+

प्रधानमन्त्रीज्यूले आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्ति सय प्रतिशत गलत हो : महावीर पुन

२ चैत्र २०८२, सोमबार ०२:१८

काठमाडौँ । म्याग्दी– १ बाट नवनिर्वाचित स्वतन्त्र सांसद एवं पूर्व शिक्षामन्त्री डा. महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद पुनले प्रधानमन्त्रीको यो कदमको विरोध गर्दै नियुक्त श्रेष्ठलाई उक्त पद नलिन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिनु । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ।’

नेपालका पुराना राजनीतिक दलहरू नातावाद, चाकरीबाज र कृपावादकै कारण समाप्त भएको उल्लेख गर्दै पुनले नयाँ दलहरूलाई समेत सचेत गराएका छन् । ‘यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होसियार गर्ने म छु,’ उनले लेखेका छन्। यो नियुक्तिबारे अब आउने सरकारले बुद्धि पुर्‍याएर निर्णय गर्नुपर्ने उनको धारणा छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ आगामी ५ वर्षका लागि मनोनयन भएका छन् । कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सो पदमा नियुक्त गरेकी हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा सिन्धुलीका श्रेष्ठलाई ल्याइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने कानुनी व्यवस्था गरेको छ । सोही प्रावधानलाई टेकेर प्रधानमन्त्रीले आफ्नै सचिवालयका सदस्यलाई नियुक्त गरेपछि अहिले चौतर्फी आलोचना र विरोध सुरु भएको हो ।