काठमाडौं। सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको सफल उद्धार गरी काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बिहीबार सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई शुक्रबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको जानकारी दिएको हो।
लामो समय उच्च हिमाली क्षेत्रमा हराएका कारण शेर्पामा गम्भीर जलवियोजनको समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। यसका साथै, उनको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको ‘फ्रस्टबाइट’ (अत्यधिक चिसोका कारण मासु मर्नु) र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ।
विस्तृत चिकित्सीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तिघ्राको हड्डीमा फ्याक्चर हुनुका साथै सोही क्षेत्रको मांसपेशीमा रगत जमेको फेला परेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माका अनुसार शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ र जलवियोजनको समस्यामा बिस्तारै उल्लेख्य सुधार आइरहेको छ। चिकित्सकहरूको विशेष टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र चोटपटक एवं फ्रस्टबाइटको थप उपचारका लागि अझै केही दिन आइसियूमै राखेर उपचार प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।


