‘’नेपाली जनता दल’’ को मार्गदर्शनः संक्षिप्तमा
“जनताको साथ, जनताको हितमा, र जनताकै लागि राज्य सञ्चालन”
समावेशी मानव केन्द्रित लोकतान्त्रिक समाजवाद– मौलिकतावाद, प्राकृतिकवाद र वैज्ञानिक मानवतावाद
पृष्ठभूमिः
नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको संगम भएको सुन्दर, समृद्ध र ऐतिहासिक रूपमा गौरवशाली राष्ट्र हो। यहाँको भौगोलिक विविधता—उत्तरका हिमाल, मध्यका पहाड र दक्षिणका तराई क्षेत्रहरूले—नेपाललाई प्राकृतिक सम्पदाको खानी बनाएको छ। हिमालका हिमनदी र पहाडी जलस्रोतले कृषि, पर्यटन र जलविद्युतको सम्भावनालाई आधार प्रदान गरेका छन् भने तराईका उर्वर भूमिहरूले कृषि उत्पादनमा योगदान पुर्याएका छन्। सांस्कृतिक दृष्टिले नेपाल हिन्दु, बौद्ध, किराँत, मुस्लिम लगायत विभिन्न धर्मावलम्बीहरूको साझा वासस्थान हो। यहाँ दशैं, तिहार, होली, बुद्धजयन्ती, ल्होसार, उधौली–उभौली, इद, माघि, छठ, गौरा पर्व जस्ता पर्वहरू हर्षोल्लासका साथ मनाइन्छन्, जसले धार्मिक सहिष्णुता र सामाजिक एकताको बलियो सन्देश दिएकोछ। नेपाली समाजको मौलिकता विविधता भित्रको एकतामा निहित छ—जहाँ विभिन्न समुदायहरूबीच परस्पर सहयोग, सम्मान र सहभागिताको परम्परा पुरातन कालदेखि चली आएको छ। काठमाडौँ उपत्यकाका दरबार स्क्वायर, स्तूप र मन्दिरहरूले नेपालको प्राचीन कला, वास्तुकला र सभ्यतालाई विश्वस्तरमा चिनाएका छन्। नेवारी, मगर, गुरुङ, थारू, तामाङ, लिम्बू, राई लगायत समुदायहरूले आफ्ना मौलिक परम्परा र संस्कृति जगेर्ना गर्दै आएका छन्। “सभ्यताले सबैलाई जोड्छ” भन्ने भनाइको सार यही हो कि विविध सभ्यताहरूले मानिसबीच एकता, आपसी सद्भाव र साझा पहिचान निर्माण गर्छन्। नेपाल जस्तो सांस्कृतिक सम्पन्न राष्ट्रमा आर्य, किराँत, बौद्ध, इस्लाम र अन्य सभ्यताहरूको मिश्रणले राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाएको छ, जसले नेपाललाई साँच्चिकै “साँस्कृतिक विविधताको बगैँचा”का रूपमा विश्वसामु प्रस्तुत गरेको छ। नेपालका प्रमुख सभ्यताहरूलाई निम्न प्रकारले वर्गीकृत गर्न सकिन्छः
१. वैदिक सभ्यता (आर्य सभ्यता) — नेपालको धेरैजसो धार्मिक र सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराबाट प्रभावित छन्। वैदिक सभ्यताले पूजा, संस्कार, योग, ज्योतिष, र नीतिशास्त्र जस्ता परम्पराहरूको विकास गर्यो। हिन्दू धर्म, रामायण–महाभारत जस्ता ग्रन्थ, र वैदिक संस्कृति नेपालको सामाजिक जीवनमा गहिरो रूपमा मिसिएको छ।
२. लिच्छवी सभ्यता — लिच्छवी काल (ई.सं. चौथौँ देखि आठौँ शताब्दी) नेपालमा कला, वास्तुकला, र शासन प्रणालीको उत्कर्षकाल थियो। यो सभ्यतामा धर्म, सहिष्णुता, र सामुदायिक सौहार्दको विकास भयो। आजका धेरै मन्दिर र शिलालेखहरू लिच्छवी सभ्यताको गवाही हुन्।
३. मल्ल सभ्यता — मल्लकालीन सभ्यताले नेपाली कलाको सुनौलो युगको प्रतिनिधित्व गर्छ। काठमाडौँ, भक्तपुर, र ललितपुरका दरबार क्षेत्रहरू, मन्दिर, मूर्तिहरू, र नेवारी संस्कृति मल्ल सभ्यताको गौरव हुन्। यो कालमा नेवारी भाषा, संगीत, नृत्य र व्यापारिक संस्कृतिको विकास भएको पार्इन्छ । सिल्पी सभ्यताको उच्चतम बिकास भएको कलासंस्कृतिको स्वणिम युग नै मल्लकालिन सभ्यतालार्इ भनिल्छ।
४. बौद्ध सभ्यता — नेपाल बुद्ध जन्मभूमि भएकाले बौद्ध सभ्यताको गहिरो प्रभाव रहेको देश हो। बौद्ध दर्शन, ध्यान, अहिंसा, र करुणाको सिद्धान्तले नेपाली समाजलाई सहिष्णु र शान्तिप्रिय बनाएको छ। लुम्बिनी, स्वयम्भू, र बौद्धनाथजस्ता तीर्थस्थलहरूले बौद्ध सभ्यताको उज्यालो फैलाएका छन्।
