+

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

३१ बैशाख २०८३, बिहीबार १८:४०

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

सिराहाको मिर्चैया नगरपालिका-७ जिवा टोलस्थित सडकमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको बा.प्र ०२-०५८ प ०९०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सिन्धुली दुधौली नगरपालिका-१० बस्ने ४५ वर्षीय परमेश्वर दनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

सर्लाहीको हरिवन नगरपालिका-९ मिरिङ्चिङ टोलस्थित सडकमा बालगंगाबाट नयाँ रोडतर्फ जाँदै गरेको बा.६७ प ५०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कविलासी नगरपालिका-१ पिपरिया बस्ने ५८ वर्षीया राज कुमारी साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पताल चपुर रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।