+

विश्वकप फुटबल: हाइटीलाई हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, मोरक्को दोस्रो र हाइटी बाहिरियो

६ असार २०८३, शनिबार १४:१३

काठमाडाैं। फिफा विश्वकप फुटबल-२०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा पूर्व विजेता ब्राजिलले हाइटीमाथि ३-० को सहज जित दर्ता गरेको छ। अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले हाइटीलाई खेलको पहिलो हाफमै स्तब्ध पारेको हो।

खेलको सुरुआतदेखि नै आक्रामक रणनीति बुनेको ब्राजिलका लागि माथेउस कुन्हा नायक बने। उनले खेलको २३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने व्यक्तिगत प्रदर्शनलाई जारी राख्दै ३६औँ मिनेटमा अर्को गोल थपेर ब्राजिलको अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफको निर्धारित समय सकिएर थपिएको अतिरिक्त समयमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले पहिलो हाफमै ३-० को मजबुत स्थिति खडा गर्‍यो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि पहिलो हाफको नतिजा नै ब्राजिलको जितका लागि पर्याप्त बन्यो।

यो सानदार जितसँगै समूह ‘सी’ मा रहेको ब्राजिलले २ खेलबाट ४ अंक जोड्दै गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।

यसअघि आजै बिहान सम्पन्न सोही समूहको अर्को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० गोलअन्तरले पराजित गरेको थियो। मोरक्कोका लागि इस्माइल साइबारीले खेलको दोस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो। यो नतिजापछि समान ४ अंक नै जोडेको मोरक्को गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा खुम्चिएको छ।

त्यस्तै, २ खेलबाट ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा रहँदा लगातार दोस्रो हार बेहोरेको हाइटी अंकविहीन हुँदै प्रतियोगिताको नकआउट चरणको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।

अब यस समूहबाट नकआउटमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी खेलहरू निर्णायक हुनेछन्, जसमा ब्राजिलले स्कटल्यान्डको र मोरक्कोले हाइटीको सामना गर्नेछन्। यसैबीच, विश्वकप अन्तर्गत नै आज राति पौने ९ बजे हुने समूह ‘डी’ को खेलमा टर्की र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ।