+

एमाले कार्यविभाजनप्रति नेता गोकुल बास्कोटाको असन्तुष्टि: ‘अब एमाले कसरी बन्छ भनेर एआईलाई सोध्नुपर्ने भयो’

२४ जेष्ठ २०८३, आईतवार १०:०४

काठमाडाैं। नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले पार्टीको केन्द्रीय सचिवालयले हालै गरेको कार्यविभाजनप्रति तीव्र असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रहार गरेका छन्।

यो कार्यविभाजनमा कुनै पनि निश्चित सिद्धान्त वा मापदण्डले काम नगरेको उल्लेख गर्दै उनले अब एमाले कसरी अगाडि बढ्छ र बन्छ भन्ने कुराको उत्तर पाउन एआई (कृत्रिम बुद्धिमत्ता) लाई नै सोध्नुपर्ने स्थिति सिर्जना भएको टिप्पणी गरेका हुन्।

पार्टीभित्रको आन्तरिक निर्णय र कार्यशैलीप्रति व्यङ्ग्य गर्दै नेता बास्कोटाले वर्तमान एमालेको कार्यविभाजन हेर्दा कार्यकर्ताको काम सोच्ने वा रचनात्मक बन्ने नभई केवल माथिको आदेश पालना गर्ने र लड्ने मात्र भएको बताए।

उनले यस व्यवस्थालाई सैनिक संगठनको कार्यशैलीसँग तुलना गर्दै पार्टीमा विचार र छलफलभन्दा पनि कमान्ड संरचना हाबी भएको तर्फ संकेत गरेका छन्। बास्कोटाको यो प्रतिक्रियाले एमालेको पछिल्लो आन्तरिक कार्यविभाजनलाई लिएर नेतृत्व तह र नेताहरूबीच वैचारिक असन्तुष्टि र मतभेद सतहमा आएको स्पष्ट पार्छ।