५. जनजातीय तथा आदिवासी सभ्यता — किरात, थारू, गुरुङ, तामाङ, मगर, राई, लिम्बु, शेर्पाजस्ता समुदायहरूले आफ्ना पृथक् भाषा, संस्कृति, पोशाक, नृत्य र धार्मिक परम्परासहित नेपाली सभ्यतालाई विविध र समृद्ध बनाएका छन्। यी सभ्यताहरूले स्थानीय ज्ञान, प्रकृतिप्रतिको सम्मान, र सामुदायिक जीवनशैलीको सन्देश दिन्छन्।
६. मिथिला सभ्यताः मिथिला सभ्यता दक्षिण एसियाको प्राचीनतम र समृद्ध सभ्यतामध्ये एक मानिन्छ, जसको केन्द्र वर्तमान नेपालको तराई तथा भारतको बिहार क्षेत्रमा फैलिएको थियो, र जसले वैदिककालदेखि नै धार्मिक, सामाजिक र कलात्मक जीवनमा गहिरो छाप छोडेको छ। यो सभ्यता विशेषगरी जनक राजाहरूको शासन, दार्शनिक उन्नति, राम–सीता परम्परा, स्त्री–सशक्तिकरणका उदाहरणहरू, तथा स्थानीय रीति–रिवाजको विशिष्टताले पहिचानिन्छ। मिथिलामा विकसित मिथिला पेन्टिङ (मधुबनी कला) ले स्त्रीहरूको सांस्कृतिक चेतनालाई क्यानभासमा उतारेर विश्वमा अद्वितीय स्थान दियो, भने मैथिली भाषा, साहित्य र संगीतले यहाँको सामाजिक जीवनलाई गहिरो भावनात्मक र बौद्धिक आयाम प्रदान गर्यो। कठोर नीतिनियमसहितको समाजिक संरचना, पितृप्रधानता र धर्म–अनुभूति बीच पनि मिथिलाले ज्ञान, न्याय र समानताको भावना जोगाइराख्यो, जसको प्रतीक जनकपुर क्षेत्र आजसम्म सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको रूपमा सम्मानित रहँदै आएको छ।
७. इस्लामिक र आधुनिक सभ्यता — नेपालको बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको सभ्यताले पनि धार्मिक सहिष्णुता र विविधतालाई समृद्ध पारेको छ। आधुनिक युगमा विश्वव्यापी शिक्षा, विज्ञान, प्रविधि, र लोकतान्त्रिक मूल्यहरूको विकासले नेपाललाई विश्व सभ्यतासँग जोडेको छ।
नेपालका वैदिक, मौर्य, लिच्छवि, मल्ल र आधुनिक सभ्यताहरूले दीर्घकालीन विकास, सांस्कृतिक विविधता र सामाजिक सन्तुलनको माध्यमबाट “सभ्यताले सबैलाई जोड्छ” भन्ने अवधारणा स्पष्ट रूपमा अभिव्यक्त भएको पार्इन्छ भने वैदिक सभ्यताले धार्मिक, नैतिक र आध्यात्मिक मूल्यहरूको आधारमा सहिष्णुता, सहयोग र मानवधर्मको शिक्षा दियो। लिच्छवि र मल्ल कालका कला, वास्तुकला र सांस्कृतिक उपलब्धिहरूले भौतिक समृद्धि र आध्यात्मिक चेतनाबीचको सन्तुलन दृढ पारे। आधुनिक नेपालले जातीय, भाषिक र धार्मिक विविधतालाई स्वीकार्दै समावेशी, समानता–केन्द्रित र सांस्कृतिक रूपमा समन्वित समाज निर्माण गरेको छ। “वसुधैव कुटुम्बकम्” तथा “सर्वे भवन्तु सुखिनः” जस्ता पूर्वीय दार्शनिक वाक्यहरूले सम्पूर्ण प्राणीलाई एक परिवारका रूपमा हेर्दै मानव कल्याण, सामाजिक सद्भाव र सार्वभौमिक शान्तिको संदेश दिन्छन्। यसरी, विभिन्न कालखण्डका सभ्यताहरू एक–अर्कासँग समन्वय भएर नेपाललाई सांस्कृतिक, सामाजिक र आध्यात्मिक रूपमा अझ सशक्त राष्ट्रका रूपमा स्थापित गरेको पार्इन्छ।
नेपालको राजनीतिक इतिहास संक्षिप्तमाः नेपालको इतिहासले संघर्ष, परिवर्तन र जागरणको लामो कथा बोकेको छ। प्राचीन समयमा नेपाल विभिन्न साना राज्यहरूमा विभाजित थियो। गोरखा राज्यको बिस्तार क्रममा बि.सं. १८२५ मा राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण सञ्चालन यात्रा पुरा गरे पछिको आजको आधुनिक नेपालको रूपरेखा तयार भ्एको पाइन्छ। उनले “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने दृष्टिकोण राख्दै राष्ट्रिय एकता र पहिचानको आधार तयार गरे। राजतन्त्रको पुस्तान्तरण क्रममा बि.सं. १९०३ मा राणाहरूले सत्ता कब्जा गरी १०४ वर्ष लामो निरंकुश राणाशाही शासन चलाए, जसले राजनीतिक स्वतन्त्रता, सामाजिक सुधार र आधुनिक प्रशासनिक विकासमा रोक लगायो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राणा शासन अन्त्य भयो र संवैधानिक राजतन्त्रको सुरुवात भयो। तर राजा महेन्द्रले २०१७ सालमा एकदलिय पंचायती व्यवस्था लागू गर्दै दलमाथि प्रतिबन्ध लगाए।
