-नारायण घिमिरे (अथर्ववेदाचार्यः)
भगवद्गीता केवल एक दार्शनिक वा आध्यात्मिक ग्रन्थ मात्र होइन, यो गणित र विज्ञानका गहिरा रहस्यहरूले भरिएको ज्ञानको सागर पनि हो। आधुनिक विज्ञान र गणितका आधारभूत सङ्ख्या अनन्तता (Infinity) र शून्य (Zero) को अवधारणा दुवै गीता वाट हाम्रो समाजले थाहा पाएको र गणितमा सनातन वैदिक समय देखि चलन चल्तीमा आएको हो। गीतामा यी अवधारणाहरू श्लोक प्रमाण सहित वर्णित छ। भगवद्गीताको अनन्तता (Infinity) र शून्य (Zero) को अवधारणा आस्था मात्रमा सीमित रहेको नभई एक वैज्ञानिक रूपमा प्रमाणित अवधारणाको रूपमा समेत स्थापित छ ।
१. अनन्तता (Ananta) – The Concept of Infinity
गणितमा अनन्त (∞) एक यस्तो अवधारणा हो जसको कुनै सीमा वा अन्त्य हुँदैन। गीताले परमात्माको स्वरूपलाई यही अनन्तताको माध्यमबाट परिभाषित गरेको छ।
क) गीताको प्रत्यक्ष घोषणा: विभूति र विश्वरूप
भगवान् कृष्णले आफ्नो अनन्त स्वरूप र विस्तारको वर्णन अध्याय १० (विभूति योग) र अध्याय ११ (विश्वरूप दर्शन योग) मा स्पष्ट रूपमा गर्नुभएको छ। गीताको श्लोक BG १०.१९ यसको पहिलो श्लोक प्रमाण १ हो।
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः।
प्राधान्य तः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे॥
जसको अर्थ हुन्छ “हे कुरुश्रेष्ठ! म तिमीलाई मेरा मुख्य-मुख्य दिव्य विभूतिहरू (glorious manifestations) बताउँछु, किनभने मेरो विस्तारको कुनै अन्त छैन।” यो श्लोकले स्पष्ट रूपमा परमात्माको विस्तारलाई अनन्त (Infinite) भनेको छ। उहाँका गुण, शक्ति र स्वरूप असीमित छन्।
गीताको श्लोक BG १०.४० जसको दोस्रो श्लोक प्रमाण हो।
नान्तोऽस्ति मम दिव्यानां विभूतीनां परन्तप।
एष तूद्देशतः प्रोक्तो विभूतेर्विस्तरो मया॥
जसको अर्थ हुन्छ “हे परन्तप (शत्रुहरूलाई तपाउने)! मेरा दिव्य विभूतिहरूको कुनै अन्त छैन। मैले यो त केवल उदाहरणका रूपमा संक्षिप्तमा भनेको हुँ।” यहाँ कृष्णले पुनः पुष्टि गर्नुहुन्छ कि उहाँले दिएका उदाहरणहरू केवल अनन्तको एक सानो अंश मात्र हुन्।
ख) फ्र्याक्टल ज्यामिति (Fractal Geometry) र विश्वरूप
फ्र्याक्टल एक यस्तो गणितीय संरचना हो जसमा एउटै ढाँचा (pattern) आफूलाई विभिन्न स्केल (सानो-ठुलो) मा अनन्तसम्म दोहोर्याउँछ। यसको सबैभन्दा महत्त्वपूर्ण गुण आत्म-समानता (Self-Similarity) हो । जसमा सानो अंश पनि ठुलो अंश जस्तै देखिन्छ।
गीतासँग यसको सम्बन्ध अध्याय ११ मा भेटिन्छ। जहाँ अर्जुनले देखेको विश्वरूप फ्र्याक्टल ज्यामितिको एक उत्कृष्ट दार्शनिक उदाहरण हो। अर्जुनले भगवान् कृष्णको शरीरभित्र सम्पूर्ण ब्रह्माण्ड, अनगिन्ती मुख, अनगिन्ती आँखा र ब्रह्माण्डभित्र पनि अन्य ब्रह्माण्डहरू देखे। यो “एकभित्र सबै र सबैभित्र एक” को अवधारणा फ्र्याक्टलको “nested infinity” (एक-अर्काभित्र गुँथिएको अनन्तता) सँग मिल्ने अवस्था हो।
