+

“दोलखामा बद्लिदै ईतिहास, रास्वपाको जित निश्चित”

३ फाल्गुन २०८२, आईतवार ०७:१८

संतोष खड्का ।
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्ला आगामी फागुन २१ म हुने आम चुनावमार्फत राजनीतिक ईतिहास परिवर्तनको व्यग्र प्रतिक्षामा छ । यस पट्क पहाडी जिल्ला दोलखाले पहिलो पट्क घण्टी चुनाव चिन्हवाहक उमेद्धवारलाई जननिर्वाचित माननीयका रुपमा प्रतिनिधि सभामा पठाउने आखिरी दिनहरुको प्रतिक्षा गरिरहेको छ । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उर्लिएको जनलहरले प्रसिद्ध भिमेश्वर, कालिञ्चोक, शैलुंग, जिरी जस्ता पर्यटकीय सम्पदाहरुको जिल्ला दोलखालाई पनि छपक्क छोपेको छ ।

२०४६ को परिवर्तनपछि १ पट्क नेपाली काँग्रेस र अन्य बेला निरन्तर जस्तै नेकपा एमाले र तत्कालिन माओवादीले २ पट्क जितेको दोलखामा यस पट्क रास्वपाका उमेद्धवार ई. जगदिश खरेल विजयको नयाँ गाथा बनाउने अन्तिम तयारीमा छन । दोलखामा रास्वपाले अरु दलको अलोकप्रियता र अन्तरद्धन्दको फाईदा उठाएर मात्रै हैन, आफ्ना एजेण्डा र उमेद्धवारको दमदार उपस्थितिका कारण पनि फागुन २१ को चुनाव शानदार रुपमा जित्ने आँकलन भैरहेको छ ।

मुलतः नेकपा एमालेको दशकौंदेखिको एकाधिकार यसपट्क क्रमभंग हुनेवाला छ । एमालेले टिकट दिएका पूर्व संचार मन्त्री पार्वत गुरुंग आन्तरिक पार्टी बिवादले थलिएका छन । अघिल्लो पट्कको आम चुनावमा करीब ३ सय मतले मात्र हारेका समकक्षी वालकृष्ण शिवाकोटीलाई धोका दिएर चुनावमा प्रत्याशी नै हुन नदिएका कारण एमालेका पार्वतलाई एमालेबाटै अन्तरघात र धोका हुने निश्चित छ ।

राष्ट्रिय उद्यमी तथा एमाले नेता वालकृष्ण शिवाकोटीले पत्रकार सम्मेलन नै गरेर नेता गुरुंगको पक्षमा आफू चुनावी प्रचारमा जान नसक्ने उदघोष गरेका थिए भने उनका समर्थकहरुले पार्टीका जिम्मेवारीहरुबाट बिदा लिएर निस्क्रिए भएका छन । वालकृष्ण शिवकोटीलाई उमेद्धवार सिफारिशमा नै रोकेका कारण पार्वतलाई अहिले आफ्नै कदम आत्माघाती साबित भएको छ । पार्वतले शिवाकोटीलाई एमाले दोलखाबाट साँसदको उमेद्धवार हुनै रोकेका थिए । यसको एमाले वृत्तमा व्यापक विरोध भएको थियो ।

एमाले एकातिर आन्तरिक बिवादमा छ भने एमालेका प्रभावशाली स्थानीय नेताहरु पनि या त पार्टीबाट निस्क्रिए छन, या त प्रचण्ड नेतृत्वको नेकपातिर लागेका छन । भरत दुलाल, होम पाठक जस्ता प्रभावशाली पूर्व एमाले नेताहरु सबै अहिले नेकपाको पक्षमा खुलेका छन । पूर्व पार्टी सभापति ईश्वरचन्द्र पोखरेल निस्क्रिय जस्तै बनेका छन । पूर्वमन्त्री आन्नद पोखरेल तीव्र मतभेदका वीच जसोतसो पार्टीका पक्षमा मात्र भाषण गर्दैछन । तर पार्वतको पक्षमा ज्यान छोडेर लागेका छैन्न । टुटेको मन र फुटेको दिल बोकेर एमाले पंत्ति नै पार्वतको पराजयको प्रतिक्षा गरिरहेको छ । पार्वत पछिल्ला दिनमा हाईड्रोको कर छली मुद्धामा पनि बिवादित बनेका छन ।