प्रतिबन्धित राजनीतिक दल, नागरिक चेतनासँगै सामाजिक निरन्तरता र विद्यार्थी संघर्षको फलस्वरूप २०३६ सालमा जनमतसंग्रह भयो। वास्तविक परिवर्तन २०४६ सालको जनआन्दोलन पछि सम्भव भयो, जसले बहुदलीय प्रजातन्त्रको स्थापना गर्यो। त्यसपछि पनि देश स्थिर हुन सकेन; २०५२–२०६२ सम्म चलेको माओवादी जनयुद्धले राजनीतिक, सामाजिक र आर्थिक अस्थिरता वाबजुत देशैभर समग्र राजनीतिक हकअधिकारको चेतना वृध्दीले २०६२–६३ को दोस्रो जनआन्दोलनले अन्तरिम संविधान २०६३ सँगै राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो। विधिवत राजतन्त्रको अन्त्य जननिर्वाचित संसदबाट २०६५ मा भएको थियो। आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा समावेशी विकासको दिशामा अघि बढिरहेको अवस्था हो ।
राजतन्त्र समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपछि नेपालमा लोकतान्त्रिक संरचना र संघीय शासनको आधार तयार भयो। पहिलो संविधान सभा निर्वाचनले नयाँ संवैधानिक अभ्यासको अनुभव दिलायो भने दोस्रो संविधान सभा २०७० मा निर्वाचित सभाबाट नेपालको संविधान २०७२ जारी भयो । उक्त संविधानले लिखित रूपमा नागरिक अधिकार, समानता, समावेसिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको पाइन्छ। संघीय संरचनाले केन्द्र र प्रदेशबीच शक्ति तथा स्रोतको सन्तुलनको व्यवस्था गर्दै स्थानीय तहलाई विकास र नीति कार्यान्वयनमा प्रभावकारी भूमिका दिने प्रयास गरेको छ। यसले प्रदेश र स्थानीय सरकारलाई स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितामा आधारित शासनको अवसर प्रदान गरे पनि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक प्रभाव र लाभ जनस्तरमा अझै पूर्ण रूपमा पुगेको छैन। यो नेपालीका लागि विडम्वना हो ।
नेपालमा सुधारका प्रावधानको आवश्यकता अझै गहिरो छ। पछिल्ला दशकमा राजनीतिक अस्थिरता, दलहरूबीचको मतभेद र कमजोर प्रशासनिक क्षमताले दीर्घकालीन विकास र नीति कार्यान्वयनमा गम्भीर चुनौती सिर्जना गरेको छ। बेरोजगारी, सीमित रोजगारी अवसर र युवाशक्तिको विदेश पलायनले देशको आर्थिक उत्पादकत्व घटाएको छ भने सामाजिक संरचनामा नकारात्मक असर परेको छ। स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी नहुँदा समग्र विकास प्रभावित भएको छ र संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक लाभ जनस्तरमा पूर्ण रूपमा पुगेको छैन। दीर्घकालीन विकास र समावेशी लोकतन्त्रका लागि राजनीतिक स्थायित्व, पारदर्शिता र दीर्घकालीन आर्थिक योजना अपरिहार्य छन्।
शिक्षा र स्वास्थ्य सबै नागरिकले सहज नितिले पाउनुपर्छ, जुन जन्मसिद्ध अधिकार हुन् । जसलाई संविधान र अन्तर्राष्ट्रिय सन्धिहरूले सुनिश्चित गरेको छ। तर व्यवहारमा ग्रामीण, गरिब र सीमान्तकृत क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन संघर्ष गरिरहेका छन् भने महँगो उपचार खर्चले धेरै परिवारलाई आर्थिक असुरक्षित बनाएको छ। निजी र सरकारी शिक्षाको गुणस्तरमा अन्तर छ । आधारभूत स्वास्थ्य सेवा धेरै क्षेत्रमा पहुँच भन्दा बाहिर छ। यी असमानताले सामाजिक न्याय, समान अवसर र दीगो विकासमा प्रतिकूल प्रभाव पारेको छ। त्यसैले राज्यले शिक्षा र स्वास्थ्यमा समान पहुँच, गुणस्तर र पारदर्शिता सुनिश्चित गर्दै तत्काल ठोस कदम चाल्न आवश्यक छ। दीर्घकालीन विकास, सामाजिक समृद्धि र मानव अधिकारको संरक्षणका लागि स्थिर राजनीतिक नेतृत्व, उत्पादनशील जनशक्ति र समावेशी नीतिहरू अनिवार्य छन्।