वैज्ञानिक प्रमाण:
विज्ञानमा हामीले अनुभूति गर्ने “fractals nested within fractals” गीतमा उल्लेख भएको विश्वरूप दर्शन प्रभाव हो। विश्वरूप दर्शन प्रभावको सरल प्राकृतिक नियमले नै अनन्त जटिलता उत्पन्न हुन्छ।सनातन वैदिक हिन्दु मन्दिरहरूको वास्तुकला, विशेष गरी शिखर (spire), प्रायः फ्र्याक्टल ढाँचामा बनाइएको भेटिन्छ। जहाँ मुख्य शिखरको सानो प्रतिरूपहरूले नै ठुलो शिखर बनेको हुन्छ। जसले ब्रह्माण्डको अनन्त र आत्म-समान प्रकृतिलाई जनाउँछ।
ग) ‘पूर्ण’ को गणित (The Mathematics of Fullness)
ईशावास्य उपनिषद् को शान्ति मन्त्रले अनन्तको गणितीय गुणलाई आश्चर्यजनक रूपमा परिभाषित गरेको छ:
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥
जसको अर्थ हुन्छ “त्यो (परब्रह्म) पूर्ण छ, यो (जगत्) पनि पूर्ण छ। पूर्णबाट पूर्ण प्रकट हुन्छ। पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै बाँकी रहन्छ।” गणितीय र वैज्ञानिक व्याख्या अनुरूप यो श्लोक अनन्तको एक आधारभूत गुणको सटीक परिभाषा हो । गणितीय समीकरण को यो वैदिक व्याख्या हो।
∞ – ∞ = ∞
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते
आधुनिक गणितमा ∞ – ∞ लाई सामान्यतया अपरिभाषित (indeterminate) मानिन्छ । तर Set Theory मा, यदि दुई अनन्त सेटहरू समान कार्डिन्यालिटी (cardinality) का छन् भने, एउटाबाट अर्को घटाउँदा पनि अनन्त सेट बाँकी रहन सक्छ। यो वैदिक मन्त्रले ब्रह्मको अक्षय (inexhaustible) प्रकृतिलाई जनाउँछ—त्यो स्रोत कहिल्यै रित्तिँदैन।
२. शून्य (Shunya) – The Concept of Zero
शून्यको आविष्कारलाई मानव इतिहासको सबैभन्दा ठुलो बौद्धिक उपलब्धि हो। जुन प्राचीन सनातन वैदिक ग्रन्थहरूले गीता लाई दियो। गीतले सनातन वैदिक समुदाय लाई यसको प्रस्ट व्याख्या गरिदियो।
क) शून्यको द्वैध अर्थ: अभाव र पूर्णता
प्राचीन सनातन वैदिक चिन्तनमा शून्य (Shunya) को दुई वटा तर अन्तर सम्बन्धित अर्थ छन्।पहिलो अभाव (Emptiness / Nothingness) को चिन्तन। कुनै पनि वस्तुको अनुपस्थिति। जस्तै X-Y = ० हुनु। जहाँ दुवै वस्तुको अनुपस्थिति हुन पुग्दछ। जुन संसारको भौतिक पक्षसँग सम्बन्धित छ। दोस्रो पूर्णता (Fullness / Completeness) को चिन्तन। जुन यस्तो अवस्था हो जहाँ सबै सम्भावनाहरू लुकेका हुन्छन्। यो निर्गुण ब्रह्म को अवस्था हो । जस्तै एकै चोटि +X र -X हुनु। वा +Y र -Y रहनु। जसको समग्रता शून्य हुन्छ। जुन सबै गुण, रूप र परिभाषाहरू भन्दा पर छ। यो “केही नहुनु” होइन, बरु “सबै कुरा हुनु” को सम्भावना हो।
ख) गणितीय क्रान्ति र वैज्ञानिक आधार
