काठमाडौं। नेकपा एमालेले पार्टीका शीर्ष नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ। भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले यससम्बन्धी संगठन विभागको प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने भएको हो।
यसअघि गत सोमबार बसेको सचिवालय बैठकमा कार्यविभाजनको प्रस्ताव पेस भए पनि नेताहरूको सम्बोधन लम्बिएका कारण कुनै ठोस निर्णय हुन सकेको थिएन। भोलिको बैठकले उक्त प्रस्तावलाई पारित गर्दै नेताहरूलाई नयाँ जिम्मेवारी तोक्ने एमालेको तयारी छ।
प्रस्तावित कार्ययोजना अनुसार यसपटक एमालेले पदाधिकारीहरूलाई दोहोरो जिम्मेवारी सन्तुलन हुने गरी भूगोल र विभागमा विभाजन गरेको छ। जसअनुसार उपाध्यक्ष र उपमहासचिवहरूलाई केन्द्रमा विभागीय संयोजनको भूमिका दिइएको छ भने सचिवहरूलाई प्रदेश (भूगोल) को इन्चार्ज तोक्ने तयारी गरिएको छ।
प्रस्तावित कार्यविभाजन अनुसार देशका सातमध्ये पाँच प्रदेशको जिम्मेवारी पार्टीका सचिवहरूले पाउने भएका छन्। कोशी प्रदेशको इन्चार्जमा सचिव शेरधन राई, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा छविलाल विश्वकर्मा र कर्णाली प्रदेशमा यमलाल कँडेललाई इन्चार्ज तोक्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, उपत्यकाको विशेष राजनीतिक संरचना हेर्ने गरी राजधानी विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सचिव राजन भट्टराईलाई दिने तयारी छ। मधेस र सुदूरपश्चिम प्रदेशमा भने पदाधिकारी बाहेकका केन्द्रीय नेताहरूलाई जिम्मेवारी सुम्पिइने भएको छ। जसअनुसार मधेस प्रदेशको इन्चार्जमा लीलानाथ श्रेष्ठ र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दामोदर भण्डारी प्रस्तावित भएका छन्।
पार्टीका उपाध्यक्ष र उपमहासचिवहरूलाई विषयगत विभागहरूको संयोजन गर्ने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने तयारी छ। महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको समग्र संयोजन र केन्द्रीय कार्यालय प्रमुखको साविककै जिम्मेवारीमा यथावत् राखिएको छ।
उपाध्यक्षहरूमध्ये रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह सम्बद्ध विभाग, विष्णुप्रसाद पौडेललाई पार्टी सम्बद्ध विभाग, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभाग र रघुजी पन्तलाई मानवश्रोत सम्बद्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ।
त्यसैगरी, उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता सम्बद्ध विभाग र योगेश भट्टराईलाई नीति तथा योजना सम्बद्ध विभागहरूको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
अन्य सचिवहरूमध्ये पद्मा अर्याललाई संसदीय मामिला विभाग, भानुभक्त ढकाललाई संगठन विभाग र हिक्मत कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ।
पदाधिकारी टोलीमा नरहे पनि पार्टीका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ र विशाल भट्टराईलाई महत्त्वपूर्ण विभागको प्रमुख बनाइने भएको छ। ज्ञवालीलाई विदेश विभाग, तामाङलाई केन्द्रीय स्कूल विभाग र भट्टराईलाई जनसंगठन समन्वय संयन्त्रको प्रमुखका रूपमा अघि सारिएको छ।
भोलि बस्ने सचिवालय बैठकले यस प्रस्तावमाथि थप छलफल गरी औपचारिक निर्णय सार्वजनिक गर्ने पार्टी कार्यालयले जनाएको छ।


