जुन चुनावले केवल गर्नेछ नियमित सरकारको पुर्नस्थापना । फर्किने छ उही पुरानै संसद । त्यो संसदसंग हुने छैन, विशेषाधिकार । चुनावले केवल साँसदको अनुहार बदल्ने छ । दलको संसदीय अंक गणितलाई तलमाथि पार्नेछ । तर, भदौं २३ र २४ को जेनजी विद्रोहको जग र जमिनबाट हुन लागेको फागुन २१ चुनावले जेनजी विद्रोहको राप, ताप, चाप र माग अनुसार नयाँ संसद बनउँछ त ? त्यो आन्दोलनको भाव अनुसार काम गर्ने नयाँ सरकार दिन्छ त ? नयाँ संसदले जेनजी आन्दोलनको म्याडेट अनुसार काम गर्छ त ? प्रश्नहरु धेरै अनुत्तरित नै छन ।
तै पनि शुसीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले एक थान चुनाव सम्पन्न गर्ने अन्तिम प्रण पुरा गर्दैछ । आफूलाई प्राप्त म्यान्डेट अुनसार सरकारका लागि यो उसकै शव्दमा एक सार्थक उपलव्धी हो । देशका लागि सफलता हैन, एउटा अर्ली परीक्षा मात्र हो । जनताका लागि विवेक प्रयोग गर्ने मौका त हो । तर, जनताले विवेक कति, कुन हदसम्म देशका पक्षमा, जेनजी आन्दोलनको मर्म र धर्ममा टेकेर प्रयोग गर्छन त ? त्यो यसै भन्न सकिन्न । त्यसैले चुनाव नहुन भन्दा हुनु ठीक तर चुनावैले देशमा रामराज्य आउने कल्पना मिठो राजनीतिक सपना मात्र हो ।
भनि नै सकियो की नहुनु भन्दा चुनाव हुनु राम्रो । तर २०८४ का लागि निर्धारित चुनाव २०८२ मा गरेर मात्रै चुनावी लक्ष्य हासिल हुनेवाला छैन । फेरिएको काँग्रेस, दबाबमा रहेको नेकपा एमाले, एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी, नयाँ हुँकार दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, नयाँ उदाएका श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी लगायत दलहरुको जनता वीचको परीक्षा मात्र हो फागुन २१ को आम चुनाव ।
आम चुनावमा कुनै पनि दलले संविधानले तोके अनुसार प्रष्ट बहुमत ल्याएमा, वा त्यो भन्दा बढी जनादेश पाएमा भिन्नै हो, नत्र फेरि त्रिशंकु सरकारकै रचना गर्यो भने, त्यो देशका लागि अर्को राजनीतिक अस्थिरताको शिलान्यास हुनेछ । जनताले कुनै एक दललाई प्रष्ट बहुमत वा दुई तिहाई बहुमत दिए भने मात्र देशले यो चुनाव मार्फत खोजेको राजनीतिक अस्थिरता अन्तयको सुरुवात हुन सक्ने हो । जेनजी आन्दोलनले खोजेको शुसासन र भ्रष्टाचार अन्त्यको सुरुवात हुने हो । अन्यथा घुमीफिरी रुम्जाटार भन्ने नेपाली उखानकै पुनरावृत्ति हुने हो ।
त्यसैले, दैलोमा आईसकेको चुनावी सफलताका लागि अहिले सबैले उधारै भए शुभकामना दिउँ । देशले चुनावपछि बहुमतको स्थिर सरकार बनाउन सकोस ।