जेन जीको आन्दोलन, ‘’पुराना शासकको परीक्षा”
जेन जी (Gen Z) सन् १९९७ देखि २०१२ बीच जन्मेका युवाहरू हुन् । जो डिजिटल युगका साक्षी र परिवर्तनका वाहक बनेका छन्। स्वतन्त्रता, समानता र न्यायमा आस्था राख्ने यो पुस्ता परम्परागत राजनीतिक भाषाभन्दा सार्वजनिक संवाद, अनलाइन अभियान र सडक आन्दोलनलाई प्रभावकारी उपकरणका रूपमा प्रयोग गर्ने समूह हुन। २०७२ को संविधानले नयाँ आशा र संरचना दिएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने पुराना नेतृत्वहरू पुरानै सत्ता–संस्कृति, स्वार्थ र पद–लोभमा जकडिएका देखिए। संसद् विघटन, न्यायालयको राजनीतिकरण, दलभित्र आन्तरिक लोकतन्त्रको अभाव र नागरिक सरोकारप्रति बेवास्ता—यी सबैले लोकतान्त्रिक मूल्यहरू कमजोर बनाउँदै लगे। फलस्वरूप, नयाँ पुस्तामा असन्तोष र राजनीतिक निराशा बढ्दै गयो। आन्दोलन केवल केही दिनको आक्रोश होइन, यो दीर्घकालीन परिवर्तनको चेतावनी हो। यसले पुराना शासकहरूलाई स्मरण गरायो—यदि शासन, नीति र आचरण सुधारिएन भने, जनताले इतिहासकै कठघरामा उनीहरूलाई उभ्याउनेछन्।
२०८२ भदौ २३–२४ मा ७६ जना निहत्था नागरिकको ज्यान गयो र संसद भवन, सिंहदरबार तथा सर्वोच्च अदालत आगजनी हुने अवस्था सम्म पुगेको घटनाले देशभर सञ्चित भ्रष्टाचार, दुरुपयोग, र असफल शासन प्रति आम जनताको गहिरो रोष एकैचोटि विस्फोटित भएको स्पष्ट देखायो। भाद्र २३ को आन्दोलनको प्रमुख सरोकार सुशासन, पारदर्शीता, भ्रष्टाचारमुक्त प्रणाली, डिजिटल लोकतन्त्रको प्रभावकारी स्थापना र नागरिक मैत्री राज्य संयन्त्र जनउत्तरदायी, माग थियो, तर सरकारको तयारीहीनता र सुरक्षा निकायको अति प्रतिक्रियाले परिस्थितिलाई झनै दह्रो बनायो। स्कुल–कलेजका २२ जना निर्दोष विद्यार्थी माथि भएको गोली प्रहारले जनमानसमा तीव्र पीडा, क्रोध र अविश्वास पैदा गरिदियो, जसको मनोवैज्ञानिक र सामाजिक प्रभावले भोलिपल्ट थप ठूलो भीड, व्यापक हिंसा, मानविय क्षति र संरचनागत नोक्सानी निम्त्यायो। समग्रमा, यो घटना राज्य–नागरिक सम्बन्धको गम्भीर विच्छेद, उत्तरदायित्वहीन शासन शैली र संस्थागत सुधारको अपरिहार्यताबारे कठोर संकेतका रूपमा उभिएको यो आन्दोलनले देखायो कि नेपालका नयाँ पुस्ता अब केवल दर्शक मात्र होइनन्; उनीहरू न्याय, पारदर्शिता र उत्तरदायित्वका लागि सक्रिय जिम्मेवार अभियन्ता पनि हुन। लोकतन्त्रको वास्तविक चुनौती संविधानमा होइन, त्यसको कार्यान्वयन गर्ने राजनीतिक चरित्रमा छ। स्थायी सुधारका लागि पाँच क्षेत्र आवश्यक छन्—दलभित्र आन्तरिक लोकतन्त्र र नेतृत्व नविकरण, निर्णय प्रक्रिया र सम्पत्ति व्यवस्थापनमा पारदर्शिता, नीतिगत तहमा नागरिक सहभागिता, सत्ता–संस्कृति र मूल्याधारित राजनीति रूपान्तरण, र स्वतन्त्र निगरानी संयन्त्र। यी सुधारबिना लोकतन्त्र केवल कागजी हुनेछ।
नयाँ पुस्ताको सन्देश स्पष्ट छ—लोकतन्त्र बचाउन नागरिक सहभागिता, जवाफदेहिता, पारदर्शिता र नैतिक नेतृत्व अपरिहार्य हुन्छ। ‘’नेपाली जनता दल” डिजिटल लोकतान्त्रिक अबधारणाका माध्यामबाट राष्ट्र, राष्ट्रियता र जनजीविका सवालमा अग्रगामी राजनीतिक चेतनाबाट देशलार्इ समृध्द र समुन्नत बनाउन चाहन्छ।
नेपाली जनता दलका सैद्धान्तिक
