काठमाडाैं। नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ।
नयाँ नोट बजारमा प्रवेश गरेसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रंग पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि यसको सुरक्षा विशेषता, सिरिज संरचना तथा पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ।
हाल बजारमा पठाइएका नोटहरूको संकेत नम्बर ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्म रहेको छ। नेपाली नोट प्रणालीको व्यवस्थाअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत करिब १० लाख थान नोट छापिने भएकाले यो नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा आएका हुन्।
यसै प्रक्रियामार्फत २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्दै लगिने अपेक्षा समेत गरिएको छ।
केन्द्रीय बैंकले यसपटक राष्ट्रिय पहिचान र आधुनिक सुरक्षा प्रविधिलाई विशेष प्राथमिकता दिएर नोटको डिजाइन तयार पारेको छ। नोटको अग्रभागको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र सजाइएको छ भने दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ।
नोटको तल्लो भागमा ‘२०८२ सिरिज’ स्पष्ट रूपमा उल्लेख छ। विशेषगरी दृष्टिविहीन तथा न्यून दृष्टि भएका नागरिकहरूलाई सहज होस् भन्ने उद्देश्यले पानी छापको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ, जसलाई केवल स्पर्श गरेरै नोटको मूल्य सजिलै पहिचान गर्न सकिन्छ।
यस नोटमा नक्कली मुद्रा कारोबार नियन्त्रणका लागि अत्याधुनिक प्रविधिहरू जडान गरिएका छन्। सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्र धनका देवता कुबेरको चित्र समावेश गरिएको छ, जसको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेषता रहेको छ।
यसलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ। यसका साथै नोटमा ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो प्रयोग गरिएको छ, जसको रंग पनि प्रकाशको कोणअनुसार बदलिन सक्छ। नोटको पछिल्लो भागमा नेपालको समृद्ध जैविक विविधतालाई झल्काउन पाटे बाघको आकर्षक चित्र राखिएको छ।
नोटको माथिल्लो भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ र तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ लेखिएको छ। राष्ट्र बैंकका अनुसार यो नयाँ नोट केवल विनिमयको साधन मात्र नभई राष्ट्रिय पहिचान, अत्याधुनिक सुरक्षा र समावेशी वित्तीय पहुँचलाई सुदृढ बनाउने बलियो उदाहरण हो।


