प्राथमिकतामा रहेको विषय भनेको निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्ने रहेको छ। अर्को भनेको माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भनिएको छ । त्यसको अवस्था कस्तो छ, शान्ति सुरक्षाको विषय कस्तो छ यस विषयमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौं।’

बजेट पनि धेरै कटौती भएको भन्दै त्यो बारेमा पनि सरकारको ध्यानाकर्षण गराउने र त्यसको बारेमा जानकारी लिने प्रयासमा समिति रहेको उनको भनाइ छ।