समावेशी मानव–केन्द्रित लोकतान्त्रिक समाजवाद– यो सैद्धान्तिक अबधारणा बहुलवादी समाजका लागि उपयुक्त राजनीतिक मार्गदर्शन हो। यस अवधारणालार्इ शासन र सत्ता प्राप्तिको लक्ष्य नभई मानव कल्याण, समान अवसर, सामाजिक न्याय र समावेशीताको माध्यमबाट नागरिकको स्वाभिमान सहितको सुशासन र समुन्नत देश निर्माण गर्न सकिन्छ। नेपालको वर्तमान संवैधानिक दिशाबोध पनि यही लोकतान्त्रिक समाजवादतर्फ उन्मुख छ। स्वदेशको मौलिकतावाद, प्राकृतिकवाद र वैज्ञानिक मानवतावाद यस दर्शनका तीन मुख्य स्तम्भ हुन्।
मौलिकतावादले नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक विशिष्टतालाई सम्मान गर्दै स्वदेशी आवश्यकताअनुसार नीति निर्माणमा जोड दिन्छ। प्राकृतिकवादले प्रकृतिसँगको सहअस्तित्व, स्रोत–संरक्षण र दिगो विकासलाई प्राथमिकता दिन्छ। वैज्ञानिक मानवतावादले तर्क, विज्ञान र मानवीय मूल्यको समन्वय गर्दै नीतिहरूलाई प्रमाण–आधारित र मानव–हितैषी बनाउँछ।
यस प्रणालीमा राज्यको भूमिका सबै नागरिकका लागि समान अधिकार र अवसर सुनिश्चित गर्नु हो। वर्ग, क्षेत्र र समुदायबीचको असमानता घटाउँदै समावेशी विकासलाई अघि बढाइन्छ। आर्थिक क्षेत्रमा स्वदेशी स्रोतको संरक्षण, दिगो उत्पादन र न्यायपूर्ण वितरणलाई महत्व दिइन्छ। सामाजिक क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई सार्वभौमिक र सुलभ बनाउने लक्ष्य राखिन्छ।
लोकतन्त्रलाई यहाँ केवल राजनीतिक प्रक्रिया होइन, सामाजिक र आर्थिक रूपान्तरणको माध्यमका रूपमा बुझिन्छ। त्यसैले समावेशी मानव–केन्द्रित लोकतान्त्रिक समाजवाद शासनको ढाँचा मात्र नभई मानव कल्याण, सामाजिक न्याय र दिगो विकासमा केन्द्रित समग्र दर्शन हो। यसलाई अझ स्पष्ट रूपमा यसरी बुझ्न सकिन्छः
समावेशी मानव केन्द्रित लोकतान्त्रिक समाजवाद
(मौलिकतावाद, प्राकृतिकवाद र वैज्ञानिक मानवतावादमा आधारित)
हाम्रो पार्टीको वैचारिक आधार समावेशी मानव केन्द्रित लोकतान्त्रिक समाजवाद हो। यो विचारधाराले नेपालका ऐतिहासिक अनुभव, सामाजिक विविधता, भौगोलिक यथार्थ र संविधानको आत्मालाई आत्मसात गर्दै लोकतन्त्रलाई केवल शासन पद्धति नभई मानव कल्याण, सामाजिक न्याय र दिगो विकासको समग्र दर्शनका रूपमा स्वीकार गरिएकोछ।
१. मानव केन्द्रित राज्यको अवधारणा
यस विचारधाराको मूल केन्द्र मानव हो।
- राज्य, सत्ता, बजार र प्रविधि सबै मानव सेवाका साधन हुन्
- हरेक नागरिकको गरिमा, अधिकार र अवसर सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो
- नीति, योजना र विकासको मूल्याङ्कन मानव जीवनस्तर सुधारको आधारमा गरिन्छ
२. समावेशी लोकतन्त्र
हाम्रो पार्टी समावेशी लोकतन्त्रमा विश्वास गर्दछ।
- जात, वर्ग, लिङ्ग, भाषा, क्षेत्र, धर्म वा पहिचानका आधारमा हुने सबै प्रकारका बहिष्करणको अन्त्य
- समानुपातिक सहभागिता र प्रतिनिधित्व
- कमजोर, सीमान्तकृत र पिछडिएका समुदायको सशक्तीकरण
- लोकतन्त्रलाई निर्वाचनसम्म सीमित नगरी सामाजिक र आर्थिक न्यायको माध्यम बनाउने दृष्टि
३. लोकतान्त्रिक समाजवाद
हाम्रो समाजवाद लोकतान्त्रिक, संवैधानिक र बहुदलीय मूल्यमा आधारित छ।
- निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहअस्तित्व
- राज्यको भूमिका नियामक, संरक्षणकर्ता र सामाजिक न्यायको प्रत्याभूतिकर्ता
- उत्पादनशील अर्थतन्त्र, न्यायपूर्ण वितरण र अवसरको समान पहुँच
- श्रमको सम्मान र श्रमिक अधिकारको संरक्षण
४. मौलिकतावाद (स्वदेशी वैचारिक आधार)
हाम्रो विकास मोडेल आयातित नक्कल होइन, नेपाली मौलिकतामा आधारित छ।
- स्वदेशी ज्ञान, सीप, संस्कृति र अनुभवको उपयोग
