+

साक्षरता मात्र होइन, ‘ज्ञान’ नै क्रान्तिको आधार: प्रधानमन्त्री शाह

१८ बैशाख २०८३, शुक्रबार १४:१९

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्तिको सुरुवात अक्षरको पहिलो वर्ण ‘क’ बाट नभई ‘ज्ञ’ बाट हुने बताएका छन्।

२५७० औं बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले त्यो ‘ज्ञ’ को अर्थ ज्ञान भएको स्पष्ट पारेका हुन्। प्रधानमन्त्री शाहले समाजमा सकारात्मक परिवर्तन र क्रान्तिका लागि केवल साक्षरता मात्र पर्याप्त नभई गहिरो ज्ञान र चेतनाको आवश्यकता पर्ने कुरामा जोड दिएका छन्।

बुद्ध जयन्तीको उपलक्ष्यमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गरेका छन्।

उनले शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धले देखाएको मार्ग आजको विश्वमा झन् सान्दर्भिक बन्दै गएको बताउँदै विश्वशान्तिको कामना समेत गरेका छन्। उनको सन्देशमा बुद्धको शिक्षालाई आधुनिक जीवन र समस्या समाधानको कसीमा राखेर व्याख्या गरिएको छ।

आफ्नो सन्देशमा प्रधानमन्त्रीले बुद्धका चार आर्य सत्यको स्मरण गर्दै दुःख, दुःखको कारण, दुःखको निवारण र निवारणको मार्गबारे चर्चा गरेका छन्।

बुद्धले देखाउनुभएको बाटो नै वास्तविक दुःख निवारणको बाटो भएको उल्लेख गर्दै उनले अँध्यारोलाई उज्यालोको अभावका रूपमा परिभाषित गरेका छन्। जब उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जाने भन्दै प्रधानमन्त्रीले मानव जातिको यात्रा सधैँ ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री शाहको यो सन्देशले बुद्ध जयन्तीलाई केवल एउटा औपचारिक उत्सवका रूपमा मात्र नभई आन्तरिक ज्ञान र चेतना अभिवृद्धिको अवसरका रूपमा लिन सबैलाई प्रेरित गरेको छ।

बुद्धको दर्शनलाई आत्मसात् गर्दै अगाडि बढेमा मात्र व्यक्तिगत र सामाजिक समस्याहरूको सही समाधान भेटिने र समाजमा वास्तविक क्रान्ति आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्।