+

सर्लाहीमा एक महिनामा १ सय ३२ अपराधका घटना दर्ता

५ बैशाख २०८३, शनिबार ०६:२४

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १ सय ३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ ।

सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । यसैगरी, बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

अनुसन्धान र कारबाहीका क्रममा सोही अवधिमा ९६ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले १५ वटा पुराना मुद्दा फछ्र्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनका क्रममा ५ जना पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ४ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ ।

लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ । यसैबीच, चैत महिनामा १८ जनाले जिल्लामा आत्माहत्या गरेका छन् । उक्त तथ्यांकले चिन्ता बढाएको छ । यस्तो घटना १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको छ ।