+

पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा लूको जोखिम

२३ जेष्ठ २०८३, शनिबार ०७:१४

काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रहरू मुख्यतया सफा रहेका छन्।

अहिले बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने तथा तराईका क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यसैबीच, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा भने अत्यधिक गर्मी बढ्ने र तातो हावा (लू) चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ।

आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली हुने र बाँकी तराईका भूभागहरूमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेश लगायत देशको हिमाली भूभागका थोरै स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।