- स्थानीय आवश्यकता र सम्भावनामा आधारित नीति निर्माण
- संघीयता, विविधता र बहुसांस्कृतिकता हाम्रो मौलिक पहिचान
५. प्राकृतिकवाद र दिगो विकास
हाम्रो पार्टी प्रकृतिसँग सहअस्तित्वको सिद्धान्तमा विश्वास गर्दछ।
- प्राकृतिक स्रोतको संरक्षण, पुनःउपयोग र दिगो व्यवस्थापन
- वातावरणीय न्याय र भावी पुस्ताप्रतिको उत्तरदायित्व
- विकास र पर्यावरणबीच सन्तुलन
- जलवायु परिवर्तनका चुनौतीप्रति सजग र उत्तरदायी नीति
६. वैज्ञानिक मानवतावाद
हाम्रो वैचारिक दृष्टि वैज्ञानिक सोच र मानवतावादी मूल्यको संयोजन हो।
- अन्धविश्वास, अवैज्ञानिक सोच र विभेदको अस्वीकार
- नीति निर्माणमा तथ्य, अनुसन्धान र प्रमाणमा आधारित निर्णय
- विज्ञान र प्रविधिको प्रयोग मानव कल्याणका लागि
- शिक्षा प्रणालीलाई आलोचनात्मक सोच, नवप्रवर्तन र मानवीय मूल्यमा केन्द्रित
७. सामाजिक न्याय र समान अवसर
- शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सबैको समान पहुँच
- गरिबी, असमानता र विभेदको अन्त्य
- सामाजिक सुरक्षा प्रणालीलाई अधिकारका रूपमा स्थापना
- महिला, युवा, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको विशेष संरक्षण
यो दर्शन “जनताको साथ, जनताको हितमा, र जनताकै लागि राज्य सञ्चालन” भन्ने सिद्धान्त हाम्रो पार्टीको दीर्घकालीन वैचारिक मार्गदर्शन हो। यो विचारधाराले लोकतन्त्र, समाजवाद, मौलिकतावाद, प्रकृतिकवाद र विज्ञानलाई एकीकृत गर्दै “न्यायपूर्ण, समावेशी, दिगो र मानव गरिमामा आधारित नेपाली समाज निर्माण” गर्ने हाम्रो अन्तिम लक्ष्य हो।
क. समावेशी (Inclusive) पक्ष
समावेशीता भन्नाले सबै वर्ग, जाति, लिङ्ग, धर्म, भाषा, संस्कृति, क्षेत्र र आर्थिक अवस्थाका मानिसहरूलाई समान अवसर र सहभागिताको अधिकार दिनु हो।
नेपालको सन्दर्भमा समावेशी समाजवादले निम्न कुरामा जोड दिन्छः
१. सबै समुदाय, दलित, जनजाति, महिला, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्तिहरूको समान प्रतिनिधित्व।
२. राज्यका स्रोत–साधन र अवसरहरूमा समान पहुँच।
३. नीति निर्माणदेखि कार्यान्वयनसम्म सबैको आवाज सुन्ने र सहभागी बनाउने व्यवस्था।
समावेशीता केवल सामाजिक न्यायको कुरा होइन, यो लोकतान्त्रिक स्थायित्वको आधार पनि हो।
ख. मानव केन्द्रित (Human-Centered) पक्ष
मानव केन्द्रित दृष्टिकोणले आर्थिक विकासलाई मात्र लक्ष्य नबनाई मानिसको जीवनस्तर, मर्यादा र क्षमताको विकासलाई केन्द्रमा राख्छ।
यसका प्रमुख आधारहरू हुन्:
१. शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सम्मानपूर्ण जीवनको सुनिश्चितता।
२. गरिबी निवारण, सीप विकास र आत्मनिर्भरताको प्रोत्साहन।
३. पर्यावरणीय सन्तुलन र भविष्यका पुस्ताको हितमा दिगो विकास।
यसले व्यक्ति र समाज दुवैलाई सशक्त बनाउँदै “मानव विकास सूचकांक” सुधारमा जोड दिन्छ।
ग. लोकतान्त्रिक (Democratic) पक्ष
लोकतान्त्रिक समाजवादमा राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको सन्तुलन रहन्छ।
१. नागरिकलाई अभिव्यक्ति, संगठन, धर्म, शिक्षा र सम्पत्तिको स्वतन्त्रता सुनिश्चित गरिन्छ।
२. राज्य शक्ति जनताबाट प्राप्त हुन्छ, र शासन जवाफदेही र पारदर्शी हुन्छ।
३. नीति निर्माणमा सहभागितामूलक प्रक्रिया (bottom-up approach) अपनाइन्छ।
यसले सुनिश्चित गर्छ कि लोकतन्त्र केवल मतपत्रसम्म सीमित नहोस्, बरु जनकल्याणमा रूपान्तरण होस्।
घ. समाजवाद (Socialism) पक्ष
समाजवादले सम्पत्ति र स्रोतको न्यायपूर्ण वितरणमा जोड दिन्छ।
१. अत्यधिक असमानता घटाउने नीति।