दोलखामा एमाले कमजोर रहेका बेला नेपाली काँग्रेसले टुरिस्ट उमेद्धवार अजय शिवाकोटीलाई मैदानमा उतारेको छ । पत्रकारितामा सामान्य सक्रिय तर गगन थापाका एक सहयोगी रहेका अजयलाई गगनले खल्तीबाट प्रत्यक्षको उमेद्धवार बनाएपछि काँग्रेसका टिकटका आकाँक्षी पूर्व सभापति ताराबहादुर कोईरालादेखि युवा नेता तथा पूर्व प्रदेश अर्थमन्त्री कुन्दन काफ्लेसम्म काँग्रेसमा रुष्ट छन । उनीहरुले पार्टीको पक्षमा वकालत गरे पनि उमेद्धवार शिवाकोटीको पक्षमा तन मन धनले मत मागेका छैन्न । दोलखाको माटो र मतदाताका लागि शिवाकोटी घुमन्ते अनुहार हुनुले पनि काँग्रेसी समर्थकहरुको रोजाई रास्वपा बन्न पुगेको छ ।

तुलनात्मक रुपमा नेकपाका उमेद्धवार विशाल खड्का केही सबल अवस्थामा रहे पनि नेकपाप्रति दोलखामा आम मतदाताको आकर्षण घटेको कारण उनले पनि प्रतिष्पर्धा गर्ने रहर मात्र पुरा हुने देखिन्छ । तत्कालिन माधव नेपाल नेतृत्वको नेकपा समाजवादीको हिस्साले विशाललाई समर्थन गरे पनि त्यो पर्याप्त हुन सक्ने देखिदैन ।

दोलखाको माटो र मतदाताका लागि रास्वपा अहिले अपरीक्षित पहिलो दल हुन पुगेको छ । अघिल्लो चुनावमा ११ हजार बढी समानुपातिक मत ल्याएको रास्वपाले यसपटक दोलखामा प्रत्यक्षतर्फ जित्ने पक्का पक्की नै छ । कारण, घण्टीको सबै गाउँपालिकामा संगठन बिस्तार भएको छ । हजारौं युवा रास्वपमा लागेका छन । र, जिल्लाभर सबैतिर समर्थक ह्वात्तै बढेका छन । भीमेश्वर नगरपालिकादेखि सदरमुकाममा पनि पुरै रास्वपाका समर्थक बढेका छन । नयाँ युवा, जेनजी पुस्ताको एकलो रोजाईको दल रास्वपा नै बनेको छ ।

रास्वपले अहिलेसम्म दोलखालीहरुलाई अधुरा सपना नदेखाएको, कुनै भ्रष्टाचार काण्डमा नपरेको, जनताको रोजाईमा परेको दलका रुपमा दोलखामामा जित्ने स्थिति बनेको हो । काठमाण्डौं वा जिल्ला बाहिर, देश बाहिर बस्ने सबैले दोलखामा रास्वपाको जितका लागि भित्रभित्रै युद्धस्तरका तयारी गरेका छन । सबै स्थानीय तहमा पार्टीका सम्पर्क कमिटी र संजाल सक्रिय छन ।

काँग्रेस र एमालेले बिगतका संसदीय चुनावहरुका बुथ कब्जा गरेर जित्ने गरेको कालो ईतिहास मात्रै रास्वपाका लागि अहिले चुनौति बनेको छ । बुथ कब्जा नभए रास्वपा निर्विकल्प विजयको हकदार रहेको दोलखाली जनजनले घरघरबाट भनिरहेका छन । अन्तिम नतिजा भने २१ गते मतदाताले दिने मतले निश्चित गर्नेछ ।
लेखक खड्का, रास्वपका दोलखाका नेता हुन ।