+

नेपाल ट्रष्टको जग्गा लिज प्रकरण : तत्कालीन सहसचिव कार्की पक्राउ

२३ कार्तिक २०८२, शनिबार ११:३४

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सबी)ले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय सीआईबीले जनाएको छ।

नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान शुरु भएको अनुसन्धानअन्तर्गत कार्कीलाई पक्राउ गरिएको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दरबारमार्गको कित्ता नं. ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने र लिने विषयमा ट्रष्ट सञ्चालक समितिको निर्णय र आधारबिना वद्नियतपूर्वक लिजमा दिइएको विज्ञप्तिमा उल्लेख छ। नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४।०२।१४ गते करार सम्झौता भएको सआइबीले जनाएको छ।

लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरुले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुऱ्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको सीआईबीले जनाएको छ।