२. श्रमको सम्मान र उत्पादनशीलता बढाउने वातावरण।
३. स्वास्थ्य, शिक्षा, आवास, खानेपानी जस्ता आधारभूत सेवाहरू राज्यको जिम्मेवारी।
नेपालको संविधानले समाजवादलाई लक्ष्य मानेर “समानता, न्याय र अवसर” सुनिश्चित गर्ने प्रणालीको रूपरेखा तयार गरेको छ।
ङ. निजत्व, सामूहिकता र PPP मोडलको सन्तुलन
नेपालको लोकतन्त्र निजत्व (Individualism), सामूहिकता (Collectivism) र राज्यीय उत्तरदायित्वको त्रिवेणी हो।
१. निजत्व: स्वतन्त्र सोच, नवप्रवर्तन र व्यक्तिगत अधिकार।
२. सामूहिकता: सहकार्य, सहअस्तित्व र सामाजिक न्याय।
३. PPP मोडल (Public–Private–People):
- Public (सार्वजनिक) — नीति, कानुन, पारदर्शिता र लगानी नियमन।
- Private (निजी) — दक्षता, नवप्रवर्तन, पूँजी र रोजगारी सृजना।
- People (जनता) — सहभागिता, सामाजिक उत्तरदायित्व र स्थानीय स्वामित्व।
यी तीन तह एकअर्काको पूरक हुन्। कुनै एक क्षेत्र कमजोर भएमा लोकतान्त्रिक समाजवाद कमजोर पर्छ।
छ. व्यावहारिक कार्यान्वयनका प्राथमिकता क्षेत्रहरू
समावेशी मानव केन्द्रित लोकतान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नेपालले निम्न क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने अवधारधाका साथ नेपाली जनता दल ले निम्न कार्यहरू लार्इ प्राथमिकता क्षेत्रहरूमा राखेकोछ।
१. पूर्वाधार विकास: सडक, रेल, विमानस्थल, ऊर्जा र डिजिटल नेटवर्कमा लगानी।
२. सार्वजनिक–निजी साझेदारी (PPP) सुदृढीकरण।
३. ग्रामीण सडक, सिँचाइ, कृषि तथा उद्योगमा लगानी विस्तार।
४. सामाजिक सुरक्षा: वृद्ध, अपांग, सुत्केरी, बेरोजगार र विपन्न वर्गका लागि संरक्षण योजना।
५. शिक्षा र स्वास्थ्यमा सार्वभौमिक पहुँच।
अतः “समावेशी मानव केन्द्रित लोकतान्त्रिक समाजवाद” भन्नाले केवल राजनीतिक आदर्श होइन, नेपालको विकास र सामाजिक रूपान्तरणको व्यवहारिक दिशा हो। यसले निजत्व र सामूहिकताको सन्तुलन गर्दै समानता, न्याय, स्वतन्त्रता र मानव मर्यालाई संस्थागत बनाउँछ।
यसरी, यो दर्शनले “जनताको साथ, जनताको हितमा, र जनताकै लागि राज्य सञ्चालन” भन्ने सिद्धान्तलाई जीवन्त बनाउँछ।
६. दृष्टिकोण (Vision) र लक्ष्य (Mission)
दृष्टिकोण (Vision):
नेपाली जनता दलको दृष्टिकोण एक समृद्ध, समान, स्वावलम्बी र न्यायपूर्ण समाज निर्माण गर्नु हो, जहाँ प्रत्येक नागरिकले समान अवसर, सम्मान र अधिकारका साथ स्वतन्त्र र मर्यादित जीवन यापन गर्न सकोस्।
लक्ष्य (Mission):
नेपाली जनता दलको लक्ष्य सुशासन, सामाजिक न्याय, आर्थिक स्वावलम्बन र सहभागी लोकतन्त्रमार्फत राष्ट्रको समग्र विकास सुनिश्चित गर्नु हो। यसका लागि पारदर्शी प्रशासन, शिक्षित नागरिक समाज, उत्पादक रोजगारी, र सन्तुलित क्षेत्रीय विकासलाई प्राथमिकता दिइनेछ।
७. आर्थिक दृष्टिकोण: क्रयशक्ति समानता (PPP)
क्रयशक्ति समानता (Purchasing Power Parity, PPP) नागरिकको आय मात्र नभई उपलब्ध वस्तु–सेवा र उपभोग क्षमतामा आधारित जीवनस्तर मापन गर्छ। यसले आर्थिक वृद्धिको लाभ जनतासम्म पुगेको छ कि छैन र वितरण प्रणाली न्यायोचित छ कि छैन भन्ने स्पष्ट पार्छ। नेपालको आर्थिक लक्ष्य आत्मनिर्भरता (उत्पादन वृद्धि, आयातमा निर्भरता घटाउने, आन्तरिक स्रोतको अधिकतम उपयोग),दिगोपन (वातावरण संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग, दीर्घकालीन योजना) र समावेशी अर्थतन्त्र (सबै वर्ग, समुदाय र क्षेत्रलाई समान अवसर र पहुँच सुनिश्चित) हो। यसरी, राष्ट्रिय अर्थतन्त्रको वृद्धिले केवल आर्थिक लाभ नभई सामाजिक न्याय, समान अवसर र राष्ट्रिय समृद्धिको आधार तयार पार्नुपर्छ।
