+

मन्त्री लम्सालकाे ‘प्रष्टीकरण’- ‘खुट्टा भाँच्ने’ धम्की ठेकेदारकै भलाइका लागि !

४ असार २०८३, बिहीबार १६:३३

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विवादित अभिव्यक्तिको विषयमा प्रष्टीकरण दिएका छन् ।  विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने’ भनाइको घुमाउरो जवाफ दिएका हुन् ।

‘अस्ति त पोलको विषयमा म आफैँ पनि विवादमा आएँ,’ उनले भने, ‘हामीलाई कुनै पनि व्यवसायीलाई कारबाही गर्न र ठेक्का रद्द गर्न मन छैन । हामीले उहाँहरूको सम्भावना एक प्रतिशत मात्रै छ भने पनि हामीले पुस गर्नुपर्छ भन्ने नै हो ।’

मन्त्री लम्सालले आफ्नो बचाउ गर्दै भने, “मेरो उद्देश्य कसैलाई धम्क्याउने वा गाली गर्ने होइन, काम समयमै सम्पन्न होस् र ठेकेदारहरू सम्भावित कानुनी एवं आर्थिक क्षतिबाट जोगिऊन् भन्ने मात्रै हो ।”

उनले पूर्वाधार निर्माणको सम्बन्धमा मुख्य तीन चारवटा समस्या भएको बताए । उनले निर्माण सामाग्रीको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यस्तै, वनबाट स्वीकृति आउन वर्षौंसम्म लगाउने गरेको उनले बताए ।

त्यस्तै, बीमा तथा पोल सार्ने समस्याले समेत यसका लागि अवरोध गरिरहेको उल्लेख गरे ।