+

एसइईमा रिलायन्सको निरन्तर उत्कृष्टता, १६ विद्यार्थीले ल्याए ४ जीपीए

२९ बैशाख २०८३, मंगलवार १२:०२

काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थितिलाई पुनः प्रमाणित गरेको छ। सोमबार सार्वजनिक भएको एसइई नतिजाअनुसार विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। अघिल्लाे वर्ष २० जना विद्यार्थीले ४ जिपिए ल्याएर नेपालभरबाटै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएकाे थियाे ।

रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाका अनुसार यस वर्ष विद्यालयबाट कुल १०१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकामा ७८ जनाले ३.६० देखि ३.९९ जीपीएसम्म प्राप्त गरेका छन् भने सात जनाले ३.३९ देखि ३.५९ जीपीए हासिल गरेका छन्। यस नतिजाले रिलायन्सलाई पुनः उत्कृष्ट विद्यालयको सूचीमा उभ्याएको विद्यालय थापाले बताए।

लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको रिलायन्सले यस वर्ष पनि आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई कायम राखेको छ। विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा समेत जोड दिँदै आएको जनाएको छ।

नेटवर्कका अध्यक्ष थापाले विद्यालयको सफलताको श्रेय शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारी सबैलाई जाने बताए। आधुनिक शिक्षण सिकाइ प्रणाली, अनुभवी शिक्षक–शिक्षिका, अनुशासित शैक्षिक वातावरण, दक्ष व्यवस्थापन, प्रविधिमैत्री कक्षाकोठा तथा आकर्षक भौतिक पूर्वाधारका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हात पार्दै आएको उनको भनाइ छ।

“विद्यालयले प्राप्त गरेको यो सफलता सबैको सामूहिक मेहनतको परिणाम हो,” अध्यक्ष थापाले भने, “यस अवसरमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तक सबैमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौँ।”

विद्यालयका प्रिन्सिपल खेमलाल भुषालले विद्यालयले केवल शैक्षिक उत्कृष्टतालाई मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासलाई पनि प्राथमिकतामा राख्दै आएको बताए।

गुणस्तरीय शिक्षा हाम्रो पहिलो सर्त हो,” प्राचार्य भुषालले भने, “विद्यार्थीलाई जिम्मेवार, अनुशासित र असल नागरिक बनाउने वातावरण निर्माणसँगै अतिरिक्त क्रियाकलापमासमेत जोड दिँदै आएका कारण यस्तो नतिजा सम्भव भएको हो।”

उनका अनुसार विद्यालयमा नियमित अतिरिक्त कक्षा, व्यक्तिगत शैक्षिक परामर्श, परियोजनामूलक सिकाइ, सिर्जनात्मक अभ्यास तथा विद्यार्थीमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिइँदै आएको छ। जसका कारण विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुँदै गएको विद्यालयको विश्वास छ।

विद्यालयका भाइस प्रिन्सिपल श्रीधर प्रसाद पौडेलले उत्कृष्ट नतिजाको श्रेय विद्यालयले अपनाएको समग्र शिक्षण पद्धतिलाई दिएका छन्। उनले विद्यार्थीलाई केवल पुस्तकमा सीमित नराखी खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रम, नेतृत्व विकास तथा विभिन्न सिर्जनात्मक अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउँदै आएको बताए। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले पढाइमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ। “शिक्षा केवल राम्रो अंक ल्याउने माध्यम मात्र होइन, सक्षम र जिम्मेवार नागरिक निर्माण गर्ने प्रक्रिया पनि हो,” उनले भने, “त्यसैले विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकतामा राख्दै आएको छ।”

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१०, कपन मिलनचोकस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले विगतदेखि नै उत्कृष्ट नतिजा निकाल्दै आएको इतिहास बोकेको छ। २०५० सालदेखि सञ्चालनमा रहेको विद्यालयले २०७० सालको एसएलसी तथा २०७५ सालको एसइई परीक्षामा समेत उल्लेखनीय सफलता हासिल गरेको थियो।

२०७५ सालमा संस्थागत विद्यालयतर्फ देशभर प्रथम बनेपछि विद्यालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्मानित गरिएको थियो। त्यस्तै, २०७९ सालको एसइईमा बागमती प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयका रूपमा बागमती प्रदेश सरकारबाट सम्मान प्राप्त गरेको थियो भने ०८० सालमा पनि दाेस्रे हुन सफल भएको थियो।

विद्यालय प्रशासनका अनुसार प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण, अतिरिक्त कक्षा सञ्चालन, अनुभवी शिक्षक समूह तथा सुदृढ व्यवस्थापन प्रणाली रिलायन्सका प्रमुख आकर्षण हुन्। विद्यार्थीलाई केवल पाठ घोकाउनेभन्दा पनि सिर्जनात्मक र व्यवहारिक सिकाइमा जोड दिइने भएकाले विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयको दाबी छ।

“यो एकपटक आएको सफलता मात्र होइन, रिलायन्सको निरन्तर मेहनत र गुणस्तरीय शिक्षाको परिणाम हो,” प्राचार्य भुषालले भने, “यस स्तरको नतिजा हामीले अपेक्षा गरेका थियौँ, र सम्पूर्ण टिमवर्ककै कारण सम्भव भएको हो।”

सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।