+

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

१५ बैशाख २०८३, मंगलवार २१:००

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३ घरगोठ जलेर ध्वस्त भएका छन्।

फुसको छानो भएको बस्तीमा आगजनीबाट नौ घर र चार गोठ गरी १३ घरगोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गौँ, चामल, दाललगायत खाद्यान्न र कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।

आगलागी भएको जानकारीपश्चात नेपालगञ्ज उपमहानगरपालिकाको र नरैनापुर गाउँपालिकाको गरी दुई वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो।

इलाका प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा आगो नियन्त्रणमा खटिएका थिए । आगलागीबाट भएको क्षतिकोे विवरण सङ्कलन भइरहेको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक उप्रेतीले बताए।