शून्यको आविष्कारले गणित र विज्ञानमा क्रान्ति ल्यायो। यसको ऐतिहासिक प्रमाण रुपी उदाहरणमा ५ औँ शताब्दीमा आर्य भट्ट ले विकसित गरेको शून्यलाई स्थान-मान प्रणाली (place-value system) मा गरेको प्रयोग लाई लिन सकिन्छ। जसले ठुला सङ्ख्याहरू लेख्न र गणना गर्न सम्भव बनायो। ७औँ शताब्दीमा ब्रह्म गुप्तको “ब्रह्मस्फुटसिद्धान्त” मा पहिलो पटक स्पष्ट रूपमा परिभाषित गरिएको र उपयोगमा ल्याइएको शून्यका गणितीय नियमहरूले पुष्टि गर्दछ।
जहाँ भनिएको छ a + 0 = a, a – 0 = a, a × 0 = 0 , 0 / a = 0 आदि।
यसको वैज्ञानिक प्रमाणीकरण बाइनरी प्रणाली (Binary System)ले गर्दछ। आजका सबै कम्प्युटरहरू ० र १ को बाइनरी प्रणालीमा चल्छन्। शून्यको आविष्कार विना बाइनरी प्रणाली युक्त यस्ता आधुनिक डिजिटल प्रविधि असम्भव थियो। शून्यको अवधारणाले नै क्याल्कुलस (Calculus) को lim (x → 0) जस्ता सीमा (limits) को विकास सम्भव बनायो ।
जुन क्याल्कुलसको अत्यन्त महत्त्वपूर्ण आधार हो। भौतिक शास्त्रको क्वान्टम फिजिक्समा आउने “Quantum Vacuum” वा “Zero-Point Energy” को अवधारणाले शून्यलाई खाली स्थान नभई ऊर्जा र कणहरूले भरिएको एक गतिशील अवस्था मान्दछ । सनातन वैदिक अवधारणाले भन्ने गरेको शून्यको “पूर्णता” को दार्शनिक अवधारणाको पुष्टि हो।
ग) शून्य र अनन्तताको सम्बन्ध
शून्य र अनन्तता एक अर्काका पूरक हुन्। ब्रह्म गुप्तले 1 / 0 को स्थितिलाई व्याख्या गर्न सकेनन्, तर पछि भास्कराचार्य (१२औँ शताब्दी) ले यसलाई अनन्त (Infinity) को रूपमा परिभाषित गरे। 1 / 0 = ∞ ।
यो सम्बन्धले यो कुरा सिद्ध गर्दछ कि शून्य (अत्यन्त सूक्ष्म) र अनन्त (अत्यन्त विशाल) एउटै सिक्काका दुई पाटा हुन्। हो। विनाश गर्ने शिव र विनाश पश्चात् नयाँ निर्माण गर्ने महेश्वर को जस्तै सम्बन्धमा यिनीहरूको अस्तित्व जोडिएको हुन्छ। दार्शनिक रूपमा, शून्य ब्रह्मको निर्गुण, निराकार र अव्यक्त स्वरूप हो । अनन्त भने उहाँको सगुण, साकार र व्यक्त स्वरूप हो।
यसको समग्र निष्कर्ष के हो भने भगवद्गीता र वैदिक दर्शनमा प्रस्तुत अनन्तता र शून्य को अवधारणा काल्पनिक वा दार्शनिक अनुमान होइन।
यी अवधारणाहरूको गणितीय र वैज्ञानिक आधार छ। अनन्तता लाई गीताले विभूति र विश्वरूपको माध्यमबाट व्याख्या गरेको छ। जसलाई आधुनिक फ्र्याक्टल ज्यामिति र Set Theory ले समर्थन गर्दछ। शून्य को आविष्कार प्राचीन सनातन वैदिक कालमा भयो । भगवद्गीताले त्यसको व्याख्या गर्दै त्यस वारेको ज्ञानको पहुँच सर्वसाधारण सम्म लान भूमिका खेल्यो।
जसको योगदानको कारण यसले गणित, कम्प्युटर विज्ञान र भौतिक शास्त्रमा क्रान्ति ल्यायो। यसको दार्शनिक अर्थ (पूर्णता) लाई क्वान्टम फिजिक्सले समेत पुष्टि गर्दछ।
यसरी, गीताले हजारौँ वर्ष पहिले नै ती गणितीय र वैज्ञानिक सत्यहरूलाई उजागर गरेको थियो । जसलाई आज आधुनिक विज्ञानले पुनः पत्ता लगाउँदै छ। यसले गीतालाई एक कालातीत (timeless) र सार्वभौमिक (universal) ज्ञानको स्रोतको रूपमा स्थापित गर्दछ।


