+

हत्या प्रयासको मुद्दा दर्ता भएपछि खान सर फरार, प्रहरीद्वारा विभिन्न जिल्लामा छापा

२५ जेष्ठ २०८३, सोमबार १५:५७

पटना (एजेन्सी) । बिहारको राजधानी पटनाका चर्चित शिक्षक तथा युट्युबर फैजल खान (खान सर) विरुद्ध प्रहरीले ‘ज्यान मार्ने उद्योग’ (हत्याको प्रयास) को मुद्दा दर्ता गरेपछि उनी फरार भएका छन्। पटना प्रहरीको विशेष अनुसन्धान टोली (एसआइटी) ले खान सरको खोजीमा नालन्दा, वैशाली, भोजपुर, बेगुसराई, समस्तीपुर र मुजफ्फरपुर लगायतका विभिन्न जिल्लाहरूमा लगातार छापा मारिरहेको छ।

गएको हप्ता पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको उनको प्रतिष्ठित कोचिङ इन्स्टिच्युट ‘खान ग्लोबल स्टडिज’ बाहिर भएको हिंसा र गोलाबारीको घटनालाई लिएर प्रहरीले यो कडा कानुनी कदम चालेको हो।

घटनाको सुरुआत गत मंगलबार (जुन २, २०२६) राति भएको थियो। बिहार पुलिस भर्ती परीक्षाको नतिजामा खान सरको इन्स्टिच्युटका विद्यार्थीहरू ठूलो संख्यामा उत्तीर्ण भएपछि उनको सम्मानमा एउटा ठूलो पोस्टर टाँगिएको थियो। उक्त पोस्टरलाई लिएर खान सरको इन्स्टिच्युट र छिमेकमै रहेको अर्को प्रतिस्पर्धी कोचिङ सेन्टर ‘ज्ञान विन्दु’ का सञ्चालकहरूबीच विवाद बढेको थियो।

सोही विवादका कारण मंगलबार राति करिब १५-२० जनाको समूहले खान सरको कोचिङ सेन्टरमा ढुङ्गामुढा गर्दै व्यापक तोडफोड गर्नुका साथै त्यहाँका सुरक्षागार्ड चुनचुन सिंहलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उक्त कुटपिटको विरोधमा र खान सरको सुरक्षाको माग गर्दै भोलिपल्ट हजारौँ विद्यार्थीहरूले पटना सडकमा ओर्लिएर प्रदर्शन समेत गरेका थिए।

प्रहरीले तोडफोड र कुटपिटको आरोपमा ‘ज्ञान विन्दु’ कोचिङका निर्देशक रोशन आनन्द र उनका दुई सहयोगीहरूलाई तत्कालै पक्राउ गरी न्यायिक हिरासतमा पठाइसकेको छ। तर, अनुसन्धानका क्रममा घटनामा अर्को नयाँ मोड आएको छ।

तोडफोडको समयमा खान सरका दुईजना निजी अङ्गरक्षकले भीडलाई लक्षित गरी हावामा गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। प्रहरीले ती दुवै अङ्गरक्षकलाई पक्राउ गरी हतियार बरामद गरेपछि उनीहरूले बयानका क्रममा खान सरकै आदेशमा आफूहरूले गोली चलाएको र “जे पर्छ म बेहोर्छु, तिमीहरू गोली चलाऊ” भनी खान सरले निर्देशन दिएको दाबी गरे।

अङ्गरक्षकहरूको सोही बयान र प्रमाणका आधारमा पटनाको कदमकुआँ थानामा खान सर, उनका अङ्गरक्षकहरू र अन्य केही व्यक्तिहरू विरुद्ध भारतीय न्याय संहिताको हत्या प्रयास सम्बन्धी धारा र आर्म्स एक्ट (हतियार ऐन) अन्तर्गत एफआईआर दर्ता गरिएको हो।

प्रहरीले सोधपुछका लागि शुक्रबार दिउँसो मुसल्लहपुरस्थित खान सरको निवास र कलेजमा छापा मारेको थियो, तर त्यहाँ पुग्नु अगावै उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन (फरार) भइसकेका थिए।

यस सङ्कटका बीच खान सरका वकिल अरविन्द कुमार मौआरले मिडियालाई दिएको जानकारी अनुसार खान सरमाथि पूर्वाग्रही ढंगले र प्रतिशोधको भावनाले मुद्दा रचिएको दाबी गरेका छन्।

उनले खान सरले अदालत समक्ष आत्मसमर्पण गर्ने हल्लाको खण्डन गर्दै आज सोमबार नै अदालतमा ‘अग्रिम जमानत’ का लागि निवेदन दिने कानुनी तयारी भइरहेको बताएका छन्।

अर्कातर्फ, सम्भावित प्रदर्शन र आक्रोशलाई मध्यनजर गर्दै पटना सिभिल कोर्ट र कोचिङ सेन्टर वरपर ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ।