+

छब्बिस घरविहीन परिवारले पाए नयाँ घर

१० बैशाख २०८३, बिहीबार ०६:५६

ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि घर बनाइ दिएको छ। सुकुम्बासी, विपद्बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेको ३६ परिवारका लागि नगरपालिकाले घर बनाइदिएको हो।

तेह्र परिवार सुकुम्वासी, विपद्बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका ४१ परिवारको घर बनाउने योजनाअन्तर्गत हालसम्म ३६ घर निर्माण गरेर हस्तान्तरण गरेको हो। नगरपालिकाले १० वटै वडाका घरविहीनका लागि घर बनाइदिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए।

घरविहीनहरूको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने गरी कार्यविधि बनाएर काम गर्दै आएको उनको भनाइ छ। नगरपालिकाले सुकुम्बासी परिवारलाई भने जग्गा खरिद गरी घर बनाइ दिएको शर्मा बताउँछन्।

“हामी निर्वाचित भएर आउनुपूर्वनै घरविहीन परिवारलाई घर बनाइ दिने योजना अगाडि बढेको थियो, त्यस बेला पनि घरविहीन परिवारको तथ्याङ्क सङ्कलन लगायतका काम भएका थिए”, उपप्रमुख शर्माले भने, “हामी आइसकेपछि सुकुम्बासी परिवारलाई सुरुमा जग्गा व्यवस्थापन गरे घर बनाउने काम गर्‍यो, अहिले अन्य घरविहीनहरूको घर बनायौँ।”

तीन पुस्तासम्म घर नभएकाहरूलाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको थियो भने विपद् र आर्थिक अभावका कारण पुनर्निर्माण गर्न नसकि अरुको घरमा आश्रय लिएकाहरूलाई दोस्रो चरणमा आवस बनाइ दिएको हो। नगरपालिकाले घर बनाइ दिएपछि अन्यत्र आश्रय लिन नपरेको वडा नम्बर ४ की देउरूपा सार्कीले बताए। अरुको घरमा बस्दा धेरै समस्या हुने गरेको उनको भनाइ छ।

सार्कीले भने, “हामी लामो समय अरुको घरमा बस्यौँ, अरुको घरमा बस्दा आफ्नोजस्तो त कहाँ हुन्छ र रु विभिन्न समस्या आए तर अहिले नगरपालिकाले घर बनाइ दिएपछि आफ्नै घरमा बस्न आएका छौँ, सरकारले हाम्रो समस्या बुझ्यो।”