वासिङ्टन। इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको म्याद अनिश्चितकालका लागि थप गरे पनि मैदानको अवस्था भने अझै अनिश्चित र दबाबपूर्ण देखिएको छ। शान्ति प्रयासलाई समय दिन गरिएको यो निर्णयसँगै कूटनीतिक पहल र सैन्य दबाब सँगसँगै अघि बढाइएको संकेत देखिएको छ।
अमेरिकीपक्षले पाकिस्तानको मध्यस्थतामा अघि बढिरहेको वार्तालाई थप अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै युद्धविरामको समयसीमा पछाडि सारिएको जनाएको छ।
ट्रम्पले इरानको नेतृत्वलाई प्रस्ताव तयार गर्न समय दिनुपर्ने उल्लेख गर्दै दुई हप्ताको म्याद सकिन लाग्दा त्यसलाई अनिश्चितकालसम्म विस्तार गरिएको बताएका छन्। यद्यपि, उनले इरानी बन्दरगाहहरूमाथि अमेरिकी नाकाबन्दी भने यथावत् राखिने स्पष्ट पारेका छन्, जुन वार्ताको प्रमुख विवादित विषय बनेको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज खुला राख्न खोजेको आरोप लगाए। यस जलमार्गलाई खुला राख्दा इरानलाई दैनिक करिब ५० करोड डलर आम्दानी हुने दाबी उनले गरे। विश्वको करिब पाँचौँ हिस्सा तेल तथा ग्यास आपूर्ति हुने यो जलमार्गमा अमेरिकी नियन्त्रण कायम राख्नु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको उनले जोड दिए। नाकाबन्दी हटाइएको अवस्थामा इरानसँग प्रभावकारी सम्झौता सम्भव नहुने अवस्था आउन सक्ने उनले संकेत दिए।
यसअघि उनले युद्धविराम विस्तार गर्ने इच्छा नरहेको र समयसीमा सकिएपछि आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी दिएका थिए। तर, पछिल्लो निर्णयमा उनले सेनालाई नाकाबन्दी कायम राख्न र अन्य सबै सम्भावित अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन्। इरानबाट ठोस प्रस्ताव नआएसम्म युद्धविरामलाई निरन्तरता दिने उनको भनाइ छ।
युद्धविराम कहिले सकिने भन्ने विषयमा अन्योलकै बीच पाकिस्तानले मंगलबार २३५० जीएमटी (ग्रिनविच मिन टाइम)मा यसको अन्त्य हुने संकेत गरेको थियो भने इरानले ०००० जीएमटीमा समाप्त हुने बताएको थियो। तर, सो समयसीमा नजिकिँदा कुनै नयाँ सैन्य गतिविधि सार्वजनिक नभए पनि इरानले ट्रम्पको निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, पाकिस्तानको पहलमा इस्लामावादमा आयोजना हुन लागेको शान्ति वार्ता पनि अनिश्चित बनेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको प्रस्तावित भ्रमण अन्तिम समयमा स्थगित गरिएको पुष्टि ह्वाइट हाउसका एक अधिकारीले गरेका छन्। इस्लामावादमा उच्च सतर्कता अपनाउँदै सरकारी क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन्, जसले वार्ताको संवेदनशीलता झल्काउँछ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले युद्धविराम विस्तारको स्वागत गर्दै अमेरिकी निर्णयप्रति आभार व्यक्त गरे भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यसलाई सकारात्मक कदमको रूपमा लिए। यद्यपि, इरानले भने आफ्नो भू–भाग प्रयोग गरी आक्रमण भए खाडी क्षेत्रका तेल पूर्वाधारमा प्रहार गर्ने चेतावनी दिएको छ, जसले तनाव थप बढाएको छ।
पहिलो चरणको वार्तापछि अमेरिकीपक्षले इरानी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गरेको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार केही दिनमै खर्ग टापुमा तेल भण्डारण भरिने र उत्पादन प्रभावित हुने अवस्था आउन सक्छ।
उनले इरानको समुद्री व्यापार रोकिँदा यसको प्रमुख राजस्व स्रोतमा प्रत्यक्ष असर पर्ने बताए। साथै, प्रतिबन्ध छल्न सहयोग गर्ने कुनै पनि व्यक्ति वा जहाज अमेरिकी प्रतिबन्धको दायरामा पर्ने चेतावनी पनि दिइएको छ।
अमेरिकी रक्षा मन्त्रालयले पनि ‘राज्यविहीन स्वीकृत’ जहाजलाई रोकेर त्यसमा प्रवेश गरी नियन्त्रणमा लिएको जनाएको छ, जुन इरानी गतिविधिसँग सम्बन्धित रहेको बताइएको छ। दुवैपक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्, जसले विश्वासको संकट थप गहिरिएको देखिन्छ।


