काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने बताएका छन्।
अदालतको निर्णय सार्वजनिक भएपछि फेसबुकमार्फत आफ्नो धारणा राख्दै सभापति थापाले यसलाई कसैको ‘जित वा हार’ भन्दा पनि विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गरेका हुन्।
सभापति थापाले अबको यात्रा पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रा भएको उल्लेख गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य र शुभेच्छुकहरूलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न अपिल गरेका छन्।
पार्टीको नेतृत्वको हैसियतले एकता प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने स्वीकार गर्दै थापाले भनेका छन्, ‘पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।’
कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै थापाले यस महाधिवेशनलाई पार्टीको रूपान्तरण र सुदृढीकरणको कडी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नयाँ पुस्ताको आकाङ्क्षा र अग्रजहरूको योगदानलाई समायोजन गर्दै समुन्नत नेपाल निर्माणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन्।


