+

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा रवि र बालेन नेतृत्वको प्रशंसा

४ चैत्र २०८२, बुधबार ११:३३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट प्राप्त शुभेच्छा तथा ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

सीपीसीले रास्वपालाई औपचारिक पत्र पठाएर बधाई तथा शुभकामना दिए लगत्तै रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले सीपीसीलाई धन्यवाद दिएका हुन् ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको उक्त सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबिचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । सन्देशमा नेपाल–चीन बिचको आपसी राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख गरिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको पनि सीपीसीले प्रशंसा गरेको छ । उनीहरुको नेतृत्वमा नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि सीपीसीले व्यक्त गरेको छ । सीपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदान प्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थायित्व विकासका लागि सहकार्य गर्न तत्पर रहेको समेत जनाएको छ ।

नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा रास्वपा अडिग रहँदै आएको विश्वास दिलाउँदै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र प्राथमिकतापूर्ण सम्बन्ध कायम गर्ने आफ्नो प्रतिबद्धता सीपीसीले पुःन दोहोर्‍याएको छ ।