काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राखेका हुन्।
कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख समस्या रहेको बताइन्। सीमित स्रोतसाधनका कारण तटबन्ध निर्माणका लागि पर्याप्त बजेट अभाव हुने भएकाले बाढीबाट उत्पन्न जोखिम नियन्त्रण गर्न कठिन हुने विषय आफूले प्रधानमन्त्रीसमक्ष राखेको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘मनसुनको समयमा आकस्मिक नदी कटान समस्या छ। त्यो जिल्ला तटबन्धहरुसँग सिमित स्रोतसाधन मात्र हुने तर आकस्मिकको लागि बजेट नहुने कारणले गर्दाखेरि यो बीच समयमा आएको बाढीले सिर्जना गरेको रिस्कलाई तटबन्ध गर्नको लागि यो कुरा प्रधानमन्त्री समक्ष राखेको छु।’
यसैगरी नेकपा (एमाले) की सांसद पद्मा अर्यालले बैठकमा सहभागी सांसदहरूले आफ्ना समुदायका मुद्दासहित विकाससम्बन्धी विभिन्न विषय उठाएको बताइन्। उनले विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने उपाय तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिइन्।
उनले भनिन्, ‘बैठकमा सहभागि सांसदहरुले आफ्ना समुदायका मुद्दाका साथमा आफूलाई लागेका केही कुराहरु राख्नु भएको थियो। प्रधानमन्त्रीले एजेण्डा तोक्नु भएको थियो त्यसमा हामीले विकासलाई कसरी अगाडि बढाउँदा ठिक होला, नीति कार्यक्रममा कस्ता खालका कार्यक्रमहरु ल्याउँदा ठिक हुन्छ भन्ने कुराहरु गरे।’
छलफलका क्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपाय प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए। यसअघि प्रधानमन्त्री शाहले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशअनुसार भेटघाट तथा छलफल गरिसकेका छन्।


