+

‘ग्रेटर नेपाल’का अभियन्ता फणिन्द्र नेपाल बैंकिङ कसूर मुद्दामा पक्राउ

२५ जेष्ठ २०८३, सोमबार १९:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ‘ग्रेटर नेपाल’ अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नेपाल विरुद्ध चेक अनादर (चेक बाउन्स) को मुद्दामा जाहेरी परेपछि अदालतको आदेशानुसार पक्राउ गरिएको हो। ६७ वर्षीय नेपाल संखुवासभाको सभापोखरीका स्थायी बासिन्दा हुन् भने हाल उनी भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३, कौशलटारमा बस्दै आएका थिए।

लामो समयदेखि नेपालको गुमेको भू-भाग फिर्ता हुनुपर्ने माग राख्दै ‘ग्रेटर नेपाल’ अभियान चलाएर चर्चामा रहँदै आएका नेपालमाथि अब बैंकिङ कसूर ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।