काठमाडाैँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन निर्वाचन परिणाम र पार्टीको आन्तरिक अवस्थाबारे गम्भीर छलफल भएको छ।
बैठकमा प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाले प्रस्तुत गरेको राजीनामाको प्रस्तावलाई बैठकमा अहिलेसम्म ४६ जनाले बोलेको भन्दै सतप्रतिशत वक्ताहरूले एकमतले राजीनामा अस्वीकार गरेको जानकारी दिए।
वक्ताहरूले अहिलेको परिस्थितिमा सभापतिले राजीनामा दिन नहुने भन्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
बैठकले विशेष गरी पराजयका प्राविधिक र राजनीतिक कारणहरूको विश्लेषण गरेको छ। ८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत मात्र प्राप्त गर्नुलाई ‘वैचारिक विश्वासको संकट’ का रूपमा लिइएको छ। क्रियाशील सदस्य बढे पनि मत घट्नुले पार्टी र मतदाताबिचको सम्पर्क विच्छेद भएको निष्कर्ष निकालिएको छ।
निर्वाचन क्षेत्रहरूको विश्लेषण गर्दै प्रवक्ता चालिसेले ३ हजार भन्दा कम मतान्तरले हारेका २०-२१ क्षेत्रमा पार्टीको आन्तरिक कारण नै मुख्य रहेको बताए। त्यस्तै, ३ देखि ५ हजार मतान्तर भएका ठाउँमा चुनावी अभियानको कमजोरी र ५ हजार भन्दा बढी मतान्तर भएका क्षेत्रमा बलियो प्रतिरक्षा बनाउन नसकिएको स्वीकार गरिएको छ।