हाम्रा आधारभूत मान्यताहरू:
मानव, समाज, संस्कृति र विकास परस्पर गाँसिएका छन्; कुनै एक कमजोर हुँदा बाँकी पक्ष प्रभावित हुन्छन्। सद्भाव, समानता र न्यायबिना दिगो विकास सम्भव छैन। नेपालको भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधता हाम्रो मौलिक पहिचान हो, जुन हाम्रो एकता, शक्ति र समृद्धिको स्रोत हो। राजनीतिक, सामाजिक र आर्थिक विकास लामो संघर्ष, आन्दोलन र बहुपक्षीय योगदानको परिणाम हो। यही विविधताले चुनौती मात्र होइन, अवसर पनि प्रदान गरेको छ ।
नेपालको संविधान, २०७२ को प्रत्याभूत जनसत्ता, लोकतान्त्रिक मूल्य र समान अवसरको सिद्धान्तमा आधारित भएर जन युग पार्टी गठन गरिएको हो। देशको रूपान्तरणमा सबै नागरिकको समान सहभागिता सुनिश्चित गर्न, युवा, श्रमिक, किसान, महिला, सीपयुक्त वर्ग, खस आर्य, जनजाति, दलित, मधेसी, थारू, पहाडी, हिमाली तथा अन्य सबै समुदायहरूको अधिकार र प्रतिनिधित्वलाई समान सम्मानका साथ संस्थागत गर्ने हाम्रो मूल अभिप्राय हो।
नेपालको परिवर्तनको यात्रा २००७ सालको प्रजातन्त्र स्थापनाबाट सुरु भएको हो र २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै लोकतन्त्रलाई नयाँ दिशातर्फ अघि बढायो। सुशासन केवल प्रशासनिक सुधार होइन, यो नैतिक मूल्य र व्यवहारको संस्कृति हो। पारदर्शिता, नवप्रवर्तन, जिम्मेवार शासन र नागरिकमैत्री प्रशासनमा आधारित समावेशी विकासका लागि पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलताको संयोजन अनिवार्य छ। समानता, सामाजिक न्याय, सद्भाव र स्वाभिमानलाई मूल आधार मानेर भ्रष्टाचार मुक्त, लोकतान्त्रिक र समृद्ध नेपाल निर्माण गर्नु हाम्रो साझा लक्ष्य हो, जसको मजबुत जग स्वतन्त्रता, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र मानव अधिकारको सम्मानमा आधारित छ।
भोट दिने र फिर्ता बोलाउने अधिकारः Right to Vote Abroad and Right to Recall- नेपाली नागरिकले आफ्नो लोकतान्त्रिक अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनु पर्छ, चाहे उनीहरू देशमै बसोबास गरिरहेका हुन् वा बिदेशमा। यस अन्तर्गत, विदेशी भूमिबाट पनि मतदान गर्ने अधिकार (‘Right to Vote Abroad’) सुनिश्चित हुनु अत्यावश्यक छ, ताकि सबै नागरिकले देशको शासन र नीतिनिर्माणमा समान सहभागिता जनाउन सकून्। साथै, पदमा रहिरहेकाहरूले जनताको विश्वास गुमाए वा भ्रष्टाचारमा संलग्न प्रमाणित भएमा उनीहरूलाई फिर्ता बोलाउने अधिकार (‘Right to Recall’) नागरिकलाई दिनु पर्छ। यसले सरकारी जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्ने मात्र होइन, जनताको सार्वभौम अधिकारलाई बलियो बनाउने काम पनि गर्दछ। यसरी, नागरिकको मत केवल चुनावसम्म सीमित नभएर, नेतृत्वको जवाफदेहितालाई निरन्तर निगरानी गर्ने शक्ति सम्म फैलिन्छ, जसले लोकतन्त्रलाई अझ सबल र जिम्मेवार बनाउँछ भन्ने धारणा हाम्रो पार्टीले जोरदार माग राख्दै आएकोछ ।
“सुशासन, समानता, समृद्धि” का लागि अग्रगामी परिवर्तन अनिवार्य छ”
१. “मानव गरिमा पहिलो, समावेशी लोकतन्त्र हाम्रो बाटो”
२. “जनतासँगै, जनताकै लागि राज्य”
३. “मौलिक सोच, विज्ञान र प्रकृतिसँग न्यायपूर्ण नेपाल”
४. “सत्ता होइन सेवा चाहिन्छ, शासन होइन सुशासन”
५. “समावेशी समाजवाद—सबैलाई समान अवसर, समान सम्मान”
६. “लोकतन्त्र कागजमा होइन, जनजीवनमा चाहिन्छ”
७. “आजै चाहिन्छ मानव केन्द्रित परिवर्तन”
-ठाकुर पोखरेल/ महासचिव
नेपाली जनता दल


